कुवेत फाइनलमा

0
Shares

काठमाडौं । कुवेत भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको सेमिफाइनल खेलमा कुवेतले बंगलादेशलाई १–० गोलअन्तरले हराएको हो । बंगलादेशले १ सय ५ मिनेटसम्म कुवेतलाई रोक्न सफल भएको थियो । तर १ सय ६ मिनेटमा अब्दुल्लाहले गोल गर्दै कुवेतको लागि राहत प्रदान गरेका थिए । यसपछि कुनै गोल नभएपछि कुवेत फाइनलमा पुग्यो ।

कुवेत पहिलो पटक साफ च्याम्पियनसिपमा खेल्न सहभागि भएको टोली हो । दक्षिण एशिया फुटबल टोलीले मात्रै खेल्ने यस प्रतियोगितामा पहिलो पटक दक्षिण एशियाभन्दा बाहिरको टोलीलाई समावेश गरिएको हो । जारी प्रतियोगितामा कुवेत र लेबनानले भाग लिएका हुन् । कुवेत पहिलो सहभागितामा नै फाइनलमा पुगेको छ ।

कुवेतले आफ्नो समूहमा दुई जित र एक बराबरी खेल्दै सेमिफाइनलको यात्रा गरेको हो । कुवेतले नेपाललाई ३–१ ले हरायो भने दोस्रो खेलमा पाकिस्तानलाई ४–० ले पराजित गरेको थियो । लिगको अन्तिम खेलमा भने कुवेतले घरेलु टोली भारतसँग १–१ बराबरी खेलेको थियो । बंगलादेशले भने आफ्नो समूहमा माल्दिभ्स र भुटानलाई पराजित गरेको थियो । लेबनानसँग भने बंगलादेश पराजित भएको थियो ।