आमाको स्मृतिमा सञ्चालित निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न 



कास्की । 

आफ्नी स्वर्गीय आमाको स्मृतिमा सञ्चालित ६ दिने निःशुल्क मुटुरोग परीक्षण शिविर सम्पन्न भएकोछ । अन्नपूर्ण गाउँपालिका कास्की लुम्लेका स्थायी बासिन्दा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटाले पोखरा नागढुङ्गास्थित चरक मेमोरियल हस्पिटलमा मुटुका रोगीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । देवकोटा मनमोहन कार्डियो भास्कुलुर सेन्टर काठमाण्डौमा कार्यरत वरिष्ठ मुटुरो विशेषज्ञ हुन् ।

अध्ययनको सिलसिलामा इटली रहेको बेला लामो समयदेखिकी मुटुरोगी बिरामी उनकी आमा केला कुमारी देवकोटाको ८२ वर्षको उमेरमा निधन भएको थियो । पढाई बिचमा छोड्नै नमिल्ने भएका कारणले उनी आमाकोअन्तिम दाहसंस्कार मा समेत सहभागी हुन पाएका थिएनन् । हालै आएर हिन्दु रिती रिवाज अनुसार किरिया कर्म गरेका देवकोटाले आमाकै स्मृतिमा निःशुल्क मुटु परीक्षण शिविर चलाएका हुन् ।

शिविर सञ्चालन कै क्रममा उनले भने, ‘म सामान्य परिवारमा जन्मेको हुँ, आमाले निकै दुख गरेर पढाउनु भयो, आमाले सधैँ दुखी र रोगीको सेवा गरेस् भन्नु हुन्थ्यो, त्यसैले आमाको आत्माले शान्ति पाओस् भनेरै शिवरसञ्चालन गरेँ ।’

डाक्टर देवकोटाले समय र परिस्थितले भ्याएसम्म आमाको स्मृतिमा हरेक वर्ष मुटुरोग परीक्षण शिविर सञ्चालन गरिरहने बताएका छन् ।

जेठ २७ गते देख़ि असार २ गतेसम्म सञ्चालित शिविर पोखरामा सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशील संस्थाटाइगर ग्रुप अफ नेपाल र चरक मेमोरियल हस्पिटलको सहकार्य र सहयोगमा सञ्चालन भएको थियो ।

६ दिनसम्म सञ्चालन भएको शिविरमा ६ सय जना मुटु रोगीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएकोअस्पतालका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए ।

शिविर अवधिभर चरक मेमोरियल अस्पतालले ४ सय ५० जनाको इसिजी, ४ सय जनाको इको पूर्ण रूपमा निःशुल्क गरिएको अस्पतालका निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

शिविरमा १ जना हृदयघात भएको बिरामीको इमरजेन्सी एन्जियो प्लास्टि सर्जरी (प्राथमिक एन्जियोप्लास्टी)र ४ जनाको कोरोनरी एन्जियोग्राफी (सिएजी) सेवा विशेष छुट उपलब्ध गराइएको पोखरेलले जानकारी दिए ।उनका अनुसार मुटु बाहेक अन्य परीक्षणमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्