गोलरक्षक भिकारियो टोटनहममा अनुबन्धित

0
Shares

लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्धित गरेको छ ।

टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट पांच वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । २६ वर्षीय भिकारियोले एम्पोलीमा दुई सिजन बिताउँदा गत सिजन सानदार प्रदर्शन गरेपछि उनी इटालीको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । टोटेनहमका कप्तान तथा पहिलो रोजाईका फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसको क्लबमा सम्झौता अझै एक वर्ष बाँकी छ । अब उनले लोरिससँगै फ्रेजर फोस्टरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उत्तरी लन्डन क्लबले भिकारियोलाई कमाण्डिङ गोलकिपर भनेर वर्णन गरेको छ ।

उडिनेसबाट व्यवसायिक खेल करिअर शुरु गरेका भिकारियोले क्याग्लियारी, पेरुगिया र भेनेजियाबाट खेलिसकेका छन् । उनी २०२१ मा एम्पोली पुगेका थिए । गत सिजन रेलिगेसन जोनमा संघर्ष गरिरहेको एम्पोलीलाई रेलिगेसनबाट बचाउन उनै गोलरक्षक भिकारियोले सानदार प्रदर्शन गरेका थिए । गत सिजन भिकारियोले ३१ लिग खेलमा ३९ गोल बेहोर्दा खेलमा क्लिन सिट राख्न सफल भएका थिए । एम्पोली रेलिगेसन जोनभन्दा १२ अंकको दुरीमा अघि रह्यो । गत सेप्टेम्वरदेखि इटालीको टोलीमा रहेका उनले डेब्युको अवसर पाएका छैनन् ।

कोभासिस सिटीमा

इंग्लिश प्रिमियर लिग र यूईएफए च्याम्पियन्स लिगको विजेता म्यानचेस्टर सिटीले २९ वर्षीय क्रोएसियन फुटबलर माटियो कोभासिसलाई अनुबन्ध गरेको छ । सिटीले अर्को इंग्लिस क्लब चेल्सीबाट कोभासिसलाई चार वर्षको लागि आफ्नो टिममा अनुबन्धित गरेको हो । सिटीले प्रारम्भिक २५ मिलियन पाउण्डमा उनलाई अनुबन्ध गरेको हो । जसमध्ये एड अनमा ५ मिलियन पाउन्ड रहेको छ । यससँगै उनी सन् २०२७ सम्म इतिहाद स्टेडियममा रहनेछन् ।

गत सिजन ट्रेबल उपाधि च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेपछि कोभासिच यो समरमा सिटीको पहिलो अनुबन्धन हो । जर्मन मिडफिल्डर इल्काए गुन्डोगन फ्रि ट्रान्सफरमा स्पेनिस च्याम्पियन बार्सिलोना गएपछि सिटीले उनको स्थानमा कोभासिसलाई अनुबन्ध गरेको बताइएको छ । सिटीले मिडफिल्डर डेक्लान राइसको लागि ९० मिलियन पाउन्ड खर्चन तयार रहेपनि प्रस्ताव अस्वीकार भएपछि सिटीले कोभासिसलाई अनुबन्ध गरेको हो ।

कोभासिस अगस्ट २०१८ मा स्पेनिस क्लब रियल मेड्रिडबाट लोनमा चेल्सीमा आएका थिए । त्यही सिजन नै उनले चेल्सीका पाँच वर्षको सम्झौता गरेका थिए । कोभासिसले गत सिजन चेल्सीका लागि ३७ म्याच खेलेका छन् । चेल्सीले २०२१ मा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका सदस्य थिए । जसबेला चेल्सीले सिटीलाई १–० ले पराजित गरेको थियो । कोभासिसले क्रोएसियाका लागि ९५ क्याप जितेका छन् । उनी फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाको टोलीमा थिए । क्रोएसिया विश्वकपमा तेस्रो भएको थियो ।