बहुचर्चित ललिता निवास अनियमितता प्रकरणमाथि पुनः अनुसन्धान थालनी

0
Shares

काठमाडौं । बहुचर्चित ललिता निवास अनियमितता प्रकरणमाथि पुनः अनुसन्धान थालनी भएको छ । उक्त निवासको जग्गा अनियमितता प्रकरणमा अनुसन्धानको थालनी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

डेढ वर्षअघि रोकिएको अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो । त्यस क्रममा प्रहरीले योजनाकारमध्येका एक जना भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अन्य ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतका अनुसार गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् ।

प्रहरीले ललिता निवास जग्गा अनियमितताका घटनामा चारवटा अनुसन्धान प्रतिवेदन तयार पारी २०७८ मंसिरमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

त्यतिबेला सरकारी वकिलको कार्यालयले पर्याप्त अनुसन्धान नगरेको र हचुवाको भरमा प्रतिवेदन पेश गरेको भनी निर्देशनसहित फाइल फिर्ता पठाएको थियो ।