भारतलाई नवौं पटक साफ उपाधि

0
Shares

नयाँ दिल्ली, (एजेन्सी) । आयोजक भारतले १४औं साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

बैंगलुरुको कान्तिरभा रंगशालामा मंगलबार राति कुवेतलाई सडन डेथमा हराउँदै भारतले नवौं पटक साफ उपाधि जितेको हो । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरीमा खेल सकिएपछि अतिरिक्त ३० मिनेटसम्म खेल लम्बिएको थियो । त्यसअवधीभित्र पनि थप गोल नभएपछि खेल विजेताको छिनोफानो टाईब्रेकरमार्फत गरिएको थियो ।

टाइब्रेकरमा पनि दुवै टोली ४–४ गोलको बराबरीमा रोकिएपछि खेल सडन डेथमा पुगेको थियो । जसमा भारतले बाजी मार्न सफल भयो । सडन डेथमा भारतीय गोलकिपर गुरप्रित सिंह नायक रहे । उनले विपक्षी कप्तानको प्रहारलाई रोक्दै टोलीको जित निश्चित गरेका थिए । सडन डेथमा भारतका लागि भने महेश सिंहले विजयी गोल गरेका थिए ।

त्यसअघि टाइब्रेकरमा भारतका लागि कप्तान सुनिल क्षेत्री, सन्देश झिन्गन, ललियान्जुला, सुबासिस बोसले गोल गर्न सफल भए । उदान्त सिंहको प्रहार भने गोलपोष्टको बिममाथिबाट बाहिरिएको थियो । कुवेतका लागि मोहम्मद अब्दुल्ला पहिलो पेनाल्टीमै गोल गर्न असफल भए । उनको प्रहार क्रसबारमा लागेको थियो ।

त्यसपछि फवाज अलोलाइबी, अहमद अजिज, अबदुल्ला महरान र साबाहिब अलखाल्दी गोल गर्न सफल भएका थिए । सडन डेथमा कप्तान खालिद हजियाको प्रहार भारतका गोलकिपरले रोकेका थिए ।

त्यसअघि खेलको १४औं मिनेटमा साबाहिब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै भारत ललियान्जुला चाग्तेले ३९औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उत्कृष्ट तालमेलको प्रदर्शन गर्ने क्रममा गोल गर्दै भारत खेलमा फर्किएको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेवननको सहभागिता रहेको थियो । लेवननलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा हराएको थियो । कुवेत र भारत एकै समूहबाट अघि बढ्दै फाइनल पुगेको थियो ।

भारतले यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ च्याम्पियनसिप जितेको थियो । साफ च्याम्पियनसिपको १४औं संस्करण समाप्तीमा भारतले सबैभन्दा बढी ९, माल्दिभ्सले दुई तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एक–एक पटक उपाधि जितेका छन् ।
नेपाललाई फेयर प्ले अवार्ड

१४औं साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । च्याम्पियनसिपको समापनका क्रममा नेपाललाई फेयर प्ले अवार्ड दिने घोषणा गरिएको थियो । भारत र कुवेतबीचको फाइनल सञ्चालन गरेका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड ग्रहण गरेका थिए ।

साफ च्याम्पियनसिपमा अघिल्लो संस्करणको उपविजेता रहेको नेपाली टोली यसपटक भने समूह चरणबाटै बाहिरिएको थियो । कुवेतसँगको पहिलो खेल ३–१, भारतसँगको दोस्रो खेल २–० ले गुमाएको नेपालले अन्तिम खेलमा भने पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।
सुनिल सर्वोत्कृष्ट

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भए । पाँच गोल गरेका सुनिल च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता समेत रहे । बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले गोल्डेन ग्लोभ अवार्ड प्राप्त गरे । यसपटक प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्र नेपाल, आयोजक भारत, बंगलादेश, पाकिस्तान, भुटान र माल्दिभ्ससहित आमन्त्रित राष्ट्रका रुपमा कुवेत र

लेवनान गरि आठ टोलीको सहभागिता थियो । फिफाको प्रतिबन्धका कारण यसपटक श्रीलंकाले भने सहभागिता जनाएको थिएन ।