काठमाडौँ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताएका हुन्।हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए।
मन्त्री भुसालले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताए। उनले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको बताए।
मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरु अगाडी बढाएको बताए। उनले हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका र संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिए।
३ लाख ५४ हजार ५७३ पशुभने लम्पिस्किन रोगबाट निको भइसकेका बताए। उनले २ लाख ३५ हजार २१९ पशु अझैपनि संक्रमित अवस्थामा रहेका बताए।
उनले हालसम्म ७ लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको जानकारी दिए।











प्रतिक्रिया