बिउको उत्पादनले आत्मनिर्भर बनायो  

0
Shares

सुर्खेत । 

गुर्भाकोट–७, मेहलकुनामा रहेको पवित्र जनकल्याण कृषक सहकारी संस्थाले विभिन्न बिउ उत्पादन गर्दै आएको छ ।  सहकारीले कृषकबाट गहुँ, धान लगायत अन्नका साथै विभिन्न तरकारीका र फलफूलका बिउ किनेर विभिन्न जिल्लाका किसानलाई बेच्ने गरेको छ ।

सहकारीले गर्दा विगतमा  बीउ खरिद गर्ने सुर्खेत अहिले विभिन्न जातका बिउ बिक्री गर्न थालेको छ । बिउको माग बढेसँगै सहकारीले व्यावसायिक बीउ उत्पादन गर्दै आएको छ । यो सहकारी २०५८ सालमा स्थापना भएको हो । कृषक सहकारीले बिउ बिक्री वितरण गर्न नपाउने नियम भएकाले सहकारी मातहत रहने गरी २०७२ सालमा पवित्र बिउ उत्पादन उद्योग दर्ता गरेर काम सुरु भएको हो ।

३०  जातका बिउहरू उत्पादन

सहकारीले ३०  जातका बिउहरू उत्पादन गर्ने र बिक्री वितरण गर्ने गरेको छ । वार्षिक २ सय मेट्रिकटन बिउ उत्पादन हुने गरेको सहकारीले जनाएको छ । तरकारी वालि तर्फ मुला,केराउ,स्वीइचाड, रायो, पालङगो,चम्सुर, प्याज, धनियाँ, गाजर, सलगम, गोलभेँडा, सिमिका प्रकार , वोरी र भिन्डीको उत्पादन गरिँदै आएको छ ।

 त्यस्तै खाद्यान्न वाली तर्फ जहु, मकै, धान र मसुरोको बिउ पाइने सहकारीका व्यवस्थापक चन्द्र ओझाले जानकारी दिए । उनका अनुसार सहकारीले नर्कबाट मूल बिउ किन्ने र किसानलाई वितरण गर्ने, किसानसँग खरिद बिक्री गर्ने, सम्झौता हुन्छ । नर्कबाट किनेको बिउमा ५० प्रतिशत सहुलियत दिएर किसानलाई  वितरण गर्ने  गरिएको व्यवस्थापक ओझाले बताए ।

किसानको मागको आधारमा मूल बिउको व्यवस्था गर्ने, मूल बिउ पाउने ७ सय किसानलाई उनीहरूको मागको आधारमा वितरण गर्ने गरिएको छ ।

३६ वटा जिल्लामा बिउ वितरण

सहकारीले देशका ३६ वटा जिल्लामा आफ्नो सहकारीले सङ्कलन गरेको बिउ पु¥याउने गरेको सहकारीका अध्यक्ष चन्द्रकला गुरुङले बताइन । उनका अनुसार  कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, सल्यान, जुम्ला, हुम्ला, मुगु, कालिकोट, दैलेख र सुर्खेत जिल्ला तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, बाजुरा, डोटी, दार्चुला र बझाङ जिल्लामा बिउलाई बजारीकरण गर्ने गरिएको  छ ।

त्यस्तै लुम्बिनी प्रदेशका बाँके, बर्दिया, रुपन्देही, पाल्पा र दाङ , गण्डकी प्रदेशका कास्की, म्याग्दी र पर्वत, बाग्मती प्रदेशका काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ र काभ्रे, मधेस प्रदेशको सर्लाही, र कोसी प्रदेशका ओखलढुङ्गा, झापा, सुनसरी, इलाम र धनकुटा जिल्लामा बिउ पठाउने गरिएको गुरुङले जानकारी दिइन ।

सहकारीले किसानले उत्पादन गरेको बिउलाई किन्ने र बजारीकरण गर्ने पनि गरेको छ । किसानद्वारा उत्पादित  बिउको बजारीकरण गर्न थालेपछि सहकारीले आफ्नो आम्दानी पनि बढाएको सहकारीका अध्यक्ष गुरुङले बताइन । उनका अनुसार सहकारीले यो वर्षमा ५ करोडको कारोबार गरेको छ ।

सहकारीले आफ्नो बिउ वितरणका लागि सुर्खेत, कैलाली र काठमाडौँ जिल्लामा बिउ वितरण केन्द्र स्थापना गरेर काम गरिरहेको छ । अब नेपालगन्ज र बुटवलमा वितरण केन्द्र स्थापना गरेर बिउको बजारीकरण गरिने बताइन । सहकारीले स्थानीय पालिकाहरू, एग्रोभेटहरु र सिट कम्पनी मार्फत बिउ बेच्ने गरिएको छ ।

बिउ उत्पादनमा सहकारीलाई बिउ उत्पादन र बजारीकरणमा सहयोग होस भनेर बिउ भण्डारण प्रशोधन घर निमार्णमा सहयोग गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन एकाइ, सुर्खेतका प्रमुख पुष्पराज पौडेलले बताए । उक्त घर निमार्णका लागि २३ लाख ८० हजार १ सय ६२ रुपैयाँ साझेदारीमा सहयोग गरिएको प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार यस्तो खालको सहयोगका अलवा सुर्खेतमा अदुवा-बेसार , तरकारी, मकै, बाख्रा, दलहन बालीको कार्यक्रम पनि सञ्चालन गरिएको प्रमुख पौडेलले बताए ।

सहकारीलाई भण्डारण सुविधा विस्तारले नमुना बिउ स्रोत केन्द्रको रूपमा स्थापित गराएको पौडेले बताए । सहकारीबाट गुणस्तरीय बिउ विजन स्थानीय रूपमा सङ्कलन, प्रशोधन र बिक्री वितरण सुरुवात समेत भएको पौडेलको भनाइ छ ।

मूल बिउ खरिद र जग्गा भाडामा मात्रै ऋण पाउने

सहकारीले आफ्नो पुँजीलाइ ऋण प्रदान गर्नका लागि मूल बिउ खरिद र जग्गा भाडामा मात्रै ऋण प्रवाह गर्ने गरेको व्यवस्थापक ओझाले बताए । “यसको मुख्य उद्देश्य भनेको मूल बिउ खरिद र जग्गा भाडामा मात्रै ऋण पाउने हो । यो ऋण लिएर अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने सहकारीको नियम छ” उनले भने  ।

उनका अनुसार सहकारीमा अहिले एक हजार एक सय ५३ जना किसान सेयर सदस्य छन् । सहकारीको हाल १७ लाख सेयर पुँजी रहेको छ । सहकारीमा हाल ४० लाख वचत रहेको छ भने ७८ लाख कुमारी बैंकमा ऋण रहेको छ । बिउ उत्पादनका लागि सहकारीले यो वर्ष ९० लाख बराबरको लगानी गरेको छ ।  सहकारीले किसानहरूलाई बिउ उत्पादनका लागि ऋण लगानी गर्ने गरेको छ ।

 ओझाका अनुसार कृषकहरूले मूल बिउ खरिद र जग्गा भाडामा लिने प्रयोजनका लागि मात्रै सहकारीबाट ऋण पाउँछन् । ५० हजार देखि २ लाख सम्म किसानहरूले सहकारीबाट ऋण पाउँछन् । यस्तो ऋण प्राप्त गर्ने किसान १ सय ८० जना रहेका छन् । ५० हजार सम्म ऋण लिन चाहने किसानले आफ्नो समूहका २ जना अन्य सदस्यलाई साक्षी बनाएर लिन सक्छन् भने त्यो भन्दा माथि ऋण लिन चाहने किसानहरूले धितो स्वरूप आफ्नो जग्गा रोक्का गराएर मात्र ऋण लिन पाउँछन् ।