व्यावसायी भन्छन्-‘सहमतिको कार्यान्वयन भएन’



कास्की ।

नेपाल बैंक लिमिटेडले जारी गरेको उर्दीप्रति पोखरा मल व्यवसायी समितिले आपत्ती जनाएको छ । बैंकले पोखरा मलको कोरोनाकालको सटर भाडा बक्यौता रहेको भन्दै एक पत्रिकामा व्यवसायीक कम्पनी र सञ्चालकको नाम सार्वजनिक गरेपछि समितिले आपत्ती जनाएको हो ।

बैंकले गत १० गते राष्ट्रिय पत्रिकामा बक्यौता रकमसहित पोखरा मलका ४३ व्यवसायीको नाम र कम्पनीको सार्वजनिक गरेको थियो । तर उक्त रकम द्विपक्षीय सहमति विपरित रहेको पोखरा मल व्यवसायी संघका अध्यक्ष निरविक्रम धुजु श्रेष्ठले बताए ।

श्रेष्ठले पछिल्लो समयको भाडा तिर्दै आएको बताउदै कोरोनाकालको भाडालाई अस्वाभाविक वृद्धिसहित सहमतिको कार्यान्यवन नगरी उर्दी जारी गरेको स्पष्ट पारे । ‘हामीले भाडा तिर्दैनौ भनेकै छैनौ ।

पछिल्लो समय भाडा नियमित दिइरहेका छौ, अध्यक्ष श्रेष्ठले भने, ‘तर हामीसँग भएको सहमति अनुसार सूचना आएको भए मान्न सकिने अवस्था हुन्थ्यो तर त्यसो भएन । त्यसैले यो बैंकको सूचानप्रति हामी व्यवसायीहरुको घोर आपत्ती छ ।’

श्रेष्ठका अनुसार कोरोनाकालको समयमा ६ महिनाको भाडादर मिहाना र नयाँ भाडा समायोजन गर्न २०७८ मंसिर १४ गते मंगलबार बैंकको तर्फबाट बैंका तत्कालिन प्रदेश प्रमुख प्रतिमा श्रेष्ठ र उपप्रबन्धक धु्रव पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सहमतिलाई लत्याएर नेपाल बैंक लिमिटेडको सामान्य सेवा विभागले व्यवसायीहरुलाई अर्को पत्र थमाएको छ । सो पत्रमा १ सय ८८ दिनको व्यवसायको प्रकृति हेरेर ०, ४०, ४५ र ५० प्रतिशत भाडा छुट दिने उल्लेख छ । तर उक्त पत्रलाई व्यवसायीले अस्वीकार गर्दै २०७८ मंसिर १४ गतेको सहमतिलाई नै लागू गर्ने पर्नै माग गर्दै आएको छ । बैंकले पुरानै सुरुको ९सामान्य अवस्था० सम्झौतालाई आधार मानेर अहिले अस्वाभाविक रुपमा उर्दी जारी गरेको व्यवसायीहरुको गुनासो छ ।

‘बैंकले हामीमाथि एक्कासी कोरोनाकालको मासिक भाडामा २० प्रतिशत छुट्टै भाडादर थप्नु र विलम्ब पेनाल्टी लगाएर अन्नाय गरेको छ, व्यवसायी आषिश भण्डारीले भने, ‘त्यसमाथि विना जानकारी राष्ट्रिय पत्रिकामा व्यवसायी कम्पनी र नाम प्रकाशित गरेर मान मर्यादा हनन गरेको छ ।

त्यस प्रति हामी व्यवसायीहरु खेद प्रकट गर्दछौ ।’ भण्डारीका अनुसार प्रत्येक २ वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने बैंकको प्रावधान छ । २०७६ चैत ११ गतेबाट कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै व्यवसाय ठप्प भएको थियो । सो कोरोनाकालकै समयमा बैंकको प्रावधान अनुसार २०७७ साउन १ गतेबाट १० प्रतिशत वृद्धि भयो ।

त्यसपछि कोरोना महामारीकै समयमा फेरि अर्को दुई वर्षपछि २०७९ साउन १ गतेबाट लागू हुनेगरी अर्को १० प्रतिशत वृद्धि गर्यो । अहिले एक्कासी २० प्रतिशत भाडादर वृद्धि गरेर र ढिला गरेको भन्दै विलम्ब पेनाल्टी लगाएर ४३ जनाको बक्यौता रकमसहित नाम सार्वजनिक गरेको हो । तर व्यवसायीहरुले त्यसको विरोध गरिरहेका छन् ।

व्यवसायीले विरोधसँगै निकास पनि खोजिरहेको अर्का व्यवसायी उमाकान्त पौडेलले बताए । उनले विलम्ब शुल्क तथा हर्जना मिनाहा गर्ने र पुरानो सहमति लागू गर्ने (सामान्य अवस्थाको भादाडर तिर्ने) , १५ दिने अल्टिमेटम नभइ व्यवसायीको परामर्शमा केही समयावधि बढाइदिने र भाडादर महंगो भएकाले समयसापेक्ष नयाँ भादादर कायम गरेको खण्डमा समस्याको समाधान हुने बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीमा मलका व्यवसायीहरु तथा बैंकका सिइओ लगायतको टोलीसँग यसअघि छलफल पनि भएको थियो । कोरोनाकालको बक्यौता रहेपनि पछिल्लो समय प्रतिमहिना (पुरा सटर) भाडा ४९ हजार ७ सय ७९ रुपैयाँ तिर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्