एन आईसी एशिया बैङ्कबाट जगदम्बाको १३ लाख बढी रकम गायब

0
Shares

भद्रपुर । 

एन आईसी एशिया बैङ्क चन्द्रगढी शाखाबाट जगदम्बा टी प्रोसेसिङ प्रालिको खातामा रहेको १३ लाख भन्दा बढी रकम गायब भएको छ। जगदम्बा टी प्रोसेसिङ प्रालि भद्रपुर ६ को नाममा रहेको सो बैंङ्कको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट २०८० असार ५ गतेबाट असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ८ सय रुपैयाँ गायब भएको हो।

 टी प्रोसेसिङको नाममा रहेको खाताबाट डिजिटल माध्यम प्रयोग गरेर अनधिकृत रूपमा रकम झिकेको देखिएको चिया प्रोसेसिङ प्रालिका सञ्चालक भक्तिप्रसाद अधिकारीले बताउनुभयो । खातामा जम्मा रहेको रकम सुरक्षा गर्ने बैङ्कबाट नै गायब हुन्छ भने बैङ्कमा राख्दा सुरक्षित हुन्छ भन्ने नै मिथ्या लागेको उहाँले बताउनुभयो ।सुरक्षाका लागि बैङ्क खातामा राखिएको रकम गायब भएको प्रति आपत्ति प्रकट गर्दै उहाँले घटनाको अनुसन्धान तहकिकातका लागि साइवर क्राइम अपराध अन्तर्गत छानबिन गर्न झापा प्रहरी मार्फत सिआइविमा उजुरी गरेको जानकारी दिनुभयो।

अपराध गर्ने समूहलाई तहकिकात गर्ने वा कारबाही गर्ने पाटो एउटा भए पनि सुरक्षाका लागि बैङ्कमा रहेको रकम गायब भएको विषयको जबाफदेही र जिम्मेवारी बैङ्कले लिनुपर्ने उहाँको धारणा छ।

बैङ्कको त्यस्तो खातामा न्यूनतम १० हजार हुनुपर्नेमा सो रकम समेत झिकेर केवल खातामा ८ सय ६० रुपैयाँ १८ पैसामात्र बचत देखिएको छ । यसले पनि बैङ्क सुरक्षित हुन्छ भन्ने विश्वास गुमेको उहाँले बताउनुभयो । यसो हुनुमा बैङ्क कर्मचारी र कमजोर बैङ्क प्रविधिलाई दोषी देखेको उहाँले जनाउनुभयो।

बैङ्कबाट लगभग हप्ता दिनको अन्तरालमा पटक पटक गरेर बढीमा ५० हजार र घटीमा एकसय गरी ३० पटकसम्मको प्रयासमा सो रकम झिकेको बैङ्क स्टेटमेन्टबाट देखिएको प्रोसेसिङ प्रालिका लेखा कर्मचारी कमल निरौलाले जानकारी दिनुभयो। सामान्यतया एक पटक रकम झिके पछि एकदेखि डेढ मिनेटमा मात्रै अर्को ओ टि पि नम्बर आउने भए पनि धेरैजसो ३५ सेकेन्डकै अन्तरमा विभिन्न कम्पनीका नाममा रकम ट्रान्सफर गरेर रकम झिकेको भेटिएको उहाँले जनाउनुभयो ।

रकम झिक्दा मोबाइल बैङ्किङ मार्फत म्यासेज आउने गरे पनि यो रकम झिक्दा कम्पनीको आधिकारिक मोबाइलमा कुनै म्यासेज वा सूचना नआएको र एकै पटक हप्ता दिनमा रकम चेक गर्दा मात्रै खाताबाट रकम गायब भएको थाहा पाएको  उहाँले बताउनुभयो ।