सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन बाल बचत खाता सञ्चालन



लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन बाल बचत खाता सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालय प्रति बालवालिकाको आकर्षण वढाउन तथा आर्थिक समस्याका कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन भन्ने उदेश्यले नयाँ अवधारणा ल्याएको हो ।

नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका बालबालिकाको बचत खाता खोलिदिने र उनीहरुले प्रत्येक महिना गर्ने बचतमा त्यतिनै रकम थपि दिने भएको छ ।

सरकारी विद्यालयमा आकर्षण नभएको सन्र्दभमा विद्यार्थी दर वढाउन तथा वचतले उच्च शिक्षा अध्ययनमा पनि सहयोग पुग्ने अपेक्षा सहित बालवालिकाको खाता खोली बाल बचतलाई प्रोत्साहन गरिने राइनास नगरपालिकाका उप्रमुख पुष्पराज खनालले वताउनुभयो ।

बाल वचतलाई प्रोत्साहन गरी विद्यार्थीको उच्च शिक्षाको अध्ययनसँग आवद्ध गर्ने नीति लिएको नगरपालिकाले आगामी साउन १ गतेबाट सो व्यवस्था लागु गर्ने भएको छ । सोको लागि नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा भर्ना भई अध्ययन गरिरहेका कक्षा १ देखि ५ सम्मका बालवालिकाको बैंक खाता खोल्ने कार्यक्रम सुरु गरिएको राइनास नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

बाल वचत खाता सञ्चालन तथा बचतका लागि नगरपालिकाले कार्यविधि समेत वनाइसकेको जनाएको छ । सोहि कार्यविधि अनुसार नगरपालिकाले साउनदेखि प्रत्येक बालबालिकाले खातामा मासिक ५० रुपैया जम्मा गर्नेछ भने प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको खातामा मासिक ५० रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

बाल बचत खाता अवधारणाले बालबालिकाको कक्षा छाड्ने दर घट्ने, सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित हुने र बालबालिकामा बचत गर्ने बानीको समेत विकास हुने अपेक्षा लिइएको राइनासका नगरप्रमुख खड्कवहादुर गुरुङले वताउनुभयो ।

सानैदेखि बैंकिङ कारोबार गर्दा बालबालिकामा वित्तीय साक्षरता समेत हुने प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयलको भनाई छ । कार्यक्रम सामान्य देखिए पनि निकै प्रभावकारी हुने अपेक्षा सहित सो कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरिएको प्रमुख प्रशासकिय अधिकृत सुँयलले बताउनुभयो ।

नगरपालिका भित्र कक्षा १ देखि ५ सम्म सञ्चालित ३३ विद्यालयका छन् ति विद्यालयमा १३ सय देखि १४ सयको हाराहारीमा विद्यार्थी संख्या रहेको श्रोत व्यक्ति कुमार न्यौपानले जानकारी दिनुभयो । न्यौपानेका अनुसार हाल बालवालिकाको खाता खोल्ने र तथ्यांक संकलन कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्