टोनाली न्युक्यासलमा अनुबन्धित

0
Shares

लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडले एसी मिलानका प्लेमेकर सान्ड्रो टोनालीलाई पांच वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ ।

२३ वर्षीय मिडफिल्डरलाई भित्र्याउन न्युक्यासलले ६८.८ मिलियन पाउण्ड खर्च गरेको छ । न्युक्यासलले यस सिजन च्याम्पियन्स लिग खेल्ने हुँदा प्रशिक्षक एडी हाउले सिजनको पहिलो अनुबन्धन पूरा गरेका हुन् । टोनालीले सन् २०२१–२२ सिजनमा एसी मिलानलाई सिरी ए उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

उनी गत सिजन टोलीले च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गर्दा पनि केन्द्रमा थिए । मिडफिल्डर टोनालीले न्युक्यासलको रक्षात्मक मिडफिल्डरको भूमिका खेल्ने अनुमान गरिएको छ । कलिलो उमेरमा नै युरोपको शीर्ष क्लबमा खेलेको अनुभव रहकाले न्युक्यासलले उनीसँग ठूलो अपेक्षा राखेको छ ।

टोनालीले न्युक्यासलमा खेल्नका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । प्रशिक्षक हाउले पनि टोनालीको मानसिक, शारीरिक र प्राविधिक क्षमता टोलीमा निकै काम आउने बताए । टोनाली यस अनुबन्धन सँगै सबैभन्दा महँगा इटालियन खेलाडी बने । यसअघि चेल्सीले नेपोलीका जर्जिन्होलाई ५० मिलियन पाउण्ड खर्चेर अनुबन्ध गरेको थियो ।

न्युक्यासलका प्रशिक्षक इडे होउ टोनालीको आगमनले टोलीको मिडफिल्ड थप बलियो हुनेमा विश्वस्त छन ।इटालीको राष्ट्रिय टोलीबाट १४ अन्तर्राष्ट्र्रिय खेल खेलिसकेका टोनालीले मिलानबाट भने सिरी ए मा १ सय ३० म्याच खेलेका छन् । अनुबन्धनपछि टोनालीले न्युक्यासलबाट नयाँ सिजनको सुरुआत गर्न उत्साही रहेको प्रतिक्रिया दिए ।