विवादमा गाउँसभा : रुबी भ्यालीमा झडप, केही घाइते

94
Shares

धादिङ। 

संविधान अनुसार गाउँ सभामा नीति तथा कार्यक्रम पेस गर्ने अन्तिम दिन धादिङका तिन वटा पालिकामा पारदर्शिताको विषयलाई लिएर विवाद चर्किएको छ भने उत्तरी धादिङको रुबी भ्यालीको गाउँ सभामा झडप भएपछि केही सर्वसाधारण घाइते भएका छन् ।

प्यालदोर हिमालको फेदीमा रहेको विकट रुबीभ्याली गाउँपालिकाको गाउँ सभामा गाउँपालिका अध्यक्ष रामसिंह तामाङले प्रहरी सुरक्षाकाबीचमा नीति तथा कार्यक्रम पेस गर्नुभयो ।

गाउँसभा सुरु हुनै लाग्दा राप्रपाबाट निर्वाचित वडा अध्यक्ष प्रशान्त तामाङको नेतृत्वमा आएको जुलुसले गाउँसभा स्थल तोडफोड गरेको थियो ।

राप्रपाले मुक्रावदेबी माविमा अध्यापनरत उत्तमलाल तामाङलाई पालिकाले श्रोत व्यक्ती बनाएर पालिकामा राखेपछि विद्यालय पढाइ प्रभावित भएको भन्दै गाउँ सभामा जुलुस गरेको थियो ।

गाउँ सभामा झडप भएपछि रुबीभ्याली गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय मिलामा तामाङ, ३० वर्षीय अमुक तामाङ, शिक्षक ऋषिराम खनाल लगायतका घाइते भएका छन् । सबै घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

गाउँ सभामा मुक्राव देवीका शिक्षक समेत जुलुस गर्दै आएको र झडप भएको भन्दै मुक्राव देवी माविका शिक्षक ऋषिराम खनाललाई प्रहरीले पक्राउ गरी हिरासतमा  राखेको छ ।

गाउँसभा विवाद भएपनि अध्यक्ष रामसिंह तामाङले प्रहरीको सहयोगमा नीति तथा कार्यक्रम हतार हतार पढेर महुमतले पारित गरेको छ ।

सिद्धलेक गाउँपालिकामा भने गाउँ सभामा पेस गरिनेनिती तथा कार्यक्रम कार्यपालिका सदस्यहरूसँग छलफल नगरिएपछि बहुमत सदस्यले विरोध जनाउँदा जनाउँदै गाउँ सभामा नीति तथा कार्यक्रम पेस गरिएको छ ।

उपाध्यक्ष सबिता अर्यालसहित २२ जना गाउँसभा सदस्यले निती तथा कार्यक्रम कार्यपालिकामा पेस नगरी सिधै गाउँ सभामा ल्याएको भन्दै विरोध जनाएर गाउँसभा बहिस्कार गरेका थिए । ३७ जनाको गाउँसभा सदस्य भएको सिद्धलेकमा २२ जना गाउँसभा सदस्यले नीति तथा कार्यक्रमले वैधानिक बाटो नअपनाएको भन्दै लिखित रुपमा असहमति जनाएपनि सभाहल बन्द गरेर नीति कार्यक्रम पेस गरिएको र आफूहरुले विरोध गरी रहेको कार्यपालिका सदस्य भगवती तिवारीले बताउनुभयो ।नीति तथा कार्यक्रम जबरजस्ती पढेपछि केही गाउँसभा सदस्यलाई जबरजस्ती उपस्थितिमा हस्ताक्षर गराएर बहुमत पुर्‍याइएको आरोप असहमत पक्षको छ ।

गाउँपालिका पटक पटक अनियमितताको आरोप लाग्दै आएको छ भने प्रमुख प्रशासकीय अधिकृतहरु पनि गाउँपालिका आएपछि सरुवा भएर जाने गरेको छ ।

सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले नितितथा कार्यक्रममा छलफल नभएका कारण बजेट समेत नबनाएको  बताउनुभयो ।

सभाहल भित्र झडपको स्थिति आएपछि प्रहरीको सहयोग लिएर सभा सञ्चालन गरिएको थियो । असहमत पक्षले विरोध गरिरहेको बेला केही वडा अध्यक्षले गाउँसभा सदस्य रङ्ग थपलियामाथि आक्रमणको प्रयास गरेका थिए ।

नेत्रावती डबजोङ गाउँपालिकामा असार ९ गतेको सभा स्थगित भएपछि आइतबार बिहान कार्यपालिका सदस्यहरु जम्मा नहुँदै गाउँसभा सुरु गरिएको थियो । गाउँ सभामा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

गाउँपालिकामा भएका खर्च विवरणहरु सार्वजनिक गर्न माग गर्दा पनि बेवास्ता गरेको, सामान खरिद गरेको विवरण र खर्च पारदर्शी भएको भन्दै ७ राजनीतिक दलले तालाबन्दी गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, मंगोल नेशनल अर्गनाइजेशन रनेकपा एसले अनियमितताको विरोध गर्दै सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै तालाबन्दी गरेको नेकपा एमालेका रास्वपाका उत्तम अधिकारीले बताउनुभयो ।

नेत्रावती डबजोङ गाउँपालिकामा बजेट पेस गर्ने कार्यसूची सार्वजनिक भएको छैन ।