काठमाडाैं ।
पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरू भएको छ।
नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी, एनएफपीजेको सहकार्य तथा सञ्चारिका समूह नेपालको संयोजनमा मंगलबारदेखि काठमाण्डौंमा पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरू भएको हो।
विभिन्न सञ्चारमाध्यममा कार्यरत ४५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटनका बारेमा समेत प्रशिक्षण दिइने बताइएको छ। यस्तै, तालिममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र र यसका आयामबारे पनि प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ।
तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरुका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए।

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले पछिल्लो समय पत्रकारितामा महिला सहभागिता बढिरहेको सन्दर्भमा यो तालिमले पर्यटन क्षेत्रमा क्यामेरा चलाउने पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि हुने बताए । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले फोटा पत्रकारिताका काम गर्दै गरेका तथा नयाँ आयउन चाहनेलाई समेत सहज हुने बताए।

तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी.भुसालले नेपालको भूगोल, धर्म, कला, संस्कृतिका साथै पर्यटन पत्रकारिताका बारेमा प्रशिक्षण दिएका थिए। यस्तै, अर्का प्रशिक्षक राजन काफ्लले फोटो पत्रकारिको शैद्धान्तिक विषय तथा क्यामेराको संचालनलगायतका बारेमा प्रशिक्षण दिएका थिए। तालिमको मंगलबार र बुधबारको शेसनमा फोटो पत्रकारहरू सुनिल शर्मा र सुनिल श्रेष्ठलगायतले प्रशिक्षण दिने बताइएको छ। यस्तै, वरिष्ठ फोटो पत्रकारहरू मीन बज्राचार्य र विकास कार्कीले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साट्ने छन्।

एसटीएलआरपीले पर्यटनका अन्य क्षेत्रमा तालिम संचालन गरिरहेको सन्दर्भमा पत्रकार महिलाहरुको फोटो पत्रकारिताको क्षेत्रमा क्षमता अभिवृद्धि होस भनेर यो तालिमको आयोजना गरिएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए। दवाडीका अनुसार परियोजनाले छिट्टै एनएफपीजेसंगको सहकार्यमा पुरुष तथा महिला दुवै पत्रकारहरुका लागि अर्को तालिमसमेत आयोजना गर्ने छ।












प्रतिक्रिया