माछा संरक्षणका लागि खोलामा १८ सय भुरा छाडियो

0
Shares

लमजुङ  । 
लमजुङको सुन्दरबजार नगरपालिकाले माछा संरक्षणको लागि विभिन्न खोलामा माछाका भुरा छोडेको छ । नगरपालिकाले पालिका अन्र्तगतको पाउँदी, नाउँदी र किरिञ्चे खोलामा विभिन्न जातका १ हजार ८ सय ४० वटा माछाका भुरा छोडेको हो ।
सुन्दरबजार नगरपालिका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पालिका भित्रका खोलामा माछाको भुरा छोडेको सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि उक्त कार्यक्रम गरिएको नगरप्रमुख कोइरालाले वताउनुभयो । नगरप्रमुख कोइरालाका अनुसार खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नु भयो ।
खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसंग परामर्श गरेर अगाडि बढ्ने नगरप्रमुखको भनाई छ । चालु आर्थिक वर्ष २०७९-०८० को कार्यक्रम अन्तर्गत खोेलामा स्थानीय रहु, नैनी, र चर जातका माछाका भुरा छाडिएको सुन्दरवजार नगरपालिका पशु सेवा शाखा प्रमुख लोकराज कोइरालाले बताउनुभयो । स्थानीय पाउँदी खोलाको वडानं. १० काँडेपानी, वडा नं. ३ लामिखेत, वडा नं. ४ र ५ सीमा क्षेत्रमा रहेको किरिञ्चे दोभान तथा वडा नं. ६ खत्रीठाँटी र नाउँदी खोलाको टुहुरे पसल नजिक माछाका भुरा छाडिएको हो ।
मत्स्य बिकास केन्द्र बेगनास कास्कीबाट ल्याइएका तिनै जातका माछाहरू खोलाहरूमा निकै प्रभावकारी तरिकाले उत्पादन हुने र छिटो बढ्ने पशु सेवा शाखाका प्रमुख कोइरालाको भनाई छ । खोलामा भुरा छाड्ने कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यहरू, पालिकाका कर्मचारीहरू, स्थानीयहरू लगायतको उपस्थिति थियो । पशु सेवा शाखाले चालु वर्ष नै मत्यविकास कार्यक्रम अन्र्तगत माछापालक किसानहरुलाई ५० हजार माछाका भूरा वितरण गरेको जनाएको छ ।