सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न



????????????????????????????????????

काठमाडाैं । 

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न  भएकाे छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं.१५ (क)(ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह बुधबार  प्रशिक्षण प्रतिष्ठानमा संयुक्त रुपमा समापन भएको हाे ।

समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा दिक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उन समक्ष ईज्जत अर्पण कवाज समेत प्रदर्शन गरिएको थियो । महानिरीक्षक अर्यालले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक किरण सिंजाली र नवराज शाहीलाई खुकुरी प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे।

 

 

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले तालिम सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई बधाई दिँदै तालिममा सिकाइएका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा खटिदा ईमान्दार, कर्तव्यनिष्ठ र लगनशिल भई लाग्नुपर्ने बताए ।

देश र नागरिकको सेवा र सुरक्षामा आफूलाई समर्पित गर्छु भनि सपथ लिएर जनसेवामा जुट्ने अवसर सबैमा नहुने बताउनुहुँदै महानिरीक्षक अर्यालले भने–‘तपाई र तपाईका आफन्तले गरेको गौरवले त्यसवेला सार्थकता पाउँछ, जब तपाईले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईहरुले बगाएको पसिनाले त्यतिवेला सार्थक पाउछ, जतिबेला तपाईहरुले भिन्नाभिन्नै भूगोलमा बसेर नेपाली नागरिकहरुमा सुरक्षाको प्रत्याभूति दिई आपद् विपद् परेको समयमाभरोषा दिलाउन सक्नुहुन्छ ।’

 

उनले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षाामा परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण परिपालना गरी सामाजिक र पदियआचरण विपरित गतिविधिहरुमा नलागी आफूलाई एउटा अब्बल अधिकृतको रुपमा परिचित गराउनेतर्फ लाग्नुपर्ने समेत बताए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापना कालदेखि यहाँसम्म आईपुग्न संगठनमा हिजो र आजका दिनहरुमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको स्मरण गर्दै नयाँ जोश र उर्जाका साथ दिक्षीत भई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको आगमनसँगै संगठनले अझ बढी उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताए ।

महानिरीक्षक अर्यालले उचित शिक्षा, दिक्षा र संस्कार दिई आफ्नो जीवनको सहाराका रुपमा रहेका सन्ततीहरुलाई अन्य धेरै अवसर र गन्तव्यलाई थाती राखी राष्ट्रसेवामा समर्पित रहन प्रेणित गर्नुहुने सम्पूर्ण अभिभावकहरुप्रति हार्दिक आभार प्रकट गर्दै तालिमको दौरानमा अहोरात्र खटिने प्रशिक्षकवर्ग एवं प्रतिष्ठान तथा शिक्षालय परिवारलाई धन्यवाद दिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले धन्यवाद ज्ञापनको क्रममा साधारण नगारिकबाट फौजी जीवनमा प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउँदै प्रशिक्षार्थीहरुलाई तालिममा सिकाईएका सैद्धान्तिक एवं व्यवहारिकअभ्यासबाट योग्य,  र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने बताए ।

उनले सशस्त्र प्रहरी बल नेपालमा नयाँ नियुक्त भई कार्यक्षेत्रमा परिचालित हुनु अगाडी दर्जा अनुसारको काम, कर्तव्य र अधिकार त्रुटिरहित ढंगबाट सम्पादन गर्न तालिम अपरिहार्य रहेको बताउनुभयो । ४६ हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कुल १२० जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

दिक्षान्त समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षहरु लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, देशका विभिन्न स्थानबाट आउनु भएका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्