मनसुन शुरू भएको दुई हप्तामा २९ को मृत्यु २३५ घट्ना, २८ जान अझै बेपत्ता

चट्याङबाटै मारिए १० जना

0
Shares

काठमाडौं । मनसुन शुरू भएपछि आएको बाढी पहिरो, चट्याङ र हुरी बतासमा परी २९ जनाको मृत्यु भएको छ । मनसुन शुरू भएको दुई हप्तामै मुलुकका ४० जिल्ला प्रभावित भएका छन् । यस वर्षको मनसुन जेठ ३१ बाट शुरू भएको थियो । मनसुन शुरू भएको १४ दिनमा २९ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन शुरू भएयता बाढीपहिरोका २ सय ३५ वटा घटना घटेको र सो घटनाबाट २९ जनाको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार २ सय ३५ घटनाबाट देशका विभिन्न भागमा १२ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सो क्रममा २८ जना मानिस बेपत्ता छन् भने २५ जना घाइते भएका थिए । त्यसै गरी २ सय ४२ पशुचौपाया मारिएका छन् । प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काका अनुसार मनसुनबाट ७७ मध्ये हालसम्म ४० वटा जिल्ला बढी प्रभावित भएका छन् ।

बढी प्रभावित हुने र क्षति भएका जिल्लाहरूमा संखुवासभा, ताप्लेजुङ र पाँचथर रहेका छन् । ती जिल्लामा ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या अत्यधिक रहेको प्राधिकरणले जनाएको छ । बाढी÷पहिरोका धेरै घटना पाँचथरमा भएको छ । सो जिल्लामा मात्रै ३४ वटा बाढी पहिरोका घटना भएकोमा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् । २५ वटा बाढी÷पहिरोका घटना भएको संखुवासभामा भने दुई जनाको मृत्यु भयो भने २८ जना बेपत्ता छन् ।

यो अवधिमा ताप्लेजुङमा ३१ वटा बाढीपहिरोका घटना भएका छन् । जसमा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । बाढी÷पहिरोमा परी ओखलढुङ्गामा ४, संखुवासभा २, भोजपुरमा १, नुवाकोटमा १, गोरखामा १, तनहुँमा दुई, प्युठानमा १ र जुम्लामा १ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काका अनुसार बाढी÷पहिरोमा परेर ५ सय ४० घरपरिवार प्रभावित भएका छन् । जसमध्ये ४३ घर पूर्ण क्षति भएको छ भने १४ घरमा आंशिक क्षति भएको छ । खड्काका अनुसार यो अवधिमा अनुमानित ६ करोड ९४ लाख १० हजार रुपियाँ बराबरको क्षति भएको छ ।

मनसुन सुरु भएयता ३२ जिल्लामा ४४ वटा चट्याङका घटनामा परेर मात्रै १० जनाले ज्यान गुमाएका छन् । मानिसको मृत्यु नै हुने गरी मकवानपुर, तनहुँ, कास्की, बाग्लुङ, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, कास्की र दाङमा चट्याङ परेको हो ।