ललितपुर महानगरको बजेट पारित गर्न मेयरलाई सकस पर्ने

आफ्नै व्यवहारका कारण मेयर चिरीबाबु समस्यामा



Chiribababu Maharjan Mayer of Lalitpur Metropolitan City. POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको व्यवहारका कारण आगामी आर्थिक वर्षको बजेट पारित गर्न मेयर चिरीबाबुलाई समस्या पर्ने देखिएको छ । मेयरको व्यवहारबाट रुष्ट वडा अध्यक्षहरूले उहाँलाई समस्या पार्ने देखिएको छ ।

एक साताअघि नगरप्रहरी प्रमुख सीताराम हाछेथुको अधिकार क्षेत्रबारे विवाद भएपछि मेयर चिरीबाबुले आफ्नै पार्टीका वडा अध्यक्ष एवं प्रवक्ता राजु महर्जनलाई हकार्नुभएको थियो । प्रहरी प्रमुख हाछेथुले मेयरको आदेश भन्दै अन्य वडाअध्यक्षलाई जानकारी नदिएर अधिकांश वडामा हस्तक्षेप गरेपछि समस्याले जटिल रूप लिएको थियो ।

यही कारणले मेयर चिरीबाबुलाई बजेट पारित गर्न सहज नहुने जिकिर गर्दै एक कार्यपालिका सदस्यले नेपाल समाचारपत्रसँग भने–‘यस पटक बजेट सहजै पारित हुन्न ।’ ललितपुरका एक वडा अध्यक्षले मेयरप्रति आक्रोश व्यक्त गर्दै भने– ‘हामीभन्दा मेयर साबको नजिकको व्यक्ति नगरप्रहरी भनिएका हुनुहँुदोरहेछ । हाम्रो सहमतिमा बजेट पास गर्नुपर्ने अनि हामीभन्दा उहाँ प्यारो हुने ?’

यसअघि आगामी वर्षको बजेट पेस गर्दा मानभवनको क्रिस्टल पार्टी प्यालेसमा मेयरको निर्देशनमा सबै परिषद्का सदस्यलाई बाहिर आउन नदिएको टिप्पणी गर्दै एक सदस्यले भने– ‘त्यसबेला सिताराम हाछेथुलाई मुलगेटमा राखेर बन्दी बनाउनुभयो, बजेट पास गर्दा के गर्ने हो भन्न सकिदैन ।’

मेयर अधिकांश वडा अध्यक्षलाई तल्लो स्तरको व्यवहार गर्ने गरेको जिकिर गर्दै एक कार्यपालिका सदस्यले भने– ‘मेयर महर्जनले पार्टीका कुनै पनि नेता र कार्यकर्ताको कुरा सुन्नै चाहनुहुन्न, आफ्नो निर्णयलाई ढुंगाको अक्षर झंै गर्ने गर्नुभएको छ ।’

नेपाली कांग्रेस, एकीकृत सामजवादी, माओवादी केन्द्र र स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्षले मेयर महर्जनको कार्यशैलीको विरोध गरिरहेका छन् । एकलौटी पेलेर बजेट पारित गर्ने र आफ्नै पार्टीका नेता र कार्यकर्ता खुसी पार्न नसक्ने मेयर चिरीबाबुको स्वभावका कारण हरेक आर्थिक वर्षमा बजेट पास गर्ने विषयमा विवाद देखिँदै आएको छ ।

बजेट समितिका प्रमुख उपमेयर मञ्जली शाक्यसँग नजिक रहेर बजेट पास गर्ने रणनीति बोकेका मेयर चिरीबाबु एमालेका वडा अध्यक्षको सहयोगमा बजेट पारित गर्ने तयारीमा हुनुहुन्छ । ‘कहिल्यै एमालेको साथ नखोज्ने मेयर महर्जनले उपमेयरको सहयोगका एमालेका वडा अध्यक्षलाई मनाएर बजेट पास गर्ने तयारी गरिरहनुभएको छ’–एक सदस्यले भने ।

आगामी आबको बजेट ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपियाँ रहेको ललितपुर महानगरको बजेट कुन शीर्षकमा कति विनियोजन गर्ने भन्ने विषयमा अन्योल बढेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले केही दिनपछि बैठक बसेर बजेट पारित गर्ने तयारी गरेको जानकारी दिँदै भन्नुभयो–‘असार १९ र २१ गते गहन छलफल गर्नेछौ, त्यसपछि २६ गते बस्ने अन्तिम बैठकमा बजेट पास हुनेछ ।’

आगामी वर्षको बजेट यो महिनाको अन्तिम समयसम्म पारित नभए बजेटको कारण महानगरको सबै काम ठप्प हुनेछ । प्रमुख प्रशासकीय अधिकृत अर्यालले त्यस्तो अवस्था नआउने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्