फेसबुकमा पोस्ट गरेको स्पष्टीकरणको उत्तर दिन्नँ : महानिर्देशक अधिकारी

0
Shares

काठमाडौँ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले आफूलाई सोधिएको भनिएको स्पष्टीकरणको जवाफ नदिने बताउनु भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले उहाँलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो।

महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनी लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोस्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नीे, फेसबुक भरी सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु ।’

यसैगरी महानिर्देशक अधिकारीले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका विषयमा विमति राखेका कारण आफूलाई विनाकारण स्पष्टीकरण सोधिएको आरोप लगाउनुभयो ।हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा रु १५ करोड खर्च गरेर २७ वटा हेलिकोप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको र निर्माणाधीन उक्त हेलिपोर्ट यही असारबाट नै सञ्चालनमा ल्याउने तयारी हुदै गर्दा निजी क्षेत्रलाई हेलिपोर्ट दिन आवश्यक नरहेको भन्दै महानिर्देशक अधिकारी त्यसको विमतिमा रहँदै आउनु भएको छ।

मन्त्री किरातीको गएको जेठ २६ गतेको मन्त्री स्तरीय निर्णयद्वारा सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिनु भएको थियो । महानिर्देशक अधिकारी माथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ ।

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्तिहरु दिइएको आरोप लगाइएको छ ।यस्तै सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै अधिकारीलाई सोधिएको छ, ‘विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनु भएका तपाईंको कार्य क्षमता कमजोर रहेको किन नमान्ने ?’