सोरुका स्वास्थ्य चौकीमा औषधीको अभाव



मुगु। 

मुगुको सोरु गाउँपालिकास्थित  स्वास्थ्य चौकीमा पछिल्लो समय औषधिको अभाव देखिएको छ । स्थानीय बिरामीलाई एक चक्की सिटामोल समेत पाउन मुस्किल पर्ने अवस्था रहेको स्थानीय अगुवाहरू बताउँछन् ।

दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्य चौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएका छन् ।
स्वास्थ्य चौकी खनायामा उपचार गर्न कालै, खनाया गाउँका बिरामीहरु आउने गरेका छन् । अनुगमनको क्रममा पालिका उपाध्यक्ष केशरबहादुर शाही  दिउँसो खनाया स्वास्थ्य चौकीमा पुग्दा कार्यरत अनमी, अहेव र बिरामीले औषधि नहुँदा जटिल समस्या खेप्नु परेको गुनासो सुनाए ।
उपाध्यक्षज्यू औषधि छैन । बिरामीलाई कसरी उपचार गरौँ,’ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा विश्वकर्माले भनिन्, ‘न त औषधि पालिकाले दिन्छ न त जिल्ला स्वास्थ्यबाट आउँछ ।’

औषधिका लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा औषधिको माग फारम पेस गर्दै हैरान भएको उनको गुनासो छ । अनमी विश्वकर्मा भन्छिन्, ‘स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधि हुनुपर्नेमा १० प्रकारका औषधि पनि छैनन् ।’

पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ ।

सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले भने अबको केही दिनभित्रै औषधि नभएका स्वास्थ्य केन्द्रमा औषधि पठाइने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरेको औषधि पठाइने उनको भनाइ छ ।

सोरु गाउँपालिकाको खनाया स्वास्थ्य चौकीमा औषधिको संकटसँगै बीपी सेट, थर्मोमिटर लगायत उपकरणको पनि अभाव हुँदा रक्तचाप जाँच गर्न आउने स्थानीयहरू सेवा नलिएरै फर्किनु परेको छ । उक्त स्वास्थ्य चौकीमा ७ जना कर्मचारी कार्यरत भए पनि हाल चार जना मात्र उपस्थित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्