अन्नपूर्णको नीति तथा कार्यक्रम र बजेट पारित



म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आज (शुक्रवार) प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न १७औं गाउँ सभामा अध्यक्ष भारतकुमार पुनले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको हो ।

पारित भएको नीति कार्यक्रममार्फत गाउँपालिकाको विकासका लागि पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनाउने, दिगो कृषि, पर्यटन र ऊर्जा तथा खेलकुदको विकास गरी स्वच्छ, सफा र सुन्दर पालिकाको पहिचान कायम राख्ने, योजनाबद्ध सहरीकरण तथा बस्ती विकासलाई जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अन्नपूर्णका अध्यक्ष पुनले टोल, बस्ती र वडास्तरमा भएको छलफल तथा सरोकारवालाहरुसँग अन्तत्र्रिmयापछि प्राप्त सुझावहरुलाई नीति, कार्यक्रम र बजेटमा समेटिएको बताउनुभयो । यसैगरी नीति कार्यक्रमबाट उत्तरी अन्नपूर्ण हिमाल आधार शिविरको एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने, नयाँ गन्तव्यको पहिचान र पूर्वाधारमा जोड दिइने भएको छ । कम लागतमा बढी प्रतिफल दिने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, युवालाई उत्पादन र रोजगार दिने योजनाहरुलाई प्राथमिकता दिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । पालिकाको केन्द्रदेखि वडा जोड्ने सडकको स्तरोन्नति गर्ने, गाउँपालिकाको प्रशासकीय भवन बनाउने लक्ष्य राखेको अन्नपूर्णले पालिकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याउने जनाएको छ ।

 गाउँपालिकामा ठूला र गौरवका आयोजनाहरु निर्माण गर्न तथा महत्त्वपूर्ण पर्यटकीय स्थलहरुको दिगो संरक्षण, प्रवर्द्धन र विकासका लागि निजी क्षेत्रका लगानीकर्ताहरुलाई समेत समेट्न सार्वजनिक निजी साझेदारीको अवधारणा अघि सारेको छ । ‘एक घर, एक धारा’ अभियानमार्फत पालिकाको सबै घरधुरीमा खानेपानीको पहुँच विस्तार गर्ने नीतिमा उल्लेख छ । एक वडा, एक सुविधा सम्पन्न आवासीय विद्यालय बनाउने नीति लिएको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षदेखि स्थानीय पुस्तक कार्यान्वयन गर्ने भएको छ ।

एकवटा वडामा एक जनालाई विज्ञान, गणित र अङ्ग्रेजी विषयमा स्नातक तहसम्म अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने तथा किशोर किशोरीलाई निजामती र शिक्षक सेवाप्रति आकर्षित गराउन तयारी कक्षा सञ्चालन गरिने भएको छ । नारच्याङको प्रभा माध्यमिक विद्यालयमा सञ्चालित इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठनलाई गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने, विद्यालयमा अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रम चलाउने, बालमैत्री र बालश्रममुक्त पालिका घोषणा गर्ने नीति कार्यक्रममा जनाइएको छ ।

आर्थिक रुपमा विपन्न, दुर्घटनामा परेका र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पताल पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, गर्भवती र सुत्केरीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा जान एम्बुलेन्स भाडामा एकतर्फी छुट गर्ने नीति समेत लिइएको छ । अन्नपूर्णलाई आलु र सुन्तला जातका फलफूलमा आत्मनिर्भर बनाउने, प्राङ्गारिक खेती प्रवर्द्धन गरी पर्यटकलाई स्थानीय परिकारको ब्रान्डको रुपमा खाना उपलब्ध गराउने, कृषिको आधुनिकीकरण, बजारीकरणका लागि तालिम सञ्चालन र कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति लिएको छ । त्यस्तै बेमौसमी तरकारी उत्पादनका लागि आवश्यक ग्रिन–हाउस, गुमोज, हाईटेक प्रविधिको हाउस बनाएर बेमौसमी तरकारीमा आत्मनिर्भर गर्न प्लाष्टिक घर निर्माण कार्यक्रम लागू गरिने अध्यक्ष पुनले बताउनुभयो ।

यसैबीच शुक्रवारै गाउँ सभामा अन्नपूर्ण गाउँपालिकाको आगामी आवको प्रस्तावित वार्षिक बजेट पनि पेश भएको छ । आउँदो वर्षका लागि सभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले कुल ५३ करोड ५४ लाख ४३ हजार छ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । सार्वजनिक बजेटमध्ये चालुतर्फ ३५ करोड ५१ लाख ५९ हजार छ सय र पुँजीगततर्फ १८ करोड दुईलाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँ सभामा उपाध्यक्ष पुनले आगामी आवको विनियोजन विधेयक, आर्थिक विधेयक, न्यायिक समिति र अनुगमन समितिको वार्षिक प्रतिवेदन तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेट, विधेयक र प्रतिवेदनहरु गाउँसभाका सदस्यहरुको बीचमा छलफल गरेपछि शुक्रवार नै पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतप्रसाद सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्