चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा

0
Shares

काठमाडौं । नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरन्जिवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बूढानीलकण्ठमा भइरहेको प्रतियोगितामा चन्द्रले दाङका भरत पुन मगर, विमलले ललितपुरका उमङ्ग खत्री, चिरन्जिवीले च्याम्पियनका अजय पुन मगर र प्रदीपले सोनाम लामालाई पराजित गरे । पुरुष ५७ केजीमा एपीएफका पुरन राईले कञ्चनपुरका महेशसिंह खत्रीलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६० केजीमा फाइटका मौसम लाक्सम्बाले प्रहरीका सुजन पौडेल, एपीएफका विक्रम परियारले नुवाकोटका विकास गुरुङ, आर्मीका इन्द्रबहादुर सुनुवारले बक्समान्डुका आयुश थापा तथा एक्सबक्सका निश्चल गुरुङले स्विटका मार्सल गुरुङलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ६७ केजीमा एपीएफका विक्रम चौधरीले अन्शाका विशाल दाहाललाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । पुरुष ७१ केजीमा एक्सबक्सका निशान गुरुङले एपीएफका सुमन कार्की, आर्मीका दानबहादुर दर्लामीले कैलालीका भरत चन्द तथा प्रहरीका मिलन तामाङले ललितपुरका कुशल कुमालमाथि जित रच्दै सेमिफाइनलमा पुगे ।

पुरुष ७५ केजीमा एचटुओका विनिश राईले नक्सालका अश्विन धिरन श्रेष्ठ, पाटनका जेम्स महर्जनले फाइटका तेन्जि शेर्पा, आरडीएसका नोर्बु शेर्पाले आर्मीका गेशकुमार श्रेष्ठ तथा एक्सबक्सका आयुश तामाङले स्विटका धीरज तामाङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल भए । पुरुष ८० केजीमा कैलालीका बालाजी रावलले नुवाकोटका पासाङ शेर्पा तथा एक्सबक्सका सचेत नेपालीले अल्फाका पुष्प गुराँस ओलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला ४८ केजीमा नक्सालकी मन्दिरा पौडेलले नुवाकोटकी संगिता राणालाई, ५४ केजीमा प्रहरीकी निशा तामाङले नुवाकोटकी रक्षा जिसी, ५७ केजीमा एपीएफकी माला राईले आर्मीकी कमला खड्का तथा एपीएफकी शर्मिला तामाङले कर्णालीकी हेरिना ऐरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।