गोरखाको चुमनुब्री गाउँपालिका हिमालपारि तिब्बतको सिमानामा पर्छ । यस गाउँपालिकाको वार्ड नं. ३ घट्टेखोलासम्म कच्ची सडक पुगेको छ । म यहाँ आइपुग्दा वडा अध्यक्ष निमा लामा, स्थानीय छाङ्ग लामा र यहाँका केही साथीहरुसँग भेटघाट गर्ने मौका मिल्यो । कुराकानीका क्रममा चुमनुब्री उपत्यकाको प्राकृतिक र धार्मिक रहनसहनका बारेमा रोचक जानकारी भयो । अध्यक्ष निमा लामाले परम्परादेखि चलेको ‘स्याग्या (अहिंसा)’ र ‘आम्ची (सोवारिग्पा)’ को बारेमा प्रकाशित स्थानीय राजपत्र दिनुभयो । अध्यक्ष निमा लामाको ‘अहिंसाको अभियान चुमनुब्रीको पहिचान’ भन्ने नारा प्रेरणादायी रहेछ । हिमालपारिका यिनै पुराना कुराहरुको बारेमा यहाँ उल्लेख गर्न चाहन्छु ।
हिमालपारिको गोरखा वि.सं. २०५२ सालसम्म बाह्य पर्यटकलाई प्रतिबन्धित थियो । उस बेला उत्तरी गोरखामा गरिबी, अशिक्षा, कठिन भौगोलिक स्थितिको अवस्था थियो । नेपालको प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण एवं व्यवस्थापनमा नेपाल सरकारका प्रयासलाई सहयोग गर्ने उद्देश्यले वि.सं. २०३९ मा तत्कालीन् ‘श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष’ नामको नाफारहित स्वायत्त संस्था स्थापना भयको थियो । वि.सं. २०६३ मा कोषको ऐन संशोधन गरी ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ नाम परिवर्तन गरिएको हो । यसैको अन्तर्गत मनास्लु क्षेत्र संरक्षण आयोजना हालसम्म सञ्चालित छ । यही आयोजनाको कार्यक्रमबाट यस क्षेत्रमा बस्ने, खाने सुविधा प्राप्त भएपछि पैदल यात्री पर्यटकहरु लार्केपास हुँदै मनाङ निस्केर फर्कने गरेका छन् ।
राणाकालीन समयमा उत्तरी गोरखालाई ‘अठार सय खोला’ भन्ने गरिएको थियो । विकट क्षेत्र हुनुको साथै यहाँको रहनसहन, चालचलन, भेषभूषा, भाषा, धर्म आदि फरक हुनुले छुट्टै राज्य हो कि जस्तो हुन्थ्यो । यस क्षेत्रमा हिउँ पर्न थालेपछि हिँड्न नसक्ने वृद्धहरुको लागि खानेकुरा बन्दोबस्त गरी घरमै छाडेर हिँड्न सक्नेहरु चिसो छल्न र व्यापार गर्न भनी तल्लो क्षेत्रतिर झर्दथे । उनीहरुको व्यापार जिम्बु, नीरमसी, सेतो नुन (भोटे नुन), सियो, राडीपाखी, टिमुर, शिलाजित आदि हुने गथ्र्यो । पहाडका मान्छेहरु कहिले सेतो नुन (भोटे नुन) खान्थे, कहिले मधेसबाट आउने ढिके नुन् (सावरी नुन) खाने गर्थे । यसरी परापूर्वकालदेखि भोटखोलाले पहाडलाई नुन र जडीबुटी सप्लाइ गरेको थियो ।
संघीय गणतन्त्र शुरु हुनुभन्दा अघि हिमालपारि सात गाविस सामागाउँ, छेकम्पार, ल्हो, प्रोक, बिही, चुम्चेत, सिर्दिवास थिए । वि.सं. २०१८ सम्म उत्तरी सिमानाको छेकम्पारमा भारतीय सैनिक चेकपोस्ट थियो । तत्कालीन राजा महेन्द्रको पालामा नेपालको उत्तरी सिमानाको सबै भारतीय चेकपोस्टहरु हाटाइएको थियो । पहिला चुमनुब्री क्षेत्रमा लुकिछिपी सिकार गर्ने हुँदा वन्यजन्तुहरु लोप हुँदै गएका थिए । तर, अहिले हिंसा निषेधित कानुन आएपछि जनावरहरु घरघरमा चर्न आउँछन् ।
हिमाली क्षेत्र भैकन यहाँ हरियाली, अहिंसाको कानुन, चराचुरुंगी, वन्यजन्तु प्रशस्त हुनुले सबैलाई लोभ्याएको छ । केही वर्षपहिले यस ठाउँमा पुग्न सात दिन लाग्थ्यो । अहिले सेनाद्वारा खनिएको बाटोले चुमनुंब्री–३ घट्टेखोलासम्म गोरखावाट ९७ कि.मि. मात्र भएकोले एकै दिनमा पुग्न सकिन्छ । अर्को अचम्मको कुरा के हो भने, एक सय वर्षअगाडि वि.सं. १९७७ देखि सबै जनता बौद्धमार्गी भएकाले ‘स्याग्या (अहिंसा)’ को स्थानीय नियम बनाई सिकार खेल्न, माहुरीको मह काढ्न, वन्यजन्तु र घरपालुवा जनावरको हिंसा गर्न निषेध गरिएको रहेछ । यो क्षेत्र हिमशृङ्खलाले घेरिएको भए पनि प्राकृतिक स्रोतले भरिपूर्ण हुँदा स्वर्गीय आनन्दको वातावरण देखिन्छ । करिब ६ महिना हिउँले ढाकिने भए पनि यो ठाउँमा याक, चौंरी, घोरल, चितुवा, भालु, जरायो, खरायो, रेडपन्ना, हिमालयन थार, नाउर, ब्लुसिप, कस्तुरी मृगजस्ता वन्यजन्तु पाइन्छ । चराचुरुंगीमा डाँफे, मुनाल, वनकुखुरा, ढुकुर, तित्रा आदि पाइन्छ ।
यस चुमगाउँमा गुरु पद्मसम्भका गुप्तस्थान र महायोगी मिलारेपाको ध्यान गुफा फुक्रोन फुक (परेवा गुफा) जस्ता प्रसिद्ध तीर्थस्थलहरु रहेछन् । साथै, सरफुक्रकोमा स्वयं उत्पत्ति शिशाको स्तुपा, दायाँबाट ठ्रुइछु (शुद्धीकरण गर्ने जल) र बायाँबाट दीर्घायु जल प्रवाह हुने, स्वयं उत्पत्ति ढ्याङ्रो, शंख, बाजाहरु, गुरुको हस्त र पाउको छाप, डंकिनीको गुप्तमार्ग आदि पवित्र स्थानहरु छन् । गुरु पद्मसम्भवले भविष्यमा धर्म अभ्यास गर्नका लागि केही धार्मिक ग्रन्थहरु गुप्तरुपमा लुकाइराखेको स्थानमध्ये एक भेयुलकिमोलेङ (चुमको अर्को नाम) हुन् पनि भनिन्छ । यी गाउँहरु १८०० देखि ५०९३ मिटरसम्मको उचाइमा पर्छन् । यहाँका मानिसको जीविकोपार्जन कृषि र पशुपालन हो । खेतीमा गहुँ, फापर, केराउ, आलु, तोरी, मुला, गाँठेमुला र मकै हुन्छन् । तर यी बालीहरु पाक्न करिब ६–१२ महिनासम्म लाग्ने गर्छ । यो ठाउँ तिब्बतको सिमानामा भएकोले सामान्य व्यापार पनि गर्ने गरिन्छ ।
बौद्धगुरु डुक्पा रिन्पोछेको पूर्व–अवतारको जीवनीमा सामूहिक सद्गुणको शक्तिले १५औं रबजुङ, पृथ्वी अश्व साल (हिमाली संवत्) वि.सं. १९७५ (सन् १९१८) मा डुक्पा रिन्पोछेको पूर्व–अवतार बौद्ध गुरु ङ्वाङ पाल्साङ रिन्पोछे ड्रकार (सीमापारिको पवित्र ठाउँ) तीर्थयात्रामा आएर ध्यानमा बस्दा लामाहरुसँग राम्रो सम्बन्ध भएपछि वङलुठी (बुद्ध वचन) आदानप्रदान गर्दा प्रख्यात भएका थिए । सोही सालमा चुम उपत्यकाकी आनी निमा डोल्मालगायत पच्चीसजना ड्रकार जाँदा रिन्पोछेद्वारा उनीहरुलाई तीनवटै वङ्लुङ्ठी प्रदान गरेका थिए । सयचोटि ञ्युङ्ने (उपोसथ व्रत) गर्न आदेश पनि दिए । १५औं रबजुङ आइरन फिमेल–माङ्की सालमा (हिमाली संवत्) रिन्पोछे किरोङमा (रसुवा सीमा) आएका थिए ।
आने निमा डोल्माले ड्रुक्पा रिन्पोछेलाई पहिलोपटक चुम उपत्यकामा निम्तो गरी रिगाङ गुम्बाबाट चुमगाउँसम्म प्राणप्रतिष्ठा र मंगल पाठ गर्दै स्थानीयलाई दीर्घायु अभिशेष प्रदान गरी आनीहरुलाई दीक्षासमेत दिएका थिए । चुमका तेह्रवटै गाउँमा हरेक महिना पूर्णिमा, औंसी र अष्टमीका दिन मणि (अवलोकेतेस्व मन्त्र) जप गर्ने कार्यक्रमको निमित्त कोषको स्थापनासमेत गरेका थिए । योगी मिलारेपाको ध्यानगुफा फुक्रोन फुकमा ध्यान गर्दै हजारै छोग् (गणचक्र) र भेटी चढाए । सन् १९२२ मा किरोङ फर्किए भने त्यसका विवरणहरु गेलोङ सोनामद्वारा रचित ड्रुक्पा रिन्पोछेको पूर्व–अवतारको जीवनीमा प्रस्ट लेखिएको छ ।
चुम उपत्यकामा ‘साग्या (अहिंसा)’ को परम्परा गौरवपूर्ण इतिहास रहेछ । चुमवासीको सामूहिक सद्गुण शक्ति १५औं रबजुङ, वि.सं. १९७७ मा पूजनीय ड्रुक्पा रिन्पोछेको (सेराप दोर्जे) पूर्व–अवतार पूजनीय ङ्वाङ पासाङ रिन्पोछेलाई चुम भ्यालीमा आमन्त्रित गरिएको थियो । उनै रिन्पोछेको उपदेशमा बौद्ध मठहरु, लाब्ड्राङका लामाहरु र जनताका सामूहिक प्रयासमा पवित्र स्थल चुम उपत्यकामा चराचुरुंगीलगायत कुनै पनि जीवित प्राणीहरु मार्न निषेध गर्ने दृढ कानुन बनेको रहेछ । यसभन्दा अगाडि कुनै गुम्बाहरुमा मात्र काटमार गर्न नपाइने भनी बन्देज थियो ।
स्थानीय भाषामा ‘स्याग्या’ कसै–कसैले यसको अर्थ वर्षभरि उपभोग गर्नका लागि जाडो मौसममा जनावरहरु मार्ने कार्यलाई भनिने पनि गर्छन् । यही कामकुरा तिब्बतको भाषामा ‘सेताङ’ पनि भन्ने रहेछ । जनावरहरु मार्नका लागि जाल बिछ्याउने कामलाई स्थानीय भाषामा ‘थाख हु चुग्’ भन्ने रहेछ । जनावरहरु एकैपटक मार्नका लागि जाल बिछ्याउने कामलाई स्थानीय भाषामा ‘थाख हु चुग्’ भन्दो रहेछ । पाल्तु जनावर मार्ने कामलाई ‘स्या’ र जाल बिछ्याउने कामलाई ‘ग्याञीचुग्’ शब्दको ‘ग्या’ मिलायर सजिलोका लागि ‘स्याग्या’ भनिएको रहेछ । यसरी हत्या–हिंसा गर्न नपाइने कुरामा आम सहमति गरी लिखित नियम बनाएको पनि एक शताब्दी भैसकेको रहेछ । यसैले यसैलाई निरन्तरता दिन चुमनुब्री गाउँपालिकाले वि.सं. २०७९।१०।०२ मा स्थानीय राजपत्र प्रकाशन गरी कानुन निर्माण गरेको रहेछ ।
अध्यक्ष निमा लामा भन्नुहुन्छ, ‘स्याग्या एउटा परम्परा मात्र नभएर जीवन बाँच्ने कला पनि हो । यसमा प्राणी हिंसालाई कुनै स्थान दिइएको छैन ।’ हुन पनि यस ‘स्याग्या (अहिंसा)’ कानुनले यहाँको पर्यावरणलाई जोगाएर प्रत्यक्षरुपमा फाइदा पु¥याएको देखिन्छ । अहिले सेनामार्फत निर्माण भैरहेको मोटरबाटोले प्रत्यक्ष फाइदा देखिएको भए तापनि निरन्तरमा यहाँको वातावरणमा असर पु¥याउँछ भन्ने लागेको छ । मोटरबाटोले पैदल यात्रीहरुको चाप घट्न सक्ने सम्भावना देखिन्छ । यसको बदला चुम उपत्यकालाई संरक्षित क्षेत्र घोषणा गरी पैदल मार्ग सुधार गर्नु र पर्यटकको सेवा–सुविधामा ध्यान दिन सकेको भए उचित हुन्थ्यो कि जस्तो लाग्यो । यति ठूलो धनराशि खर्च गरी बनाइएको मोटरबाटोले संरक्षण गरी जोगाएको चुम उपत्यकाको पर्यावरणमा ह्रास आउन सक्ने आशंका मात्र व्यक्त गरेको हो ।
यसै गरी ‘साग्या’ र ‘बुद्धधर्म’ को परिचयका लागि धेरै वर्षअगाडिदेखि रिन्पोछेले करिब चार महिना मन्त्र जपेर बौद्धधर्मको परिचय दिँदै आउनुभएको थाहा भयो । यसरी दोथाङ (फिलिम) देखि माथि चुम उपत्यकासम्म बौद्धधर्मको प्रवचन गर्दै आएको देखिन्छ । कहिलेकाहीँ माथिल्लो भेगका लामाहरु, खेन्पोहरु र लोप्पोहरु पनि प्रवचन गर्दै हिँड्नुभएकोले यस क्षेत्रमा मादक पदार्थ छाड्नेको संख्या वृद्धि हुँदै गएको छ भन्ने सुनियो ।
वि.सं. १९७७ मा ड्रुक्पा रिम्पोछेद्वारा स्थापना भएको ‘स्यागा (अहिंसा)’ कानुन वि.सं. २०७८ मा सय वर्ष पूरा भए पनि कोभिड र अन्य कारणले शताब्दी वर्ष मनाउन नसकेपछि यही वि.सं. २०८० वैशाख ६ गतेदेखि स्याग्या शताब्दी महोत्सवमा पूजनीय ड्रुक्पा रिन्पोछे (पूरा नामः ङवाङ लोप्साङ जिग्मे खेत्राव देर्जे पाल्साङपो), थुप्तेन जोङ्पा रिन्पोछे, नेपाल सरकारका पदाधिकारीहरु, गुम्बाका लामाहरु र स्थानीयवासीको उपस्थितिमा सम्पन्न भएको अध्यक्ष निमा लामाले बताउनुभयो । अध्यक्ष निमा लामा भन्नुहुन्छ, ‘यसले भावी पिँढीलाई चेतना फैलाउनुको साथै जिम्मेवार पनि बनाएको छ ।’ अहिंसा परम्परालाई पालना गर्ने स्थानीयको प्रतिबद्धता र स्वघोषणासहित परम्परालाई अनन्तकालसम्म निरन्तरता दिन चुमनुब्री गाउँपालिकाको १२औं गाउँसभाले पारित गरी अध्यक्ष निमा लामाले परम्परालाई संरक्षण गर्नुभएको देखियो ।
प्रतिक्रिया