सम्झौता म्याद सकिएको डेढ वर्षपछि काम शुरू



रामेछाप । मन्थली नगरपालिका–८ जख्नीटार–चिसापानी सडक कालोपत्रे गर्ने काम शुरू भएको छ । ठेक्का म्याद सकिएको डेढ वर्षपछि निर्माण व्यवसायीले सडक कालोपत्रे गर्ने काम शुरू गरेका हुन् ।

वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक कालोपत्रे गर्न कान्छाराम कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । ठेक्का सम्झौता अनुसार ७ दशमलव ३६ किलोमिटरको कालोपत्रे गर्नुपर्ने छ भने सडकमा ग्याभिन हाल्ने, र नालाको ठेक्का सो कम्पनीले पाएको थियो ।

सडक कालोपत्रेको काम २०७८ पुस २५ गते नै सम्पन्न गर्ने गरी सो कम्पनीले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । जिल्ला पूर्वाधार कार्यालयमार्फत भएको सो सम्झौता अनुसार १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँ बजेट विनियोजन भएको थियो ।

सडकको कालोपत्रेको प्रक्रिया सुरु भएपछि मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष होमप्रसाद पौडेलले सडकको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्