पोखरा महानगरले सिमसार तथा फिर्के संरक्षणका लागि नीति ल्याउने 



पोखरा।

पोखरामा निकै अतिक्रमणमा परेको सिमसार र फिर्के अतिक्रमणका लागि पोखरा महानगरपालिको काम थालनी गर्ने भएको छ । पोखरामा रहेका सिमसार तथा सार्वजनिक जग्गाहरु मिचिने तथा पुरिने काम भइरहँदा फेवातालको जलीय स्रोतको रुपमा रहेको सिमसार क्षेत्र बढी चर्चामा रहेको छ । रामसारको सूचिमा सूचीकृत फेवाको उक्त क्षेत्र पछिल्लो समय एकाएक पुरिन थालेपछि महानगरपालिकाले सिमसार नीति ल्याउन लागेको हो । यस्तै फेवातालकै अर्को जलस्रोतको रुपमा रहेको फिर्के खोलाको मापदण्ड समेत निर्धारण गर्ने भएको छ । आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा मेयर धनराज आचार्यले सिमसार नीति ल्याउने बताएका हुन् ।

‘समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि ताल तलैया, पोखरी, चौतारा, सिमसार, गुफा मन्दिर पुराना ऐतिहासिक सम्पदा लगायतमा आवश्यक पर्ने पर्यटन पूर्वाधार निर्माण साथै संरक्षण र सम्बद्र्धनको नीति लिइनेछ’ उनले भने, ‘पोखराको जननी रुपमा परिचित सेती नदी, पोखराको मध्य भागबाट बक्ष्ने फिर्केखोला र बुलौदीखोला लगायतको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको नीति लिइनेछ ।’ उनले पोखराको मुख्य नदी, नाला तथा खोलाहरुको सिमाना यकिन गरी रेखाङ्कन गर्ने समेत बताए । पोखराका सिमसार र फिर्के खोला चरम अतिक्रमणको सिकारमा परिरहेको छ । पोखरा महानगरपालिकाले एकसाता अघिसम्म फिर्के र सिमसारमा बनेका अवैध संरचनामाथि डोजर समेत चलाएको थियो । महानगरको अनुमति विनानै अवैध तरिकाले काम गरेको भन्दै महानगरले डोजर चलाएको थियो ।

छाडा चौपाया व्यवस्थापनका लागि एनिमल रेस्क्यु भेइकल सञ्चालन गर्ने

पोखरा महानगरपालिकाले मुख्य समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापन गर्न गौशाला तथा एनिमल रेस्क्यु भेइकल सञ्चालनमा ल्याउने भएको छ ।

आइतबार नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै छाडा चौपायाको नियन्त्रण तथा व्यवस्थापनका लागि उक्त सवारी सञ्चालनमा ल्याउने भएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यवस्थित गौशाला निर्माण, पशु उद्धार साधनसंचालन ल्याउने बताए ।

‘महानगर क्षेत्रका छाडा पशुहरुको उचित व्यवस्थापन गर्न व्यवस्थित गौशाला निर्माण गरिनेछ । छाडा  पशुचौपायको नियन्त्रण तथा व्यवस्थापनका लागि एनिमल रेस्क्यु भेइकल सञ्चालनमा ल्याइने छ’  मेयर आचार्यले भने, ‘ सामुदायिक कुकुरहरुको नियन्त्रण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरणका साथै भ्याक्सिन अभियान सञ्चालनमा निरन्तरता दिइने छ । सार्वजनिक निजी साझेदारीमा आधुनिक र व्यवस्थित वधशाला निर्माण प्रक्रिया अगाडी बढाइने छ । यस्तै पोखरा महानगरपालिकाले ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्ने समेत बताएको छ । नेपाल सरकारले ल्याएको मध्ये पाँच वटा मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गरी महानगर क्षेत्रमा नस्ल सुधार सहित भैँसी पालन व्यवसायलाई प्रोत्साहन गर्ने उनले बताए ।

अफ्रिकन स्वाइन फीभरले पारेको बङ्गुर व्यवसायीलाई पारेको असर न्यूनीकरणका लागि राहत तथा पुनर्स्थापना प्याकेज कार्यक्रम समेत सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्