इलाममा व्यवस्थित मैदान र कभर्ड हल छैन

0
Shares

इलाम । इलाम जिल्लामा हुने कुनैपनि खेलका लागि आवश्यक संरचना नहुँदा यहाँका खेलाडीहरू समस्यामा परेका छन् । जिल्लामा बिशेष गरेर फूटबल, क्रिकेट र मार्सल आर्ट सम्बन्धिका खेलहरु बढी हुँदै आएको छ । तर यी तीनै खेलका लागि ब्यबस्थित संरचना नहुँदा खेलाडीहरु पलायन हुने अवस्थामा पुगेका छन् ।

फूटबल र क्रिकेटका लागि ब्यबस्थित खेलमैदान छैन । जिल्लाकै एकमात्र ठूलो खेलमैदानको रुपमा सदरमुकाममा रहेको ठूलो टुडिखेलमा फूटबल र क्रिकेट खेल हुने गरेको छ । तर यहि मैदान पनि जिर्ण भएपछि जिल्लामा खेलकुदका गतिबिधि शुन्य अवस्थामै छ । ग्रामिण भेगमा रहेका मैदानमा फाट्टफुट्ट फूलबल खेल हुने गरेपनि क्रिकेट भने हुन सकेको छैन ।

तर पछिल्लो समय जिल्लामा क्रिकेट खेलप्रतिको आकर्षण भने बालकदेखि युवामा उच्च छ । तर मैदान अभावकै कारण उनीहरु खेलबाट बञ्चित हुनु परेको छ । । जिल्ला सदरमुकाममा खेलकुदका पूर्वाधार बन्ने हो भने इलामको खेल पर्यटनमा बिशेष महत्व पुग्ने खेलाडीहरु बताउँछन् । खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट हात धुनुपरेको छ । खेलमैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लो स्तरको खेल कसरी खेल्न सकिन्छ भन्ने अन्योलमा छन् ।

राम्रो प्रशिक्षक र खेलमैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नुपरेको इलामका खेलप्रेमि सुरेन्द्र राईको भनाई छ । जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचनाको अभाव भएको बर्षौ बित्दा पनि संघिय, प्रदेश र स्थानीय सरकारले चासो भने कहिले दिएन । इलामबाट पटक पटक निर्वाचित भएर देशको प्रधानमन्त्री सभामुख भइसकेका नेताले पनि इलामको खेलकुद क्षेत्रलाई बेवास्ता गरेको पाइन्छ ।

यहाँ ब्यबस्थित कभर्ड हल नहुँदा जिल्ला खेलकुद बिकास समितिको एउटै हलमा मार्सल आर्टका तीन खेलहरु (कराँते, तेक्वान्दो र उसु) खेल सिकाउनु पर्ने बाध्यता रहेको कराँतेका सहायक प्रशिक्षक खगेन्द्र ठकुरीको भनाई छ । यी खेलहरु उक्त हलमा सिकाउँदा सोही हलमा सिकाइँदै आएको टेबलटेनिस खेल भने बिस्थापित हुने अवस्थामा पुगेको छ । टेबलटेनिस खेल खेलाउने एउटा राम्रो हल समेत जिल्लामा छैन ।

जिल्ला सदरमुकामसहित जिल्लाका १० वटै पालिकामा केही न केही प्रयोजनका लागि करोडौं लगानीमा भवनहरु बनेका छन् । तर स्थानीय सरकारले खेलाडीलाई चाहिने आवश्यक पूर्वाधारमा खर्च भने पटक्कै नगरेको पाइएको छ । इलाम नगरपालिकामा दुईवटा कभर्ड निमाण भएको छ । त्यो कबर्ड हलमा ब्याडमिटन मात्र हुँदै आएको छ ।

जिल्लामा फूटबल, क्रिकेटको लागि मैदान अभाव, मार्सल आर्टको लागि कभर्ड हलको मात्र अभाव हैन, भलिबल र बास्केटबल खेलका लागि पनि जिल्लामै ब्यबस्थित कोर्टको समेत अभाव रहेको छ । विगतका राष्ट्रिय प्रतियोगितामा विभिन्न खेलका खेलाडीले पदक जितेका छन् । तर उचित प्रशिक्षणका लागि आवश्यक पूर्वाधार अभावकै कारण पदक जितेका धेरै खेलाडीहरु खेल क्षेत्रबाट पलायन भएका छन् ।