नेपालको उपाधिमाथि हेट्रिक

0
Shares

काठमाडौं । नेपालले एसिसी यू १६ इस्ट जोन कपमा तेस्रो पटक उपाधि जित्दै हेट्रिक गरेको छ । गत दुई संस्करणको विजेता नेपालले फाइनलमा घरेलु टोली मलेसियालाई सहजै पराजित गरेको थियो । यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू १६ को उपाधि जितेको थियो । यसअघिको दुई संस्करण भने यू १६ रिजनको नामले थिए ।

नेपालले मलेसियालाई ३१ रनमा अलआउट गरेर २ सय २१ रनको ठूलो अन्तरको जित निकालेको थियो । नेपाली टोलीले जितको लागि २ सय ५३ रनको लक्ष्य दिएको थियो । जसमा मलेसियाको टोली १४.५ ओभरमा अलआउट भएको थियो ।

मलेसियाका मोहम्मद अकरमले १० रन बनाउनु नै सर्वाधिक तथा दोहोरो अंकको रन थियो । नेपाललाई जित दिलाउन कप्तान अभिषेक तिवारीले ५ विकेट लिएका थिए । उनले ६ ओभरमा १ मेडनसहित ७ रन मात्र खर्चे । यस्तै सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिए ।

त्यसअघि बायोमास ओभल मैदानमा नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । नेपालका लागि शीर्षक्रमका ब्याटर नरेन भट्टले शतक प्रहार गरेका थिए । उनले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा १ सय १२ रन बनाए । उनी नटआउट रहेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

यस्तै ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भएका थिए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि निरज र नरेनले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए । यसैगरी सन्तोष यादवले २९ रनको योगदान दिए । मलेसियाका मोहम्मद अकरमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।