नेपालीको स्वास्थ्यमा उल्लेख्य सुधार : जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण

0
Shares

काठमाडौं । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ । नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए तापनि महत्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न थप प्रयास आवश्यक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको छैठौं सर्वेक्षण प्रतिवेदनले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन् तथा बाल स्वास्थ्यमा प्रगति भएको देखाएको छ । प्रतिवेदनमा मातृ स्वास्थ्य सेवा लिने नेपाली महिलाहरूको संख्या बढ्दै गएको उल्लेख छ । ९४ प्रतिशत गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मीहरूको सेवा लिने गरेका छन् । यसअघि सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षणअनुसार २५% महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरूबाट गर्भवती सेवा लिने गरेका थिए ।

सन् २०२२ को सर्वेक्षण प्रतिवेदनमा ७३% गर्भवती महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिना भित्रमा पहिलो गर्भवती जाँच गराएको उल्लेख गरिएको छ । जुन आमा र बच्चा दुवैको लागि जोखिम कम गर्ने महत्वपूर्ण समय हो । साथै ८१% गर्भवती महिलाहरूले बच्चा जन्माउनुअघि कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराउने गरेका छन् । सन् १९९६ को सर्वेक्षणमा ८% शिशु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने सन् २०२२ को सर्वेक्षणले ७९% शिशुहरू स्वास्थ्य संस्थामा जन्मिएको देखाएको छ । त्यस्तै, प्रसूतिपछि, १० मध्ये ७ महिला र नवजात शिशुहरूलाई जन्मेको दुई दिनभित्र स्वास्थ्य जाँच गराइएको पाइएको छ ।

प्रतिवेदनले नेपालमा आधाभन्दा बढी अर्थात ५७ प्रतिशत विवाहित महिलाहरूले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने गरेकोमा ४३% ले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग र १५प्रतिशतले परम्परागत विधिहरू प्रयोग गर्ने गरेको उल्लेख छ । महिला बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधन वा विधिहरू नेपालमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ ।
सन् २०२२ मा नेपालले कुल प्रजनन् दरलाई २ दशमलव १ प्रतिशतमा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ । विगत साढे दुई दशकमा नेपालमा प्रजनन् दर आधाले घटेको देखिन्छ । सन् १९९६ मा औसतमा प्रति महिलाले ५ बच्चा जन्माउथे भने सन् २०२२ मा २ दशमलव १ मात्र जन्माएको सर्वेक्षणले देखाएको छ ।

त्यस्तै, पाँच वर्षमुनिको बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको देखिएको छ । सन् १९९६ मा ५ वर्षमुनिका प्रति १ हजार जीवित जन्ममा १ सय १८ जनाको मृत्यु हुने गर्दथ्यो भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हाल प्रति १ हजार जीवित जन्ममा ३३ को मृत्यु हुने गर्दछ ।

त्यस्तै, दीर्घकालीन कुपोषणको एउटा संकेत पुड्कोपन वा उमेरअनुसार उचाइ कम हुनु हो । यो सर्वेक्षणअनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५प्रतिशतमा झरेको छ ।

यो सर्वेक्षणले स्वास्थ्यका क्षेत्रमा धेरै प्रगति भएको देखाए तापनि चुनौतीहरू अझै बाँकी नै रहेका छन् । नेपालमा ६ महिनाभन्दा कम उमेरका शिशुहरूलाई पूर्ण रूपमा स्तनपान गराउने प्रवृत्तिमा समयसँग घट्दो क्रममा छ । सन् १९९६ मा स्तनपान गराउनेको आमाको प्रतिशत ७५ थियो भने सन् २०२२ मा यो प्रतिशत ५६ मा झरेको छ । विश्व पोषण निर्देशिकाले शिशुहरूलाई बाल मृत्यु तथा अन्य रोगहरूबाट बचाउनको लागि जन्मेको पहिलो ६ महिनासम्म पूर्ण रूपमा स्तनपान मात्र गराउन सिफारिस गरेको छ ।

नवजात शिशु मृत्युदर पछिल्लो दशकमा प्रति १ हजार जीवित जन्महरूमा २१ शिशुको मृत्यु हुने गरेको छ । किशोरीवस्थाको प्रजनन् दर अझै उच्च रहेको छ, जसमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखिएको छ ।

कोभिड–१९ विरुद्धको खोपमा सफलता मिले तापनि बालबालिकाको नियमित खोप लगाउने कार्य भने घटेको पाइएको छ । सन् २०११ मा ८७ प्रतिशत बालबालिकाले सबै आधारभूत खोप लगाएका थिए भने अहिले उक्त दर ८० प्रतिशतमा झरेको छ । अहिलेको सर्वेक्षणले कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा पनि थोरै अर्थात ४ प्रतिशत वृद्धि भएको देखाएको छ, जुन २०१६ को सर्वेक्षणमा १ प्रतिशत मात्र थियो ।

नेपालमा १५ वर्ष वा सोभन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ । १५–४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषहरूमा चिन्ताका लक्षणहरू देखिएको सर्वेक्षणले जनाएको छ । १५ देखि ४९ वर्षका महिलाहरूमध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेका छन् भने ८ प्रतिशतले १५ वर्षको उमेरदेखि यौन हिंसाको अनुभव गरेका छन् ।

सर्वेक्षणअनुसार प्रति १ लाख व्यक्तिहरूमध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी ६८प्रतिशत सडक दुर्घटना मोटरसाइकलको कारणले हुने गर्दछ ।

यस सर्वेक्षणले राष्ट्रिय र प्रादेशिक स्तर, शहरी र ग्रामीण क्षेत्रहरू, तीन भौगोलिक क्षेत्रहरू, हिमाल, पहाड र तराईका आधारमा जनसांख्यिक तथा स्वास्थ्य सूचकहरूको तथ्यांक अद्यावधिक गरेको छ । यस सर्वेक्षणमा राष्ट्रको पूरै प्रतिनिधित्व हुने गरी १३ हजार ७ सय ८६ घरधुरीमा १५–४९ वर्षका १४ हजार ८ सय ४५ जना महिला र छनौटमा परेका आधा घरधुरीबाट १५–४९ वर्षका ४ हजार ९ सय १३ जना पुरुषहरूलाई अन्तर्वार्तामा समावेश गरिएको थियो ।

यो सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले सम्पन्न गरेको हो । यस सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यू.एस.आई.डी.) बाट आर्थिक सहयोग र आई.सी.एफ.बाट प्राविधिक सहयोग उपलब्ध भएको थियो ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् १९९७ बाट शुरू भएको हो ।