बाथको गलत उपचार नहोस्



लक्ष्मण अधिकारी

शरीरका हाडजोर्नी कटकट गरेर दुख्न थाले भने उपचारका लागि पहिला तपाईँ कहाँ जानुहुन्छ ? धेरैको उत्तर हुन्छ– हाडजोर्नीको डाक्टर वा नसारोग विशेषज्ञ । त्यहाँ केही समय धाउँदा ठीक भएन र बाथरोग भएको भन्ने बुझेपछि केही बिरामी बाथरोग विशेषज्ञलाई खोज्न थाल्छन् भने केहीचाहिँ पुरिया-ट्याब्लेट बनाएर बेचिने अज्ञात औषधि, जडीबुटी, झारफुकको भर पर्ने, स्यालको रक्सी खाने, खाना बार्ने गरेर आफ्नो रोगलाई भित्रभित्रै बढाउन थाल्छन् । यस्ता बिरामीहरु गल्दै गई पछि गम्भीर अवस्थामा उपचारका लागि सम्बन्धित विज्ञकहाँ पुग्ने गरेको सम्बद्ध चिकित्सकहरु बताउँछन् ।

बाथ भन्नेबित्तिकै धेरैजसोले हाडजोर्नीको दुखाइलाई बुझ्ने गरेका छन् र युरिक एसिड बढ्नुलाई बाथको कारण मान्ने गरेका छन् । युरिक एसिड बढ्नुको मुख्य कारण दही, अण्डा, च्याउ, जाँडरक्सी, तामा, रातो मासु, काउली, पालुंगो, गोलभेँडा, पुरानो अचार आदि खानु हो भनेर बार्ने गरेका छन् । तर बाथरोग विशेषज्ञहरु यो बुझाइलाई पूर्णतः सही नभएको बताउँछन् ।

ग्रान्डी अस्पतालमा कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनयकुमार रेग्मी बाथरोग अनेकौँ किसिमका हुने गरेको र त्यसका कारण पनि धेरै किसिमका हुने गरेको बताउनुहुन्छ ।निओ हेल्थ क्लिनिक टंगालमा समेत कार्यरत डा. विनय रेग्मीसँग बाथरोगका सम्बन्धमा विस्तृत कुराकानी गरी तयार गरिएको आलेख उहाँकै शब्दमा:‘बाथ जुनसुकै उमेरको मानिसलाई पनि हुन सक्छ । बाथको एक प्रकार ‘गाउट’ चाहिँ वृद्ध र बच्चालाई भन्दा अधबैँसेलाई बढी हुन्छ ।

बाथको मुख्य कारण

हाम्रो शरीरमा रोगविरुद्ध लड्नका लागि स्वतः एन्टिबडीहरु बनिरहेका हुन्छन् । शरीरमा हुने रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) मा कुनै कारणले गडबडी भएर वा अरु विभिन्न कारणले गर्दा ती बनेका अटोएन्टिबडी (Autoantibody) ले शरीरलाई नचिनेको अवस्थामा हाम्रो शरीरलाई हानि पु¥याउँछन् ।

त्यसरी हानि पु¥याउँदा कुनैले जोर्नीमा, कुनैले मिर्गौलामा, कुनैले फोक्सोमा, कुनैले आँखामा, कुनैले मुखको ग्रन्थिमा र कुनैले शरीरका अन्य विभिन्न अंगमा हानि पु¥याउन सक्छन् ।

यसरी शरीरको विभिन्न अंगमा हानि गर्न सक्ने भएकोले त्यसै अनुसार लक्षण देखिन्छन् । जस्तो– जोर्नीमा असर हुँदा जोर्नी दुख्ने, फोक्सोमा असर हुँदा फोक्सोमा पानी जम्ने, मुटुको वरिपरि पानी जम्ने, आँखा–मुखमा असर गर्दा सुख्खा भई बिजाउने, थुकै नआउने, दिमागमा असर हुँदा मिर्गी हुनेदेखि अनेकौँ लक्षणहरु बाथरोगमा हुन सक्छन् । बाथमा जोर्नी दुख्ने प्रमुख लक्षण हुन सक्छ, तर जोर्नी दुख्दैमा बाथ हो अन्यथा होइन भन्न मिल्दैन । बाथको मूख्य कारण भनेको रोग–प्रधिरोधात्मक प्रणाली गडबड हुनु हो ।

यस्तो किन हुन्छ ?

कुनै कारणले इम्युन सिस्टममा खराबी आएपछि एन्टिबडी यस्तो बनिदिन्छ कि जसले अरु रोग निम्त्याउँछ । जस्तो– झाडापखाला लाग्दा, टाइफाइड हुँदा यसले हाम्रो शरीरमा एन्टिबडी बन्ने प्रक्रियामा गडबडी ल्याइदिन्छ । पखाला लगाउने किटाणुले हाम्रो जोर्नीमा असर गर्दा पखाला लागेको तीन–चार हप्तापछि जोर्नी दुख्न शुरु हुन्छ । यो एउटा रियाक्टिभ अर्थाराइटिस भन्ने रोग हो । यस्ता किसिमका फ्याक्टरहरु अनगन्ती छन् ।

कतिपय बाथरोगको त कारण नै थाहा छैन । विश्वमा भएका अध्ययनअनुसार कहिलेकाहीँ सूर्यको किरणमा बस्दा (अल्ट्राभ्वाइलेट रेका कारण) बाथकै लुपस भन्ने रोग हुन्छ । त्यस्तै धूलो, धुवाँ, मानिसले खाने चुरोट, बिँडी आदिले पनि बाथरोग बल्झिने हुन्छ । जस्तो– आर्थाइटिस (हड्डी खिइने समस्या) महिलाहरुमा एकदम कमन हुन्छ । धूमपान नगर्नेमा भन्दा धूमपान गर्ने महिलालाई हड्डी खिइने समस्या बढी हुन्छ । यो पनि बाथकै वर्गमा राखिएको छ ।

समग्रमा भन्दा मौसम, अल्ट्राभ्वाइलेट रे,
वंशाणुगत कारण, वातावरण, भाइरस, ब्याक्टेरियाको संक्रमण, फंगल यी सबै बाथरोगका कारक तत्व हुन सक्छन् ।

इम्युन सिस्टम कसरी व्यवस्थित गर्ने ?

इम्युन सिस्टम हाम्रो पूर्ण नियन्त्रणमा छैन । हाम्रो बसमा भनेको हाम्रो आहार–विहार मात्र हो । उठ्ने, सुत्ने, खाने, हिँड्ने आदि । तीबाहेक हाम्रो बसमा छैनन् । यो रोग कतिपय वंशाणुगत कारणले पनि हुन सक्छ, यसलाई टार्न सकिन्न ।

शुद्ध खाने, व्यायाम गर्ने, स्वस्थ रहने प्रयास गर्ने र रोग लागेपछि थप वृद्धि हुन नदिनका लागि बेलैमा उपचार गर्नुपर्छ । शरीरमा कुनै किटाणु छन् भने त्यसलाई समयमै मार्नुपर्छ । पखाला लागेको छ वा टाइफाइड भएको छ भने त्यसलाई निर्मूल पारिहाल्नुपर्छ । यस्ता रोगहरु लाग्दा उपचार गर्न ढिला गरियो भने ती ब्याक्टेरिया, भाइरसले शरीरमा असर गर्छन्, इम्युन सिस्टम खलबल्याउँछन् । साथै नचाहिने बेला एन्टिबायोटिक खाँदा हानि मात्र गर्छ ।

सबैजसो बाथरोगमा एन्टिबडी पैदा भएको हुन्छ । त्यसकारण बाथरोग हो वा होइन भनेर छुट्याउनका लागि पनि एन्टिबडी जाँच गर्ने चलन छ । विभिन्न किसिमका बाथमा लक्षण अनुसारको एन्टिबडी परीक्षण गरिन्छ । जस्तो– रिमोटोइट आर्थाइटिसको आरए फ्याक्टर, लुपसको डीएचडीएनए वा ए एनई पोजिटिभ, भास्कुलाइटिसको आङ्कापाङका भनिन्छ । यी सबै रोगका आ–आफ्ना एन्टिबडी छन् । यी एन्टिबडी र लक्षणका आधारमा हामीले रोग पत्ता लगाउने हो ।

एन्टिबडी कहिलेकाहीँ झुटमुटको पनि बनिदिन्छ । सामान्य मानिसलाई परीक्षण गराउँदा पनि कहिलेकाहीँ एन्टिबडी देखिन सक्छ । तर कोही मानिस धेरै किसिमका रोगहरु लागेको छ र आईसीयुमा नै भर्ना भएको छ भने कुनै एउटा एन्टिबडी मात्र देखिन सक्छ । तर त्यसलाई त्यही रोग लागेको छ भन्न मिल्दैन । एन्टिबडीका साथै क्लिनिकल सिम्टम वा शारीरिक लक्षण मिल्नुपर्छ । आपसमा मिलेको खण्डमा मात्र रोग भन्न सकिन्छ ।

गलत उपचार धेरै

अहिले नेपालमा बाथको गलत उपचार हुने गरेका घटना धेरै पाइने गरेका छन् । जस्तो– १० देखि १५ प्रतिशत स्वस्थ मानिसमा आरए पोजिटिभ (रिमोटोइड आर्थाइटिस) देखिन्छ । जिल्लातिरका अधिकांश डाक्टरले आरए पोजिटिभ देखिनासाथ कुनै क्राइटेरिया नै मिट नगरी टाउको दुखे पनि, घुँडा दुखे पनि, बंगारा जे दुखे पनि बाथको औषधि चलाइदिनुहुन्छ । मकहाँ आउँदा बाथको औषधि चलिसकेको हुन्छ । आरए फ्याक्टर पोजिटिभ छ भने लक्षण पनि मिल्नुपर्छ । राम्ररी नबुझीकन नै बाथको औषधि लेख्नु गलत हो ।

ल्याबको रिपोर्ट हेरेर मात्र औषधि लेख्न हुन्न, लक्षण मिल्नुपर्छ । जस्तो– युरिक एसिड हुने मानिसलाई शुरुमा खुट्टाको बूढीऔँला रातो र तातो भएर दुख्छ । विशेष गरी युवा केटाहरुलाई हुन्छ । केटीहरुलाई नगन्य मात्रामा हुन्छ । जसलाई खुट्टा दुख्छ उसलाई खप्न नसक्ने गरी पीडा भएको हुन्छ ।

सामान्य ढाड दुखेर जँचाउन गएको बिरामीको युरिक एसिड ७ देखिनासाथ बाथको औषधि चलाएको देखिन्छ । क्लिनिकल लक्षण नमिली उपचार गर्नुहुँदैन । ल्याब रिपोर्ट मात्र हेरेर उपचार गर्नुहुन्न । ‘डु नट ट्रिट रिपोर्ट, ट्रिट योर प्यासेन्ट’ अर्थात् ‘रिपोर्टलाई होइन बिरामीलाई उपचार गर’ भन्छ । यो कुरालाई हामीले अवलम्बन ग¥यौँ भने बिरामीको सही उपचार हुन्छ । नेपालमा मैले देखेअनुसार अहिले रिपोर्टको नै धेरै उपचार हुन्छ ।

मैले बुझेसम्म ९८ प्रतिशत युरिक एसिडको गलत उपचार भइरहेको छ । महिनावारी हुने महिलालाई युरिक एसिड हुन्न भने पनि हुन्छ । बाथरोग उपचारमा दुई दशकभन्दा बढी बिताउँदा पनि मैले महिनावारी हुने महिलालाई युरिक एसिड भएको एकजना पनि भेटेको छैन । महिनावारी रोकिएका महिलामा भने एक–दुईजनालाई भएको पाइएको छ । युरिक एसिड अलिकता बढ्दैमा रोग भएको भनेर औषधि दिनु गलत हो । युरिक एसिड सबैको रगतमा हुन्छ । यो शरीरलाई चाहिन्छ पनि । यसबाट हुने रोगलाई गाउट(Gout) भनिन्छ ।

युरिक एसिड धेरै हुँदैमा जोर्नी दुख्ने र कम हुँदैमा नदुख्ने होइन । युरिक एसिड बढ्ने कारणमा मिर्गौला बिग्रेर, क्यान्सर उपचार गर्दा, विभिन्न औषधि जस्तो– पिसाब गराउने, क्षयरोगको रगत पातलो गराउने औषधि आदि पनि हुन् । गाउट (Gout) हुने बिरामीले मिर्गौला, कोलेस्ट्रोल, पिसाब परीक्षण, अल्ट्रासाउन्ड गराउनुपर्छ । किनकि युरिक एसिडले गर्दा पत्थरी पनि हुन्छ ।

प्रमुख बाथहरु

हाडजोर्नीको बाथ: धेरै किसिमका बाथहरुमध्ये हाडजोर्नीको बाथ बढी देखिने गरेको छ । हाडजोर्नीको बाथलाई गठिया वा रिमोटोइड आर्थाइटिस भनेर पनि चिनिन्छ । यो बाथ सर्वप्रथम हातका साना जोर्नी दुखेर शुरु हुन्छ । बिहान उठ्दा अररो हुने, मुठी पार्दा अप्ठेरो हुने र पछि खुट्टाको जोर्नी पनि दुख्ने हुन्छ ।

अलि पछि गएर ठूला जोर्नीहरु, खुट्टाका जोर्नीहरु पनि दुख्न थाल्छन् । बिहान उठ्दा कक्रक्क हुन्छ । हड्डी खिइएकालाई पनि कक्रक्क हुन्छ । त्योचाहिँ बाथ होइन ।यस्ता लक्षण छन् र जोर्नी सुन्निएको पनि छ भने गठिया बाथको जाँच गर्नुपर्छ । यसमा प्रायः आरए फ्याक्टर जाँच गरेर हेरिन्छ । हातको एक्सरे गर्न सकिन्छ ।

अरु सबै लक्षण मिले पनि एन्टिबडी परीक्षण गर्दा पोजिटिभ आएन भने त्यस्तोलाई सेरो नेगेटिभ अर्थात् बाथ त हो तर अझै एन्टिबडी बनिनसकेको तर पछि बन्न सक्ने सम्भावनाको आधारमा बाथरोग विशेषज्ञले उपचार गर्छन् । गठिया बाथ महिलालाई बढी हुन्छ । ढाडको बाथ पुरुषलाई धेरै हुन्छ ।

लुपस बाथ: अविवाहित युवती तथा बच्चा पाउने उमेरका केटीहरुलाई बढी हुन्छ । पुरुषलाई नगण्य मात्रामा हुन्छ । यसका लक्षण जोर्नी दुख्ने, लामो समय ज्वरो आउने, घाममा जाँदा मुखमा डाबर आउने हुन्छ । जोर्नीहरु दुख्ने, औँलाहरु नीलो हुने, स्वतः गर्भपतन हुन सक्ने हुन्छ । वास्तवमा यो बाथले कपालका रौँदेखि खुट्टाका नङसम्म असर गर्छ ।

टेम्पोरेल आर्टेराइटिसः यो बाथ ५० वर्ष काटेका मानिसलाई हुन्छ । यसमा अत्यधिक टाउको दुख्ने हुन्छ । छाम्दा पनि बलक–बलक हुन्छ । अल्ट्रासाउन्ड, टाउकाको डप्लर गरेर यसको निदान गरिन्छ ।

टाकायासु आर्टेराइटिस: यो बाथ ५० वर्षभन्दा कमकालाई हुन्छ । यसमा पल्स हेर्दा पल्स नै हुँदैन । ब्लडप्रेसर नै फिल हुँदैन । कतिपय सिस्टरहरु ‘डा. साब यसको त पल्स नै छामिदैन’ भन्दै आउनुहुन्छ । परीक्षण गरेर हेर्दा टाकायासु आर्टेराइटिस भएको देखिन्छ । अत्यधिक टाउको दुख्ने, चपाउँदाचपाउँदै गिजाहरु कमजोर भई चपाउनै नसक्ने भएर आउने हुन्छ ।

भास्कुलाइटिस (vacsulaaitis) : यो बाथले रक्तनलीहरुलाई साँघुरो बनाइदिन्छ । रगतै पास हुन दिँदैन, अनि पूरै औँला कालो भएर काट्नुपर्ने हुन्छ । रगत पास नभएर यसो भएको हो । हिजोसम्म ठीक भएको मानिस आज औँलाहरु नीलो–कालो भएर
काट्नुपर्ने हुन्छ ।

मायो साइटिस: मांसपेशी कमजोर हुने यो एउटा अचम्मको बाथ हो । यसमा कुर्सीबाट उठ्नै नसक्ने समस्या हुन्छ । कतिपय ठाउँमा भिटामिन ‘डी’को कमी भनेर उपचार भइरहेको हुन्छ । हामीकहाँ आउनुहुने कतिपय बिरामी कुर्सीबाट उठ्नै सक्नुहुन्न । त्यो भनेको मांसपेशी एकदम दुख्नु हो । पाखुराको मांसपेशी, तिघ्राको मांसपेशी दुखेपछि सानोतिनो सामान पनि उठाउन सक्तैन, हातले छोडिहाल्छ । उठ्न–बस्न पनि कठिन हुन्छ । यसलाई राम्ररी उपचार गर्दा निको हुन्छ ।

लक्षण तथा उपचार

बाथका अनेकौँ लक्षण र रुप छन् । यो बाथ हो या होइन भनेर छुट्याउन कठिन हुन्छ । त्यसकारण बाथरोग विशेषज्ञ (¥युमाटोलोजिस्ट) कहाँ जानुपर्छ भनिएको हो । सामान्यतया हाडजोर्नी दुखेपछि मानिस हड्डीको डाक्टरकहाँ जान्छन् । बाथ भएको अवस्थामा त्यहाँ रोगको उचित निदान भएको हुँदैन । उहाँहरुलाई बाथको दीर्घकालीन उपचार पनि थाहा हुँदैन । पेनकिलर दिएर तत्कालीन समस्याको समाधान गरिदिनुहुन्छ ।चोट लागेर सुन्निएको भए हड्डीको डाक्टरकहाँ जानु ठीकै हो, तर

विनाकारण जोर्नीहरु दुखेको छ, सुन्निएको छ भने बाथरोग विशेषज्ञकहाँ एकपटक जानु नै उपयोगी हुन्छ । बाथले थुक ग्रन्थिमा असर गरेर मुख सुख्खा भई थुकै नआउने पनि हुन्छ । तर मुख सुख्खा हुनु सबै बाथ हुँदैन । त्यस्तै आँखा सुख्खा हुने, बालुवा पसेजस्तो बिजाउने हुँदा पनि बाथको शंका गरिन्छ । कुनै एउटा निश्चित लक्षणभन्दा पनि विभिन्न किसिमका लक्षण देखिएमा बाथको आशंका गर्नुपर्छ ।

बिरामीलाई प्रायः आफूलाई बाथ भएको थाहा हुँदैन । इमिनोलोजिकल समस्यामा रोग लामो समय निको नभएको हुन्छ । यस्तोमा डाक्टरकहाँ गएका बिरामीलाई बाथरोग विशेषज्ञकहाँ रिफर गरेर पठाउनुपर्छ । अनुमानका भरमा उपचार गर्नुहुँदैन । किनकि बाथ हो भन्ने डायग्नोसिस नभएर बिरामीले धेरै दुःख पाएका हुन्छन् । सही उपचार पाएमा कतिपय बाथरोग निको हुन्छन् । जस्तो– बाथका कारण बारम्बार गर्भ तुहिने भएको छ भने उपचार गरेपछि गर्भ बस्छ ।

त्यस्तै गरी स्थानीय अस्पतालमा उपचार गराएका र भिटामिन ‘डी’ खान सिफारिस गरिएका बिरामी पछि बाथले थला परी हामीकहाँ ह्वील चेयरमा आएका हुन्छन् । हामीले मायोसाइटिस (बाथ) भनेर पत्ता लगाई उपचार गरेपछि निको भएर पनि जान्छन् । खाना निल्ने नली मांसपेशी हो । यो कमजोर हुँदै गएपछि खानेकुरा निलिँदैन । मुटु पनि मांसपेशी नै हो, यो कमजोर भए काम गर्दैन । यी कुरालाई बेवास्ता गर्दा ज्यान जान सक्छ ।

कुनै–कुनै बाथ राम्ररी नै निको हुन्छ भने कुनैचाहिँ पूरा निको नहुने उपचार गरेर नियन्त्रणमा राख्नुपर्ने खालको हुन्छ । यस्तोमा शुरुमा बढी डोजको औषधि चलाउने र नियन्त्रणमा आएपछि कम डोजमा औषधि चलाउँदा हुन्छ । यसरी औषधि खाँदा पछि मिर्गौला, फोक्सो बिग्रिँदैन, स्वस्थ भएर लामो समय बाँच्न पाइन्छ । नेपालमा लामो समय औषधि खानुपर्दा झर्को मानेर बीचैमा छोड्ने गरिन्छ । तर रोग बल्झेर अन्य अंगमा असर गरेपछि महँगो उपचारमा परिन्छ । विज्ञको परामर्शमा मात्र औषधि छोड्नुपर्छ ।

जाडो महिनामा पानीमा चल्दा हातखुट्टा नीलो हुन्छ, जोर्नी दुख्छ, सुन्निन्छ, फोक्सोमा पानी भरिएको छ, एक महिनासम्म ज्वरो निको भएन, मुख–आँखा सुख्खा हुने गरेको छ, कपाल झर्ने गरेको छ, सेतो रक्तकण कमी भयो, प्लेटलेट कम भयो, हेमोग्लोबिन कम भयो भने पनि बाथरोगको लक्षण हुन सक्छ ।

आइरन खाइरहँदा पनि रगतमा किन सुधार भएन भनेर बाथरोग विशेषज्ञकहाँ जानु उचित हुन्छ । ढाडको बाथ युवाहरुलाई बढी हुन्छ । बूढाबूढीलाई काम गर्दा ढाड दुख्ने हुन्छ, सुत्दा–बस्दा आराम हुन्छ । तर बाथ भएका युवाहरुलाई सुतेको बेला, धेरैबेर बस्दा ढाड दुख्छ । बिहान उठ्दा कक्रक्क हुन्छ । एकछिन् हिँडेपछि ठीक हुन्छ । यो बाथ तल्लो ढाडको एमआरई गरेर निदान गर्न सकिन्छ ।

गाउट, गठिया बाथलगायतमा खुट्टामा गाँठा (टोफाइ) निस्किने हुन्छ । यसलाई फोर्दा सेतो पदार्थ निस्कन्छ । औषधि राम्रोसँग नगरेर पुरानो भएको बाथमा यस्तो समस्या आउँछ । राम्रोसँग उपचार गरेमा यस्तो समस्या नआउन सक्छ । कसैलाई लुपस भएर राम्ररी उपचार नगर्दा मिर्गौला बिग्रिसकेको हुन्छ । कतिपय ढाड र घुँडाको बाथ भएकाहरु हिप र घुँडा खिएर प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा आउनुहुन्छ । पहिले नै राम्ररी बाथको उपचार गरेको भए फेर्नुपर्ने स्थिति आउने थिएन ।

खानपान र जीवनशैली

बाथरोगका लागि मात्र भनेर जीवनशैली परिवर्तनको त्यति ठूलो महत्व छैन । समग्र स्वास्थ्यमा जस्तै ध्यान पु¥याए पनि पुग्छ । जस्तो– रक्सी, चुरोटजस्ता अम्मल नखाने, स्वस्थ र सन्तुलित आहार खाने, व्यायाम गर्ने गर्नुपर्छ । कुनै–कुनै खानपानले ट्रिगरको काम गरेर २० प्रतिशत जतिको बाथरोग अलि बढाउन सक्छ ।

खानपानको कारणले युरिक एसिड हुने होइन, तर कुनै खानाले बढ्नलाई सहयोग गर्न सक्छ ।युरिक एसिड वंशाणुगत रोग भएकाले त्यस्तालाई यो बढी हुन सक्छ । किड्नीका बिरामी, क्यान्सरका बिरामीलाई पनि हुन सक्छ । युरिक एसिड बढेर हुने गाउटलाई अल्कोहल (बियर) सी फुड, वेभरेज (कोक, फ्यान्टा, पेप्सी आदि), पुरानो अचार, तामा आदिले बढावा दिन सक्छ । रातो मासु अलि–अलि खान सकिन्छ ।लुपस बाथ भएकाले पूरा बाहुला भएको लुगा लगाउने, सन क्रिम प्रयोग गर्ने गर्नुपर्छ । बाथमा सबैभन्दा राम्रो भनेको रोग छिटो निदान गर्नु र उपचार गर्नु नै हो ।’

सही उपचार भएमा धेरैजसो बाथरोग निको हुन्छ र पूर्ण निको नभए पनि नियन्त्रणमा ल्याएर थप जटिलता आउनबाट बच्न सकिन्छ । तर यसको उपचारमा लापरबाही गरेमा यसले गम्भीर खालका परिणामहरु दिने भएकाले समयमै बाथरोग विशेषज्ञसँग सम्पर्क गरेर उपचार गराउनुपर्छ । बाथरोग विशेषज्ञले दिएका औषधिहरु डाक्टरको परामर्शमा मात्र परिवर्तन गर्नुपर्छ । अरु चिनेजानेका ब्यक्तिहरुले सुझाएका आधारमा औषधि परिवर्तन गर्दा ठूलो समस्या ब्यहोर्नुपर्ने पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्