खेलाडी बचाउमा दुई प्रधानमन्त्री

0
Shares

लन्डन, (एजेन्सी) । इंग्ल्याण्डको लर्ड्समा सम्पन्न दोस्रो टेष्टमा जोनी बेयरस्टो विवादास्पद तरिकाले रन आउट भएपछि दुई देशका प्रधानमन्त्रीहरुले खेलाडीको बचाउमा आ–आफ्नो प्रतिक्रिया दिएका छन् ।

बेयरस्टोलाई विवादास्पक तरिकाले आउट गरिएपछि इंग्ल्याण्डका कप्तान बेन स्टोक्सले यो खेल भावना विपरित भएको बताएका थिए । साथै स्टोक्सले आफु यसरी कहिल्यै म्याच जित्न नचाहने पनि बताएका थिए । कप्तान स्टोक्सको यस्तो बयान आएपछि इंग्ल्याण्डका प्रधानमन्त्री ऋषी सुनकले उनलाई समर्थन गर्दै यो खेल भावना विपरित भएको बताए । प्रधानमन्त्रीले कप्तान स्टोक्सलाई समर्थन गरेपछि अहिले बेलायतमा अस्ट्रेलियन टोलीले मिडियामा निकै आलोचना खेप्नु परिरहेको छ ।

इंग्ल्याण्डका प्रधानमन्त्रीको यस्तो बयान आएपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले आफ्नो टोलीको बचाव गर्दै आफुलाई आफ्नो टीमप्रति गर्व भएको बताएका छन् । प्रधानमन्त्री एन्थनीले महिला तथा पुरुष एशेजमा अस्ट्रेलियन टोलीले उत्कृष्ट प्रदर्शन गरेकोमा आफु गौरवान्तित भएको बताएका छन् ।

साथै उनले एक पटक पुनः पुरानै अस्ट्रेलियन टोलीको झझल्को समेत आएको बताए । जुन टोली सधैं जितका साथ स्वदेश फर्किन्थ्यो । यो पटक आफु विजय टोलीको स्वागतको लागि प्रतिक्षामा समेत रहेको बताएका छन् ।