कामपाको २२ योजनालाई ५ करोडमाथिको बजेट व्यवस्था

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले २२ वटा कार्यक्रमका लागि ५ करोडमाथिको बजेट व्यवस्था गरेको छ । कामपाको १३औं बैठकमा महानगरपालिकाको आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण पेस गर्दा ८६ वटा कार्यक्रममध्ये २२ योजना तथा कार्यक्रममा उक्त बजेट विनियोजन गरेको हो ।

कामपाले सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाँडफाँटतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो ।

महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड, महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपियाँ विनियोजन गरेको छ । वडाहरूबाट तोकिएका सीमाको अधीनमा रही खर्च गर्ने गरी १ अर्ब ७६ करोड रुपियाँ विनियोजन भएको छ । महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड विनियोजन गरेको छ ।

हराभरा र सुन्दर बनाउन ५ करोड, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजनाअन्तर्गत शहरी स्वास्थ्य क्लिनिकहरूको प्रवद्र्धन गर्न ३५ करोड, सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने योजनाअन्र्तगत सुलभ फार्मेसी सञ्चालन गर्न ६ करोड, विशिष्ट नगर अस्पताल सञ्चालन गर्नका लागि १० करोड रुपियाँ विनियोजन गरेको छ ।

सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीका लागि ९० घण्टाको छोटो अवधिको सीपमूलक एग्रिकल्चर एन्ड अर्वान फार्मिङ, ब्युटिसियन एन्ड हेयर स्टाइल, कारपेन्ट्री एन्ड उड कार्भिङलगायत १० वटा तालिम सञ्चालन गरिरहेको छ ।

‘धुलोरहित काठमाडौं’ कार्यक्रम सञ्चालन गर्न १ अर्ब, पूर्वाधार एम्बुलेन्सको लागि २५ करोड, सरसफाइ उपकरण खरिद गर्न २७ करोड, नदीहरूको नियमित सफाइ गर्न ७ करोड विनियोजन गरेको छ । सडक सुरक्षामा १० करोड, श्रम बैंक स्थापना गर्न १० करोड, सुशासन अनलाइन कार्यक्रमका लागि १५ करोड, महानगर टेलिभिजन स्थापना गर्न ५ करोड, हरियाली प्रवद्र्धन शीर्षकमा ५० करोड, एक टोल एक खेलकुद पूर्वाधार शीर्षकमा १० करोड ५० लाख विनियोजन गरेको छ ।

त्यसैगरी सडकमा फाइबर बिच्छ्याउन १० करोड, उज्यालो शहर मेरो महानगर योजनाअन्तर्गत सय मुख्य चोक तथा क्षेत्रहरूमा हाइमास्ट लाइट जडान गर्ने कार्यक्रमअन्तर्गत ३० करोड, हिटी र पोखरीको नियमित मर्मतसम्हार र सफाइ गर्न २१ करोड, नदीको नियमित सरसफाइ गर्न ७ करोड, कर्मचारीको सुनौलो अवकास योजनाअन्तर्गत १० करोड, रोजगारी आयवृद्धि महानगरको समृद्धि योजना कार्यान्वयन गर्न १० करोड रुपियाँ विनियोजन गरेको छ ।