कार्यक्षमतामा औँलो ठड्याउनु नपरोस्

0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आम जनताले औसतभन्दा माथिको मन्त्रीको रुपमा चित्रण गरेका थिए । उहाँको काम गराइमा केही दम पनि थियो । मन्त्री किरातीले थला परेको नेपाल वायु सेवा निगमलाई सुधार गर्ने जुन प्रतिबद्धता व्यक्त गरेर काम अघि बढाउनुभएको थियो त्यसलाई सबैले प्रशंसा नै गरेका थिए । पर्यटन क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई तोड्न उहाँले सञ्चालन गरेका कार्यक्रमहरुमा साथ दिनेको संख्या पनि बढ्दै गएको थियो । स्वयं मन्त्री किरातीले पछिल्लो समय राजनीतिमा देखिएको चरम निरासालाई आफूले परिवर्तन गर्ने उद्घोषसमेत गर्नुभएको थियो । मन्त्री भएर आएदेखि नै सुझाव–सल्लाह दिने फरक विचार राख्ने विज्ञहरुले खुलेर उहाँलाई सघाउने उद्घोषसमेत गरेका थिए । मन्त्री भएर आएको केही महिनामा नै मन्त्री किरातीको ध्यान टाट पल्टेको घोषणा गर्न बाँकी रहेको नेपाल वायु सेवा निगम नाफामा गएको भन्दै थप विमान खरिद गर्नेजस्ता विवादास्पद भनाइ सार्वजनिक गरेपछि मन्त्री किरातीसँग नजिक रहेकाहरु झस्कन थालेका थिए । एकपछि अर्को विवादास्पद निर्णय गर्ने क्रममा मन्त्री किरातीले एउटा निजी कम्पनीलाई काभ्रेमा हेलिपोर्ट बनाउन दिने निर्णयपछि उहाँको कार्यक्षमतामा नै प्रश्न उठ्न थालेको छ ।

मन्त्री किरातीले विगतमा जति राम्रो काम गरे पनि पछिल्लो समय उहाँले गर्दै जानुभएको निर्णयले विवादित बनाइदिएको छ । आफ्नै मातहतमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई सोधेको स्पष्टीकरण सामाजिक सञ्जालमा हालेपछि मन्त्री किरातीको हैसियतको बारेमा समेत प्रश्न उठेको छ । मन्त्रालयले पठाएको पत्र महाप्रबन्धकले नबुझ्दै मन्त्री किरातीले अर्काको मान–प्रतिष्ठामा आँच आउने काम गर्नुले पनि उहाँलाई आलोचना गर्नेको संख्या बढ्दो अवस्थामा रहेको छ । कुनै पनि मन्त्रीले आफ्ना मातहतका कर्मचारीलाई सोधेको प्रश्नको उत्तर नआउने भएपछि मन्त्री किराती नैतिक संकटमा पर्नुले पनि उहाँका आलोचकहरुले औंला उठाउने ठाउँ पाएका छन् ।

एकातर्फ राजनीतिप्रति जनताको विकर्षण बढ्दै जानु, अर्कोतर्फ आशा गरिएका मन्त्रीबाटै यस्ता विवादास्पद निर्णय हुँदै जानुले दलीय व्यवस्था विरोधी तत्वहरु सक्रिय हुन थालेका छन् । यसतर्फ सबैको ध्यान जानुपर्ने होइन र ? मन्त्री पद भनेको अस्थायी हो, मान–प्रतिष्ठा भनेको व्यक्तिको गहना हो । यसतर्फ मन्त्री किरातीले ध्यान दिनै पर्दछ । कुनै पनि निर्णय गर्दा यसले पार्ने असरका बारेमा सोचविचार गरेर निर्णय गर्नुपर्नेमा आफ्ना वरिपरि घुम्नेहरुले जे भन्यो त्यही निर्णय गर्दै जाने हो भने यसले समाजमा कस्तो असर पार्ला ? मन्त्री किरातीले बुझ्नुपर्ने हो । त्यो भएको पाइँदैन । मन्त्री पद छोड्दा हाई–हाई हुने कि बदनाम हुने ? यो उहाँले जान्ने विषय हो ।