रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : रवि लामिछाने

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन्।

‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिईरहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन,’ सभापति लामिछानेले भने, ‘तर तपाई हामीहरुले असल मान्छेका लागि बस्ने ठाउँ ओगटेर बसिदियौं भने निष्ठा र इमान्दारिताका साथ काम गरि दिएनौं भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ।’

सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए। उनले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकीर समेत गरे।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराए। इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

उनले सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटकपटक दोहो¥याएका छन्।