बाबु पहिचान नभएका व्यक्तिले पाए नागरिकता

नागरिकता पाएको खुशीले प्रशासन कार्यालयमा नागरिकले गरे जुस र चकलेट वितरण 

1.5k
Shares

काभ्रे  । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बाबु पहिचान हुन नसकेका नागरिकलाई आमाको नामबाट मावलीको थरका आधारमा नागरिकता उपलब्ध गराएको छ ।

बुधवार तीन जना नागरिकले बाबु पहिचान नभएको भन्दै आमाले गरेको स्वघोषणाका आधारमा नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता हस्तान्तरण गर्दै उज्ज्वल भविष्यको कामना गर्नु भयो ।

साबिक बनेपा १ हाल बनेपा ५ घर भएकी १९ बर्षिया रिमा र १७ बर्षिया टिना कपालीले नागरिकता प्राप्त गरेको खुसीयालीमा एक कार्टुन जुस र चकलेट वितरण गरे । ‘७ पटक जति धाएँ । नागरिकता लिन बाबुको नाम चाहिन्छ भन्दै फर्काउनु भयो’–टिना कपालीले भन्नुभयो–‘नागरिकता पाउँदा खुशीको सीमा रहेन ।’

२१ वर्ष अघि टिना र रिमाकी आमा हिरामाया काठमाडौँमा फर्निचरमा काम गर्दा गर्दै अपरिचित व्यक्तिसँग प्रेम बसेको थियो । सामान्य लेखपढ समेत नगरेकी हिरामाया कपालीलाई दुई सन्तान छाडेर श्रीमान् बेपत्ता भए । नाम र ठेगाना समेत थाहा नपाएकी हिरामाया त्यस लगत्तै माइतीमा आई बस्न थाल्नु भयो ।

बाबु बित्ते पछि आमाको स्याहार सुसार र दुई छोरीको रेखदेख गरिरहेकी हिरामायालाई पोइल गएकी छोरी माइत बसेर राँईदाई गरेको भन्दै बचन लगाउँदा पनि नकुँडिएको मन दुई छोरीले नागरिकता नपाएर अध्ययन गर्न नपाउँदा कुँडियो । जेठी छोरी रिमाले +२ सम्मको अध्ययन सकेर काठमाडौँमा आफन्तकोमा बसेर थप अध्ययन गरिरहेकी छिन् भने बाँकी रहेको समयमा रेस्टुरेन्टमा काम गरिरहेकी छिन् ।

नागरिकता नभएकै कारण संघ संस्थामा जागिर खान नपाएको, अध्ययनका लागि समस्या भएको र बैकमा खाता खोल्न समेत नसकेको पीडा त छँदै थियो बाबुकै पहिचान नभएकाले नागरिकता प्राप्त गर्न नसकेको भन्ने शब्दले विजिरहेको थियो । कान्छी छोरी टिनाले नर्सिङ विषय लिएर अध्ययन गर्न खोजे पनि सम्भव भएन । नर्सिङ विषय अध्ययन गर्न नपाएपछि टिनाले विषय मोडिन । सम्झन्छिन् भाग्य पनि मोडियो कि ? नागरिकता प्राप्ति पछि खुशीले गद्गद् भएको टिनाले बताइन् ।

 रिमा र टिना जस्तै मण्डनदेउपुर नगरपालिका ७ का सुशासन श्रेष्ठले पनि नागरिकता नपाएकै कारण जीवनमा प्राप्त गर्ने धेरै अवसर गुमाउन पुग्नु भयो । कक्षा १२ अध्ययन सकेर पनि प्रमाणपत्र समेत कलेजले रोकेर राखेपछि भतारिएका श्रेष्ठले एनजिओमा जागिर खान पाएनन् ।

ब्याचलर तहको अध्ययन गर्ने अवसर गुमाए । ‘अध्ययन गर्नु पर्ने समयमा अवसर नपाए पछि अब बिदेसिनुको विकल्प छैन’– सुशासन श्रेष्ठले भन्नुभयो–‘नेपालमा अवसर छैन । रोजगार छैन । नागरिकता प्राप्त भयो अब  विदेश जान्छु ।’ सुशासन श्रेष्ठकी आमा माइली काठमाडौँको बालकुमारीमा सामान्य चिया पसल गर्दै आउनु भएको छ । धेरै अघि रोजगारका लागि राजधानी जानु भएकी माइलीको अपरिचित व्यक्तिसँग सम्बन्ध बस्यो । सुशासन पेटमा आए लगत्तै उनी बेपत्ता भए ।

त्यस पछि एक्लै संर्घष गर्दै आएकी माइलीलाई हौसला दिँदै छोरा सुशासनले भने–‘आमाको के दोष ? समयको खेल हो । नागरिकता प्राप्त भयो अब भविष्य उज्ज्वल बनाउँछौ ।’ सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले यस अघि जन्मको आधारमा नागरिकता प्राप्त गर्ने बाबुका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको बताउनु भयो ।