ललितपुरको बजेट आकार घट्यो : महालेखा परीक्षकको प्रतिवेदनले दिएको सुझावको बेवास्ता

0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले आन्तरिक राजस्व उठाउन नसकेका कारण आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा घटेको छ ।

मालपोत कार्यालयबाट प्राप्त हुने रजिस्टेसन शुल्कमा कमी र राजस्व उठाउन नसकेपछि आगामी आर्थिक वर्षको बजेटमा कमी आएको महानगरपालिकाले जनाएको छ । रजिस्टेसनबाट ९५ करोड उठ्ने अनुमान गरिएको ४९ करोड उठेको थियो ।

महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रहेको छ । यसले गर्दा पुँजीगत खर्च घटेको छ । चालू खर्चमा कटौती गर्न नसकेको जनाउँदै तुलनात्मक रूपमा झन्डै २१ करोड रुपियाँले वृद्धि भएको छ ।

विनियोजित रकम चालू आर्थिक वर्षको तुलनामा १३ दशमलव ३६ प्रतिशतले कमी रहेको छ । चालू आर्थिक वर्षका लागि कुल वार्षिक बजेट (पूरक बजेटसहित) ७ अर्ब ५० करोड ३५ लाख ३ हजार रुपियाँ रहेको छ । करहरू उठाउन नसकेको, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानमा कमी आएको बजेटको आकार घटेको उपमेयर मञ्जरी शाक्यले बताउनुभयो ।

विनियोजित रकममध्ये चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपियाँ विनियोजित गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थी खाजा, खर्च स्वास्थ्य केन्द्रहरूका लागि छुट्याइएको प्रशासनिक खर्च, नेपाल भाषा सहजकर्ताका लागि व्यवस्था गरिएको पारिश्रमिकसहित, कर्मचारीको ग्रेड वृद्धि, सेवा निवृत्ति हुने कर्मचारीहरूको लागि कल्याण कोषमा वृद्धि र ज्येष्ठ नागरिक सम्मानमा हुने खर्चको वृद्धिले चालू खर्चअघि वर्षको तुलनामा झन्डै २१ करोड रुपियाँ वृद्धि भएको पाइएको छ ।

पुँजीगत खर्चतर्फ ४ अर्ब २१ लख ४६ हजार विनियोजन गरिएको छ ।चालू आर्थिक वर्षमा पुँजीगत खर्च ५ अर्ब १९ करोड ८ लाख ४९ हजार रहेको छ ।तैपनि वडास्तरीय कार्यक्रम र विषय क्षेत्रगत कार्यक्रमको लागि चालू आर्थिक वर्षमा विनियोजन भए अनुसार बजेट सीमा निर्धारण गरिएको छ ।

विनियोजित पुँजीगत खर्च संघझंै कमजोर हुँदा विनियोजन दक्षतामाथि पनि प्रश्नहरू उठाइएको छ । चालू आर्थिक वर्षको कुल पुँजीगत खर्च ४३ दशमलव ५ प्रतिशत रहेको छ । ५० करोडका सडक आयोजनाहरू सञ्चालन गर्न तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएपनि कार्य नभएकाले पनि खर्चको प्रतिशतमा कमी आएको महानगरपालिकाले जनाएको छ । यसमा सार्वजनिक खरिद ऐनको प्रक्रियापनि कारण रहेको मेयर चिरिबाबु महर्जनको भनाइ रहेको छ ।

‘वडातर्फको खर्चको अनुपात ५६ प्रतिशत र नगरस्तरीय योजनाको खर्च अनुपात ४० प्रतिशत रहेको छ । संरचनागत, नीतिगत र कार्यशैलीगत समस्याका कारण पुँजीगत खर्च बढ्न नसकेको हो’ –उपमेयर शाक्यले भन्नुभयो ।

आन्तरिक स्रोतबाट २ अर्ब ३२ करोड ९२ लाख संकलन हुने अनुमान गरिएको छ । विनियोजित बजेटको आन्तरिक स्रोतको हिस्सा ४० प्रतिशत भन्दा पनि तल रहेको छ । महानगरपालिको करको दर नभई दायरा बढाउने भने विषय परिणाममा नदेखिएकोमा नगरसभाका सदस्यहरूले तेस्रो नगरसभामा असन्तुष्टि पोखेका थिए । आन्तरिक स्रोतको रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर (मालपोत), मनोरन्जन कर, निकासी करजस्ता कर रहेका छन् ।

महालेखा परीक्षकको ६० प्रतिवेदनले १३ वटा इँटा उद्योगमध्ये १० वटा इँटा उद्योगबाट ५० लाख व्यवसाय कर उठाउन नसकेको औंल्याएको छ । त्यसैगरी महानगरपालिकाले बहालकरको क्षेत्रगत अभिलेख राखेको छैन । यस वर्ष २ सय ५० जना व्यक्ति तथा फर्मले बहाल करबापतको १ करोड १६ लाख ४२ हजार रुपियाँ घटी दाखिला गरेकोले सो रकम असुल उपर गर्नुपर्ने पनि प्रतिवेदनले औंल्याएको थियो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १ सय ४७ करदाताबाट १ करोड ७४ लाख ६७ हजार रुपियाँ सम्पति कर असुल गर्न बाँकी रहेको पनि महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी महानगरपालिकाले फोहोर उत्सर्जन गर्ने अस्पताल, शैक्षिक संस्था, कलकारखाना लगायतसँग वातावरण शुल्क लगाई राजस्व वृद्धि गर्ने महालेखाको सुझावलाई बेवास्ता गर्दै आएको छ । चिनजान, भनसुनले राजस्व चुहावट बढिरहेको प्रभाव पनि बजेटको आकार परेको छ ।

त्यसैगरी संघीय सरकारबाट १ अरब ३४ करोड ४ लाख ६ हजार, वागमती प्रदेशबाट २२ करोड ७४ लाख ८२ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने अन्तर सरकारी अख्तियारबाट ६६ करोड १५ लाख र विकास निर्माणमा जनसहभागिताबाट ८ करोड रुपियाँ उठ्ने अनुमान गरिएको छ । विनियोजित बजेटको लागि नपुग १ अर्ब ८६ करोड ९२ लाख नगद मौज्दातबाट व्यहोरिने बताइएको छ ।

यही वित्तीय यथार्थका बीच महानगरपालिकाले एकाध सम्पन्न टुक्रे÷टुक्रे योजनाहरूलाई गौरवको रुपमा प्रस्तुत गर्ने प्रवृत्तिलाई मेयर महर्जनले यसपटकको नगरसभामा निरन्तरता दिइएको नगरसभा सदस्यहरूले असन्तुष्टि पोखेका थिए । विषयत समितिका संयोजकहरूको सुझावहरूलाई बेवास्ता गरेकोमा समितिका संयोजकहरूले नगरसभाको नीति तथा कार्यक्रममा उपस्थिति नभई सांकेतिक रूपमा विरोध जनाएका थिए । सधैं साइकल लेन, पर्यटकमैत्री शौचालय, सडक बत्तीजस्ता एकाध कार्यलाई अतिरिञ्जत र तामझामका साथ प्रस्तुत गरेर समग्र वित्तीय पक्षलाई नजरअन्दाज गर्नु युक्तिसंगत नभएको नगरसभा सदस्य एवं ललितपुर महानगरपालिका–५ का महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठले बताउनुभयो ।