रजोनिवृत्त कुनै रोग होइन



श्रीरामसिंह बस्नेत
प्रत्येक महिलाको जीवन उनको प्राकृतिक मासिक चक्रका आधारमा तीन चरणमा बाँडिएको हुन्छ– पूर्वरजस्वला चरण, रजस्वला चरण र रजोनिवृत्त चरण । जन्मेदेखि रजस्वला प्रक्रिया प्रारम्भ नभएसम्मको अवधि बाल्यकाल हो । यसमा बालिकाको आन्तरिक र बाह्य अंगहरु विकसित वा परिपक्व भएका हुँदैनन् भने हर्मोन्सहरु पनि शरीरमा उत्पादन भएका हुँदैनन् । यो अवस्थामा अण्डाशय सूक्ष्मरुपमा रहेको हुन्छ, जसले अण्ड उत्पादन र निष्कासन गर्न सक्दैन । त्यसैले बालिकाहरु रजस्वला हुँदैनन् ।
उमेर बढ्दै गएपछि ती सबै अविकसित र अपरिपक्व अवस्थामा रहेका अंग र प्रणालीहरु क्रमशः विकसित र परिपक्व हँुदै आउँछन् र एउटा निश्चित विन्दुमा पुगेपछि रजस्वला प्रक्रिया प्रारम्भ हुन्छ । रजस्वला प्रारम्भ हुनु बालिकाबाट किशोरी अवस्थामा प्रवेश गर्नु हो । रजस्वला कुन उमेरदेखि प्रारम्भ हुन्छ भन्ने व्यक्ति विशेषमा भर पर्दछ ।
त्यसैले फरक–फरक हुन्छ । स्वास्थ्य अवस्था, खानपिन, शारीरिक स्थिति, जन्मे–हुर्केको ठाउँको हावापानी, आमा–दिदीको रजस्वला इतिहास आदिमा समेत भर पर्दछ । रजस्वला प्रारम्भ हुनु भनेको प्रजनन प्रक्रिया प्रारम्भ हुनु हो तर त्यसो भनेर यौनक्रिया र गर्भधारणकै लागि तयार भएको अवस्था भने होइन । रजस्वला प्रायः ८–९ वर्षदेखि १५–१६ वर्षको उमेरसम्ममा प्रारम्भ हुन्छ नै । यदि भएन भने स्त्रीरोग विशेषज्ञसँग परामर्श लिइहाल्नुपर्छ ।
रजस्वला प्रारम्भ भएपछि हरेक स्त्रीको जीवनमा दोस्रो चरण शुरु हुन्छ । यो युवावस्था जीवनकै सबैभन्दा महत्वपूर्ण, उत्पादनशील, ऊर्जावान् र लामो अवधिको चरण हो । व्यक्तिगत, पारिवारिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक, सिर्जनात्मक आदि अनेकौं दृष्टिले यो चरण नै प्रत्येक महिलालाई जीवनको पहिचान दिने मुख्य अवधि हो । यद्यपि यो चरण पनि जीवनभर रहिरहँदैन ।
रजोनिवृत्त के हो ? 
उमेर र शारीरिक अवस्था एउटा निश्चित विन्दुमा पुगेपछि रजस्वला सधैँका लागि बन्द हुन्छ र महिलाको जीवन तेस्रो चरण अर्थात् रजोनिवृत्तमा प्रवेश गर्दछ । प्रौढ अवस्थामा हुने यसलाई रजोनिवृत्त हुनु, महिनावारी बन्द हुनु, नछुने सुक्नु आदि भनिन्छ भने अङ्ग्रेजीमा मेनोपज -(Menopause) भनिन्छ । ‘मेनो’को अर्थ रजस्वला हो भने ‘पज’को अर्थ रोकिनु हो । ‘रजोनिवृत्त’को अर्थ रक्तस्राव हुने प्रक्रियाबाट निवृत्त हुनु अर्थात् छुटकारा पाउनु हो । यो चरण ठीक कुन उमेरमा पुगेपछि शुरु हुन्छ, यकिन भन्न सकिन्न । अक्सर ४५ देखि ५५ वर्षको उमेरभित्र रजोनिवृत्त भएको पाइन्छ ।
रजोनिवृत्त हुने बेलामा केही शारीरिक, केही मनोभावनात्मक परिवर्तनको अनुभव प्रत्येक महिलाले गर्दछन् । मुख्यतः रजोनिवृत्तको संघारमा पुगेपछि रजस्वला अनियमित हुन थाल्छ । केही महिना अनियमित भएपछि एकैपटक धेरै रक्तश्राव भई त्यसपछि कहिल्यै पनि नभई सधैँका लागि बन्द भएको पनि पाइन्छ । कसैलाई भने अनियमित हुन थालेपछि रक्तश्राव कम कम हुँदै जाने र बन्दै हुने गरेको पनि बताइन्छ । यी दुवै रजोनिवृत्तका सामान्य र स्वाभाविक प्रक्रिया हुन् ।
स्त्रीरोग विशेषज्ञहरु पछिल्लोपटक रजस्वला भएको एक वर्षसम्म पनि फेरि रजस्वला नभएमा मात्र रजोनिवृत्त भएको मान्दछन् । रजस्वला एक–दुई महिना ढिलो हुँदैमा त्यो रजोनिवृत्ति होइन । रजस्वला बन्द हुँदा पहिला किशोरी छँदा रजस्वला शुरु हुँदाको जस्तै तल्लो पेट, तिघ्रा दुख्ने गरेको अनुभव पनि धेरैले गरेका हुन्छन् भने कतिपयले पीडारहित रजोनिवृत्त पनि प्राप्त गरेका हुन्छन् ।
महिलाको जीवन यो चरणमा प्रवेश गर्न लाग्दा उनको शरीरमा हर्मोन (मुख्य एस्ट्रोजेन र प्रोजेस्टेरोन)को उतारचढावले समग्र स्वास्थ्य, मनोभाव र व्यवहारमा ठूलो प्रभाव पार्दछ । रजोनिवृत्त हुँदा आमरुपमा अनुभव गरिने केही मुख्य लक्षणहरु यस्ता छन्, यद्यपि यी सबैमा लागू नहुन पनि सक्छन्:
-शरीरमा हर्मोन उत्पादन घट्न थालेकोले योनिमार्ग सुख्खा हुनु, त्यसैले सम्भोगक्रिया कष्टप्रद हुनु, यौनक्रियाकलापमा रुचि स्वाट्टै घट्नु ।
-शरीरमा तातो लहर (हट वेभ, हट फ्लस) चलिरहेको महसुस हुनु र पसिना आइरहनु ।
-अनुहारको चमक (ग्लो) घट्नाले अनुहार फुस्रो देखिनु ।
-पटक–पटक पिसाब गर्न मन लाग्नु तर पिसाब खलास नहुनु, पिसाब पोल्नु ।
-निद्रा कम लाग्नु, त्यसैले राति छट्पटी हुनु ।
-स्तनको आकार सानो हुँदै र झोलिँदै जानु ।
-स्वभावमा चिड्चिडेपन आउनु, कुनै कुरामा पनि रमाइलो नलाग्नु, झर्को लाग्नु ।
-कपाल झर्ने, फुल्ने, फुस्रो हुने क्रम बढ्नु ।
-योनिक्षेत्रका रौं खस्रो र फुस्रो हुनु ।
-मनमा अनेकौैं अनावश्यक र नकारात्मक कुराहरु खेलिरहनु ।
-कुनै पनि विषयमा ध्यान केन्द्रित नहुनु, मन एकाग्र नहुनु ।
-स्मरण शक्तिमा ह्रास आउनु, भर्खरकै कुरा पनि हेक्का नरहनु ।
-कुनै नयाँ काम गर्न, भ्रमण गर्न, मानिसहरुसँग भेटघाट गर्न, सभासमारोह वा उत्सवहरुमा सरिक हुन पटक्कै जाँगर नलाग्नु, सधैँ थकाइ लागिरहेको जस्तो हुनु, डिप्रेसनको प्रारम्भिक लक्षणमा जस्तो व्यवहार देखिनु ।
-शरीरको छाला खुकुलो, सुख्खा हुँदै जानु, चाउरी पर्न थाल्नु, जीउ चिलाउनु ।
-हड्डी र मांसपेसी कमजोर हुने क्रम बढ्न थाल्ने भएकोले जीउ र विशेष गरी कम्मर, काँध दुख्ने समस्या हुनु ।
-दृष्टि धमिलो हुँदै जानु, आँखा सुख्खा हुनु ।
-सामान्य हिँड्दा वा भ¥याङ उक्लँदा–ओर्लदा पनि सास फुल्नु ।
-विनाठोस कारण मनमा जीवनप्रति नैराश्यभाव आउनु ।
-एकान्तमा एक्लै बस्न, रुन मन लाग्नु आदि ।
-यस्ता लक्षणहरु कति समयसम्म रहन्छन् भन्ने पनि व्यक्ति विशेषमै भर पर्दछ । सामान्यतया दुई वर्षदेखि बढीमा पाँच वर्षसम्म पनि यस्ता लक्षणले महिलालाई पिरोल्न सक्छन् ।
बुझ्नै पर्ने कुरा
हाम्रो समाजमा यौनबारे वैज्ञानिक ज्ञानको अभावमा रजोनिवृत्तबारे पनि अनेकौं भ्रम व्याप्त छन् । महिलाहरुमै पनि यसबारे पर्याप्त ज्ञानको अभाव पाइन्छ भने पुरुषहरुले त यसलाई आफ्नो पनि सरोकारको विषय हो भन्ने मान्दैनन्, जुन गलत सोच हो । कतिपय मानिसहरुमा सन्तान नजन्माएकी महिलालाई रजोनिवृत्त हुँदैन भन्ने गलत धारणा रहेको पनि पाइन्छ । यो सरासर गलत हो । जसरी हरेक महिलाको रजस्वला हुन्छ, त्यसै गरी रजोनिवृत्त पनि हुन्छ ।
विवाह हुनु वा नहुनु, सन्तान हुनु वा नहुनुसँग यसको सरोकार छैन । कतिपय मानिसहरु रजोनिवृत्त हुनुलाई कुनै रोग लागेको रुपमा बुझ्छन् ।
रजोनिवृत्त हुँदा शरीर केही अस्वस्थ अवश्य हुन्छ तर त्यो कुनै रोग भने होइन ।  पुरुषहरुले प्रत्यक्षरुपमा रजस्वलाको प्रक्रिया भोग्नु नपरेजस्तै रजोनिवृत्त पनि आफैंले भोग्नु त पर्दैन तर परिवारमा आमा, पत्नी वा कुनै महिला सदस्यले यो असजिलो चरण भोगिरहँदा बेवास्ता गरेर बस्नु, कुनै सहयोगको भावना नराख्नु भनेको विवेकहीन हुनु हो ।
कतिपय महिलाहरु रजोनिवृत्तको लक्षण देखा परेपछि अब आफू बूढी हुन लागें, अब छिट्टै मर्छु होला भन्ने सोचले ग्रसित हुन्छन् । यसले रजोनिवृत्तलाई झन् कष्टकर बनाइदिन्छ । रजोनिवृत्त हुनु नै मृत्युको नजिक पुग्नु होइन । त्यसपछि पनि तीसौं वर्ष सामान्य जीवन बाँच्न सकिन्छ । आफू बूढी देखिन थालेको, आकर्षण घट्दै गएको आदि कुरामा अनावश्यक चिन्ता गर्ने प्रवृत्ति कतिपय महिलाहरुमा पाइन्छ । त्यसैले आफ्नो रजोनिवृत्तको चरण चलिरहेको कुरा कसैलाई पनि भन्दैनन्, लुकाउँछन् । यसो गर्नु गलत हो । प्रकृतिको नियमलाई अस्वीकार गर्ने मूर्खता कसैले गर्नुहुँदैन ।
महिलाले आफूमा रजोनिवृत्तको लक्षण देखिन थालेको कुरा सबैभन्दा पहिला आफ्नो पतिलाई खुलस्त बताउनुपर्छ । र, पतिले पनि स्त्रीरोग विशेषज्ञकहाँ जँचाउन लाने, पौष्टिक आहार खुवाउने, कष्टरहित यौनसम्पर्कका लागि आवश्यक व्यवस्था मिलाउने, पत्नीलाई तनावबाट मुक्त राख्न सहयोग गर्ने आदि जिम्मेवारी पूरा गर्नुपर्छ ।
रजोनिवृत्तिका विभिन्न लक्षण भोगिरहेका कतिपय महिलाहरु स्वयंलाई पनि के कारणले आफूमा यस्तो परिवर्तन र असहजता आएको हो भन्ने ज्ञान हुँदैन । त्यसैले उनीहरु बढी आत्तिन्छन् । तर प्रजनन स्वास्थ्यको यौन प्रक्रियाबारे आवश्यक आधारभूत जानकारी भएका महिलाहरुले भने त्यस्तो स्थितिलाई आफैं व्यवस्थापन गर्न सक्छन् । कतिपय मानिस रजोनिवृत्तको विषयलाई पनि औपचारिक शिक्षाको पाठ्यक्रममा राख्नुपर्ने तर्क गर्दछन् । तर त्यो व्यावहारिक हुँदैन ।
स्वास्थ्यबारे जान्नुपर्ने विषय धेरै छन्, सबैलाई पाठ्क्रममै राख्न सम्भव हुँदैन । यसका लागि अनौपचारिक माध्यमबाट पारिवारिक स्वास्थ्य शिक्षाको व्यवस्था गर्न सकिन्छ । स्वअध्ययन, चिन्तन–मनन, ज्ञान, सूचना, आमसञ्चार, परामर्श आदिमा पहुँच भएका आजका महिलाले रजोनिवृत्तका बारेमा पहिलेदेखि नै आधारभूत ज्ञान प्राप्त गरी आफूलाई पूर्वतयारी अवस्थामा राख्नु बुद्धिमानी हुन्छ ।  रजोनिवृत्तको बेला खानामा रुचि हुँदैन । त्यसो भनेर खाना घटाउनुहुँदैन । एकैपटक धेरै नखाई थोरै–थोरै तर पटक–पटक खाने गर्नुपर्दछ । यसरी खाँदा खानामा विविधता हुनुपर्दछ । भात, रोटीजस्ता कार्बोहाइड्रेटयुक्त बोझिला खानाको मात्रा कम गरी सागपात, फलफूल, दूध, दही, माछा, मासु, अण्डा आदिमा जोड दिनुपर्छ ।
आर्थिक अवस्थाले भ्याएसम्म सुख्खा मसला पनि खाने गर्नुपर्दछ । यसमा ठूलो बदाम (आल्मोन्ड), पेस्ता, ओखर, अञ्जिर, छोकडा, किसमिस, काजु आदि विशेष फाइदाजनक हुन्छन् । अनारलगायत फलफूलको रस पिउँदा फाइदा हुन्छ । तर महिलामा अरु स्वास्थ्य समस्या जस्तै– उच्च रक्तचाप, मधुमेह, थाइराइड आदि देखा परिसकेका छन् भने के खाने, के नखानेबारे विशेषज्ञको सल्लाहलाई अनुशरण गर्नु जरुरी हुन्छ ।
बिहान सूर्योदयभन्दा पहिले नै उषाकालमा उठिसक्ने, बिहान हलुका व्यायाम, योग, प्राणायाम, ध्यान, प्रभात भ्रमण आदिको नियमित अभ्यास गर्ने, जुत्ता खोलेर खाली खुट्टा चौरको शीतमा हिँड्ने गर्नु अति नै फाइदाजनक हुन्छ । शीतमा हिँड्दा र हरेक दिन नुहाउँदा साथै बेलाबेलामा कटीस्नान गर्दा शरीर तात्ने वा तातो लहर चल्ने समस्या समाधानमा सघाउ पुग्छ ।
नियमित पाठपूजा, अध्यात्म चिन्तन–मनन, भक्ति संगीत, सुगम संगीत, साहित्य वा आफ्नो रुचिका पुस्तक अध्ययन जीवनको यस चरणमा सबैभन्दा घनिष्ट र गुणकारी साथी साबित हुन्छन् । साथै बगैंचा, करेसाबारी, कौसीखेती, गमला आदिको स्याहारसुसार, सामाजिक क्रियाकलापमा सक्रियता आदि रजोनिवृत्तिका नकारात्मक प्रभाव न्यूनीकरण गर्न निकै प्रभावकारी हुन्छन् । दिउँसो सकेसम्म नसुत्ने, राति भने राम्रोसँग निदाउने गर्नुपर्दछ ।
रजोनिवृत्त र यौनजीवन 
रजोनिवृत्त भएपछिको यौनजीवन एउटा महत्वपूर्ण पक्ष हो । यस चरणमा आइपुग्दा महिलाको मात्र होइन उनको पतिको स्वास्थ्य अवस्थामा समेत उनीहरुको यौनजीवन निर्भर गर्दछ । माथि भनिएझैँ अण्डाशयले अण्ड निर्माण गर्न छोडेपछि महिलामा यौन हर्मोेन्सको पनि अभाव हुनाले योनिमार्ग सुख्खा हुने, योनिभित्रका मांसपेशीको लचकतामा ह्रास, योनिको ल्याबिया मेजोरा र ल्याबिया माइनोरा (भगोष्ठ)को मोटाइ घट्ने, योनिक्षेत्रमा चिलाउने, सङ्क्रमण हुने आदि समस्याले गर्दा यौनचाहना र यौन उत्तेजनामा कमी आउँछ ।
अर्कोतर्फ उनको पति पनि प्रौढावस्थामा पुगिसकेको हुने हुनाले यौनक्षमतामा कमी आएको हुन सक्छ । यस अवस्थाका पुरुषहरुमा प्रोस्टेट ग्रन्थिको वृद्धि, उच्च रक्तचाप, मधुमेह आदि समस्याका कारण लिंगोत्थानमा शिथिलता, शीघ्रपतनजस्ता आमसमस्या हुनाले यौन क्रियाकलाप चाहेजस्तो वा विगतको जस्तो रोचक हुन नसक्ने सम्भावना बढी हुन्छ । पतिको निधन भइसकेको, सम्बन्ध विच्छेद भइसकेको, कानुनीरुपमा सम्बन्ध विच्छेद नभए पनि सम्बन्ध राम्रो नरहेको आदि अप्रिय परिस्थितिमा रजोनिवृत्तमा पुगेका महिलाको यौनलगायत दैनिक जीवन निराशाजनक हुन पुग्छ । यदि यस्तो अप्रिय स्थिति छैन भने शैली परिवर्तन गरेर यौनजीवनलाई आनन्ददायक बनाउन सकिन्छ । मुख्य कुरा रजस्वला बन्द हुँदैमा यौनचाहना पनि पूरै बन्द हुने होइन ।
रजस्वला बन्द भएपछि गर्भधारणको सम्भावना नरहने भएकोले त्यस चरणको यौनलाई अझ स्वतन्त्र र निश्चिन्त बनाउन सकिन्छ । किनकि गर्भधारणको सम्भावना हटाउन अनेकौं गर्भनिरोधक उपाय अपनाउनुपर्ने बाध्यता यस चरणमा पुगेपछि रहँदैन । हर्मोेन्सको उपचार गराएमा यौनजीवनलाई पुनः सक्रिय बनाउन सकिन्छ । योनिमार्गमा हुने सुख्खापनलाई हटाउन विशेष प्रकारको ‘लुब्रिकेटिङ जेल’ प्रयोग गर्न सकिन्छ ।
यौन सन्तुष्टिको अर्थ सम्भोगमात्र होइन, विनासम्भोग पनि यौन सन्तुष्टि लिन सकिन्छ । यसका लागि चुम्बन, स्पर्श, आलिंगन, हस्तमैथुन, मुखमैथुन आदि अनेकौं शैली परापूर्वकालदेखि मानवसमाजमा प्रचलित छन् । तर यौनक्षमतामा आएको शिथिलतालाई हटाउन भनेर भियग्राजस्ता कडा रासायनिक औषधिको प्रयोग गर्नु महिला–पुरुष दुवैका लागि धातक हुन सक्छ । बरु यसका लागि खानपिन, विशेष व्यायाम आदि प्रतिकूल दुष्प्रभाव-Side effect_ नहुने उपायको सहयोग लिनु उपयोगी हुन्छ ।
यो अवस्थाका महिलाहरुमा अलि झट्ट रिसाउने, झर्कने, घुर्की लगाउने, चिड्चिडापन हुने, भनेको नमान्ने, खानपिनमा लापरबाही गर्ने प्रवृत्ति देखा पर्छ । यसलाई परिवारका अरु सदस्यले यो उनको दोष होइन, प्राकृतिक प्रक्रियाको कारण भएको हो भन्ने बुझेर सहयोगी भावना राखी व्यवहार गर्नुपर्छ । ‘नचाहिँदो कुरामा पनि आमा रिसाउनुभयो’ भनेर घरका अन्य सदस्य पनि आमासँग रिसाउन, झर्कोफर्को गर्न थालेमा परिवारको वातावरण बिग्रन्छ ।
प्रायः परिवारमा सासू रजोनिवृत्त चरणमा र बुहारी पूर्ण यौवनमा भएको अवस्था रहन्छ । यस्तोमा  बुहारीप्रति सासूको मनमा केही इष्र्याको भाव आउन सक्छ भने बुहारीमा सासूले आफूलाई ‘नसहेको’ भन्ने धारणा बन्न सक्छ । यस्तो स्थिति पारिवारिक कलहको मुख्य कारण बन्न जान्छ । त्यसैले पहिले नै यस्तो परिस्थितिबारे सजग रहनु जरुरी हुन्छ । अहिले पूर्ण यौवनको मजा लुटिरहेकी बुहारीले पनि आफू पनि एक दिन सासूको अवस्थामा पुग्नुपर्छ भन्ने यथार्थलाई बिर्सनुहुन्न भने सासूले पनि अहिले मेरो होइन बुहारी–छोरीको पालो हो, मेरो पालो सकिइसक्यो भन्ने वास्तविकता बुझेर व्यवहार गर्नुपर्दछ । यसो भएमा रजोनिवृत्त चरण सहज र स्वाभाविक रुपमा बिताउन सकिन्छ ।
जसरी रजस्वलालाई टार्न सकिँदैन, त्यसै गरी 
रजोनिवृत्तलाई पनि टार्न वा सार्न सकिँदैन । यो नितान्त प्राकृतिक प्रक्रिया भएकोले यसलाई त्यही रुपमा स्वीकारेर आफ्नै प्रयासबाट व्यवस्थित गर्नुपर्दछ । रजोनिवृत्त हुनु भनेको प्रत्येक महिना रजस्वला हुनुपर्ने झन्झटबाट र गर्भवती र सुत्केरी हुनुपर्ने कष्टबाट समेत सधैँका लागि मुक्ति पाउनु पनि हो ।
(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।) 

प्रतिक्रिया दिनुहोस्