नेपाल नेत्रज्योति संघ र डाक फाउन्डेसनबीच सम्झौता, ८ हजारको निःशुल्क शल्यक्रिया हुने 

0
Shares

काठमाडौँ। 

 नेपाल नेत्रज्योति संघ र अस्ट्रेलियाको डाक फाउन्डेसनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेको संघले जनाएको छ ।
फाउन्डेसनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट वञ्चित नागरिकहरुको निःशुल्क आँखा उपचार गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

संघ र फाउन्डेसनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरुप यो वर्षका लागि करिब ८ हजार बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको संघका अध्यक्ष डा.पन्तले जानकारी गराउनुभयो ।

आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ र कोही पनि नागरिकहरुले आर्थिक अभावकै कारण दृष्टिबिहिन भएर बस्नु नपरोस् भनेर संघले विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा दशैभरी निःशुल्क शिविरहरू सञ्चालन गरिरहेको बताउनुहुन्छ संघका महासचिव भरतबहादुर चन्द।

डाक फान्डेशनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरुको आँखा जाँच गरी ५२ हजार बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको बताउनुहुन्छ संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाह ।

अस्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट सञ्चालन गरेको फाउन्डेसनले हाले विश्वका करिब १० देशका गरिबिको रेखामुनी रहेका नागरिकहरुलाई विभिन्न स्वास्थ सेवाहरु निःशुल्क रुपमा प्रवाह गर्न अनुदान दिईरहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको  बताउनुहुन्छ फाउन्डेसनका संस्थापक डेभ रिकार्ड ।

सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेसनले महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेको बताउनुहुन्छ संघका कार्यकारी निर्देशक डा.शैलेसकुमार मिश्र । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरु आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित छन् त्यस्ता नागरिकहरुलाई सेवा प्रवाह गर्न डाक फाउन्डेशन जस्ता दातृ निकायहरुको सहयोग महत्त्वपूर्ण छ’ मिश्रले भन्नुभयो ।

नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १ सय ५४ वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको संघले जनाएको छ ।