एसईई नतिजा : उल्लेख्य सुधार २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याए

२ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै, तल्लो जिपिए ल्याउने घट्दो क्रममा

0
Shares

भक्तपुर ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बि.सं २०७९को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षतामा कार्यालयमा बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डका सदस्य सचिब दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ र २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।

बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको छ । यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र तल्लो जिपिएमा नम्बर घट्दो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । अघिल्लो बर्षको तुलनामा समग्रमा नतिजामा उल्लेख्य मात्रामा सुधार भएको छ ।

यसपटक फरक हिसाबबाट अंग्रेजी, गणित र विज्ञानको स्तरीकृत प्रश्नपत्रबाट परीक्षा सञ्चालन भएको , कक्षा कोठामा भएको सिकाईमा सुधार र बिद्यार्थीको राम्रो पढाईका कारण नतिजामा सुधार आएको अध्यक्ष शर्माले बताउनुभयो । गत बर्ष कोभिडका कारणले कक्षाकोठामा पढ्न नपाएको र यो बर्ष नियमित पठनपाठन भएको र सम्पुर्ण नतिजामा प्रभाव पार्ने बिषयले नतिजामा सुधार आएको उहाँको भनाई छ । परीक्षा प्रणालीमा आएको सुधारका कारण ,त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो’ शर्माले भन्नुभयो ।

परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या र प्रतिशत बढेको छ । गत बर्ष यो जीपीएल ल्याउने १.९४ प्रतिशत थिए भने यो प्रतिशत अहिले ४.६३ छ । यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउनेको गत बर्षको ८.४ प्रतिशतबाट बढेर ११.३६ प्रतिशत पुगेको छ । बोर्डका अनुसार जीपीए ०. ८० देखि १ . २० ग्रेड ल्याउने ०.४५ प्रतिशत देखिएका छन् तर २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेड ०. ६६ प्रतिशत विद्यार्थीले ल्याएका थिए ।

जीपीए १. २० देखि १. ६० सम्ममा यसवर्ष ७.९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए ।जीपीए १. ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष १८. २४ प्रतिशत छन् भने गतवर्ष २० .३० प्रतिशत थिए । जीपीए २ देखि २. ४० सम्म यसवर्ष २१ . ०९ प्रतिशतले ल्याएका छन् भने गत वर्ष २३ प्रतिशत थिए । जीपीए २. ४० देखि २. ८० सम्म ल्याउनेमा यसपटक १८. ४२ प्रतिशत छन् भने गतवर्ष १८ . ३१ प्रतिशत थिए । जीपीए ३ .६० देखि ४ प्राप्त गर्ने विद्यार्थीको संख्या यसवर्ष २२ हजार चार सय ७५ अर्थात् ४. ६३ प्रतिशत छ भने गतवर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए ।

बोर्डका अनुसार यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् २. ८९ प्रतिशत विद्यार्थी छन् । चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ । बोर्डका सदस्यसचिव अर्यालले बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्ने जानकारी दिनुभयो । बुधबार नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटि सुधार्न भन्दै आजका लागि बैठक सारिएको थियो ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । बोर्डले एसईईको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गरेको छ ।