सल्यानमा सात स्थानीयताद्वारा ३ अर्ब २० करोडको बजेट सार्वजनिक

तीन पालिकाले बजेट ल्याउन सकेनन्



सल्यान ।

सल्यानका १० स्थानीय तह मध्ये सात स्थानीयतहले आर्थिक वर्ष  ०८०/०८१ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाको शारदा नगरपालिका, दार्मा, कपुरकोट, त्रिवेणी ,छात्रेश्वरी , कालिमाटी, सिद्धकुमाख गाउँपालिकाले ३ अर्ब २० करोड ५० लाख बढीको बजेट सार्वजनिक गरेका हुन ।

सात स्थानीयतहले सार्वजनिक गरेको बजेटमा पुँजीगत तर्फ १ अर्ब १७ करोड ६७ लाख ६० हजार रहेको छ  भने चालुमा २ अर्ब २ करोड ४० लाख रहेको छ । सात स्थानीयतहले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, खरको छाना मुक्त अभियानलाई प्राथमिकता दिएका छन् ।

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले कृषि अन्तर्गत न्यूनतम समर्थन मूल्य कोष र उत्पादनमा आधारित कृषक उपदान र तीन वर्षमा खरको छाना मुक्त अभियानका साथै शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकता दिएको बताएका छन् । कुल बजेट ४४ करोड ३६ लाख २० हजारमा पुँजीगतमा १६ करोड ११ लाख ९१ हजार र चालुमा २८ करोड २४ लाख २९ हजार विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले आव ०८०/०८१ का लागि ४३ करोड १ लाख बजेट सार्वजनिक गरेकोमा पुँजीगतमा ११ करोड ६४ लाख ७ हजार र चालुमा ३१ करोड ९४ लाख ४० हजार विनियोजन गरेको बताउनुभयो । उहाँले पूर्वाधारलाई विशेष प्राथमिकता दिएको जानकारी गराउनु भयो ।
त्रिवेणी गाउँपालिकाले यस आबको लागि ४० करोड ७० लाख बजेट सार्वजनिक गरेको छ । पुँजीगतमा १२ करोड ६९ लाख र चालुमा २८ करोड १२ लाख विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य र पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ  ।

यस्तै छात्रेश्वारी गाउँलिकाले पनि चाुल आबका लागि ५० करोड ३ लाख २९ हजार बजेट सार्वजनिक गरेकोमा ३० करोड बढी चालुमा र अन्य पुँजीगतमा रहेको बताएको छ । पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायत सबैलाई आवश्यकता अनुसार प्राथमिकता दिएको छ । यता शारदा नगरपालिकाकी उप प्रमुख सुस्मिता सापकोटाले कुल बजेट ६८ करोड ६३ लाखमा सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानिकरण अनुदान ११ करोड ५० लाख, सशर्त अनुदान ३२ करोड ७ लाख , समपूरक अनुदान ८० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाँडफाड बाट ११ करोड ९ लाख ६७ हजार गरी ५६ करोड ३६ लाख ३७ हजार रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा प्रदेश समानिकरण अनुदान १ करोड ३३ लाख , सशर्त अनुदान ४ करोड ७६ लाख, समपूरक अनुदान १ करोड ४४ लाख,विशेष अनुदान ४० लाख, राजस्व बाँडफाडबाट २५ लाख ६७ हजार गरी ८ करोड १९ लाख ४३ हजार र आन्तरिक स्रोतबाट २ करोड ६३ लाख, स्थानीय तह राजस्व बाडफाडबाट ४५ लाख , बैंक मौज्जाद ९९ लाख, कुल आम्दानी ६ करोड ६५ रहेको जानकारी गराउनु भयो  ।

सल्यानका तीन पालिकाले बजेट ल्याउन सकेनन् 

सल्यानका तीन पालिका बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाले असार १० गते बजेत ल्याउन सकेका छैनन् । विवादका कारण उनीहरुले समयमै बजेट ल्याउन नसकेका हुन् ।

माओवादी पाटीबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो बहुमत भएकाले आफूहरुले भनेको मान्नु पर्ने र अध्यक्ष र उपाध्यक्षले मनोमानी गर्न नपाउने भन्दै बजेटको लागि छलफल बैठकमा भाग नलिएपछि समयमै बजेट ल्याउन नसकिएको गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले बताउनुभयो ।

बैठकको लागि बारम्बार उपस्थित हुन आग्रह गर्दै आएपनि जनप्रतिनिधिहरु सहभागिता जनाउनै नमानेको बताउनु भयो । यता बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले १० गते नीति र कार्यक्रम सार्वजनिक गरे पनि बजेट विनियोजनमा असन्तुष्ट रहेका उपप्रमुख लगायत वडा अध्यक्षहरुले बैठकमा उपस्थिति नजनाएकै कारण बजेट सार्वजनिक गर्न नसकिएको बताउनुभयो ।

 बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतमले केही विषयमा भएका विवादले तैयारी गर्न नसक्दा १० गते नीति र कार्यक्रम सार्वजनिक गरिएको र एक साता भित्रै आव ०८०÷०८१ को बजेट ल्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्