धनगढी ।
रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ। बुधबार सो पार्टीले प्रदेश सरकारमा आफ्नो मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार यही साता उनको पार्टी सरकारमा सहभागी हुनेछ।
यता उहाँकै पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निर्णय हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी हुने कुरा भएको छ तर पार्टीको बैठक बसेको छैन। बैठकबाट औपचारिक निर्णय गर्न बाँकी छ। चाडै बैठक बस्ने सल्लाह भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गत जेठमा मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा नाउपा दुई वटा मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारमा सहभागी भएको थिएन। तर अब भने नाउपा एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जान तयार भएको स्रोतले जनाएको छ।
उसले रिक्त रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ। नाउपाले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई सरकार पठाउने तयारी गरेको स्रोतले जनाएको छ।











प्रतिक्रिया