बोट रेसमा नेपाली टिम दोस्रो



कास्की । नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ ।

शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेको हो । प्रतियोगितामा विजेता भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार दरले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।

त्यस्तै, प्रतियोगितामा उपविजेता भएको नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले २ सय र ५ सय मिटर दुवै विधामा उपविजेतासँगै ३ लाख ५० हजार दरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल र चीनका ४÷४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख दरले पुरस्कार प्राप्त गरेका छन् ।

ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा (नौका) चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्