वृन्दावन नगरपालिकाको सभा बहिष्कार 

0
Shares

रौतहट  ।

रौतहटको वृन्दावन नगरपालिकाका बहुमत सदस्यले आइतबारको नगरसभा बहिष्कार गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व   प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको वृन्दावन नगरपालिकाको सभा २८ जना बहुमत सदस्यहरुले सभा स्थल छाडेर गएपछि उद्घाटन हुन सकेन ।

नगरप्रमुख विनोद पटेलले मनोमानी रुपमा नगर संचालन गरेको आरोप लगाउँदै उपप्रमुख संगिता देवी रामसहित २८ जना सदस्यले नगरसभा बहिष्कार गरेका हुन् । गत आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक नगरेको, करारको कर्मचारी हटाए पनि डोर हाजिरमा कर्मचारी नियुक्त गरेको, शिक्षा, स्वास्थ्य, कृषि भौतिक पूर्वाधार लगायतका विभिन्न शीर्षकमा भएको खर्च सभा सदस्य लाई जानकारी नदिएको  जस्ता आरोप बहिष्कार सदस्यले लगाएका छन् ।

आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रमको बारेमा विषयगत समिति र कार्यपालिकामा छलफल समेत नगरीकनै सभा बोलाइकाले बहिष्कार गर्नु परेको उपप्रमुख संगीता देवी रामले बताउनु भयो । नगरप्रमुख विनोद पटेल र उपप्रमुख संगीता देवी राम नेकपा एकीकृत समाजवादी पार्टी बाट निर्वाचित भएका हुन ।
बहिष्कार गर्ने अधिकास सदस्य नेकपा एकीकृत समाजवादी पार्टीका रहेका छन् । वृन्दावन नगरपालिका वडानम्बर ७ का अध्यक्ष जगरनाथ प्रसाद भेडियारले समग्र नगरको विकासका योजना बनाउनु पर्नेमा नगरप्रमुखले आफूखुसी गरेका सभा बहिष्कार गरेको बताउनु भयो ।