मदन भण्डारीको ७२औँ जन्मजयन्ती : काभ्रेमा चौतारीको पदयात्रा-वृक्षारोपण, अनेरास्ववियुको रक्तदान र निबन्ध प्रतियोगिता

0
Shares

काभ्रे।

जननेता मदन भण्डारीको ७२ औ जन्म जयन्तीको अवसर पारेर काभ्रेमा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रेस चौतारी नेपालले वृक्षारोपण, पदयात्रा तथा कविता वाचन गरेको छ भने अनेरास्ववियुले खुल्ला रक्तदान आयोजना गरेको छ ।

बनेपाको चण्डेश्वरीदेखि गोसाईस्थानसम्म निर्माण गरिएको १ हजार ६ सय सिँढीमा पदयात्रा आयोजना गरिएको अध्यक्ष भुवन रायमाझीले बताउनुभयो । ‘मदन जयन्तीका अवसरमा पदयात्रा, कविता वाचन र वृक्षारोपण आयोजना गरिएको छ’–अध्यक्ष रायमाझीले भन्नुभयो–‘मदनका विचार र सन्देशहरु आम नागरिकहरुका लागि प्रवाह गर्न जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको हो ।’

पदयात्रा र वृक्षारोपण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटा लगायतका नेताहरु सहभागी थिए । कार्यक्रममा बोल्दै नेता बास्कोटाले नेपालको राजनीति, कम्युनिस्ट आन्दोलन र नागरिकहरुसँग राजनीतिक दल र नेताहरुको सम्बन्धका बारेमा मदन भण्डारीले दिनु भएका सन्देशहरु महत्त्वपूर्ण भएको बताउँदै तिनै सन्देश र मदन भण्डारीले उत्पादन गर्नु भएको जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी पार्टी कमिटीहरु परिचालन गरिएको बताउनुभयो ।

कार्यक्रममा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उपसचिवद्वय राजकुमार सापकोटा र रीता ढकाल, एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु, एमाले निकट भातृ संगठनका पदाधिकारीहरु, प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको थियो ।

बनेपामा रहेको नैमिशारन्य परिसरमा विभिन्न जातका विरुवाहरुको रोपण गरिएको थियो भने नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, पत्रकार सुकदेव थपलिया लगायतले कविता वाचन गरेका थिए ।

अनेरास्ववियुले गर्‍यो  खुल्ला रक्तदान र निबन्ध प्रतियोगिता

अनेरास्ववियु काभ्रेले मदन जयन्तीको अवसर पारेर बनेपाको चारदोबाटोमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ३५ जनाले खुल्ला रक्तदानमा सहभागिता जनाएको अध्यक्ष मिलन गौतमले जानकारी दिनुभयो ।

रेडक्रस काभ्रेको प्राविधिक सहयोगमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा युवा, विद्यार्थी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले रक्तदान गरेका थिए । एमाले काभ्रेका सचिव राजन भुर्तेल लगायतले रक्तदान गरेको अध्यक्ष गौतमले बताउनु भयो ।

त्यस्तै मदन जयन्तीको अवसरमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता तथा वृक्षारोपण कार्यक्रम केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता र एमाले काभ्रे जिल्ला कमिटी सचिव राजन भुर्तेलको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

अनेरास्ववियु केन्द्रीय सचिव सुजन कडरिया, अनेरास्ववियु वाग्मती प्रदेश कमिटी अध्यक्ष शालिकराम पराजुली, केन्द्रीय सदस्य सुमन जैरु लगायतको सहभागितामा सम्पन्न भएको जिल्ला अध्यक्ष मिलन गौतमले जानकारी दिनुभयो ।

निबन्ध प्रतियोगितामा  पूर्ण सञ्जिवि लङ्खनामाईकी मन्जिता तामाङ प्रथम भईन भने गणेश माध्यमिक विद्यालयकी स्नेहा लुइँटेल दोस्रो भइन् । जनक माविका श्रीखण्ड खनाल तेस्रो र कालीदेवी माविका मणिराम न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई दश हजार, दोस्रोलाई ५ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना पुरस्कार १ हजार सहित प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

पाँचखालको सर्वमंगला क्याम्पसमा आयोजित उक्त कार्यक्रममा निर्णायकको भूमिकामा शिक्षकहरु रामचन्द्र भट्टराई, हरिप्रसाद तिमल्सिना, विमला पोखरेल, निरा भट्टराई रहनु भएको थियो ।

सामुदायिक विद्यालयको सक्षमता, समस्या र समाधान विषक जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।