ललितपुरका समितिका संयोजकहरूद्वारा कार्यपालिका बैठक बहिष्कार, आज नीति तथा कार्यक्रम पास गर्ने तयारी

0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै महानगरको प्रवक्तामाथि अपमानजनक व्यवहार गरेपछि महानगरको सातवटा समितिका संयोजकले नीति तथा कार्यक्रमबारे बोलाइएको बैठक बहिष्कार गरेका हुन् ।

ललितपुर महनगरपालिकाले बुधबार दिउँसो ३ बजेका लागि नीति तथा कार्यक्रमको अन्तिम मस्यौदामा छलफल गर्न कार्यपालिकाको बैठक बोलाएको थियो । तर, बैठकअघि बिहान ९ बजे सोही विषयमा छलफल गर्न बसेको बोर्डको बैठकमा मेयर महर्जनले नगर प्रहरी बलका सल्लाहकार सीताराम हाथेछुको बचाउमा महानगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जनलाई अपमानजनक शब्द प्रयोग गर्नुभएको थियो ।

मेयर महर्जनले उक्त व्यवहारबाट चिढीएर सबै संयोजकहरूले कार्यपालिकाको बैठक बहिष्कार गरेका हुन् । महानगरपालिका वडा नं ३ का वडाअध्यक्ष एवं सुशासन तथा संस्थागत विकास समितिका संयोजक श्रीगोपाल महर्जनले भन्नुभयो– ‘प्रवक्ता जस्तो व्यक्तिलाई अपमान गरेपछि सहन नसकेर हामीले दिउँसोको बैठक वहिष्कार गरेका हौं । मेयर महर्जनले नीति तथा कार्यक्रममा युवा र नगर प्रहरीको विषयमा आफूखुसी गर्न खोजेपछि त्यसको प्रतिवाद गर्दा उहाँले अपमानजनक शब्द प्रयोग गर्नुभएको हो ।’

बोर्डको बैठकमा प्रवक्ता राजु महर्जनले वडा अध्यक्षसँग समन्वय नगरी नगर प्रहरीले एकलौटी रूपमा काम गरेको धारणा राख्नुभएको थियो । त्यसै विषयमा नगर प्रहरीको बचाउ गर्दै मेयर महर्जनले तपाईंहरूलाई यो विषयमा केही थाहा छैन, चुप लाग्नुस् भनेपछि संयोजक महर्जनलाई अपमान महसुस भएको थियो । त्यसको लगत्तै प्रवक्ता राजु महर्जनको भनाइमा समर्थन जनाउँदै वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले वडा कार्यालयमा समन्वयमा मात्र काम गर्न आग्रह गर्दै भन्नुभएको थियो–‘प्रहरीले बाटो वान वे गर्छ, हामीलाई जानकारी हँुदैन । मेयरको निर्देशनमा मात्र काम गर्ने गरेको छ ।’

मेयरको रवैयाका कारण उहाँको अति निकट मानिएका वडा नं. २० का वडाअध्यक्ष चन्द्रलाल महर्जनले समेत छलफल कार्यक्रम बहिष्कार गर्नुभएको थियो । चन्द्रलाल महर्जन पूर्वाधार विकास समितिका संयोजक पनि हुनुहुन्छ । धुलिखेलमा नीति तथा कार्यक्रमको मस्यौदा तयार हुँदाभन्दा फरक विषय प्रवेश गराएर मेयरले एकलौटी गरेपछि मेयर निकटकै वडा अध्यक्षले बैठक वहिष्कार गरेका हुन् ।

बैठक बहिष्कार गर्ने अन्य संयोजकहरूमा आर्थिक विकास समितिका संयोजक रविन्द्र महर्जन, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक विकासमान श्रेष्ठ, वन, वातावरण तथा विपद् व्यवस्थापनका संयोजक नारायण अवाले र शहरी योजना व्यवस्थापन समितिका संयोजक गणेश केसीले छलफल कार्यक्रम वहिष्कार गर्नुभएको थियो । पूर्वाधार विकासका चन्द्रलाल महर्जन र सामाजिक विकास समितिका राजु नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको हो ।

उद्योग, पर्यटन तथा संस्कृति विकास समितिका नारायण अवाले र उद्योग पर्यटन तथा संस्कृति विकास समितिका विकासमान श्रेष्ठ नेकपा एमाले, आर्थिक विकासका रविन्द्र महर्जन माओवादी केन्द्र, श्रीगोपाल महर्जन समाजवादी केन्द्र, शहरी योजना व्यवस्थापन विभागका गणेश केसी स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष हुन् । स्थानीय तहको निर्वाचनमा एमाले एकातिर र नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीले गठबन्धनबाट प्रतिस्पर्धा गरेका थिए ।

बैठक वहिष्कार गरेको विषयमा प्रवक्ता महर्जनसँग नेपाल समाचारपत्रले जानकारी लिन खोज्दा उहाँले आफूलाई जान मन नलागेर नगएको बताउनुभयो । तपाईंप्रति मेयरले गरेको व्यवहारको कारण सबै समितिका संयोजकले वहिष्कार गरेको हो भन्ने प्रश्नमा पनि उहाँले खुलेर बताउनुभएन । तर, उहाँकै कारण संयोजकसहित करिब १४ जनाले छलफल कार्यक्रम वहिष्कार गरेका थिए । बैठक वहिष्कार गरेको समितिका संयोजकहरूले मस्यौदामा हस्ताक्षर गरिसकेका छन् ।

सबै संयोजकहरू आज शुक्रबारको बैठकमा उपस्थित भएर आफ्नो धारणा राख्ने तयारीमा छन् । कार्यपालिका एक सदस्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै मेयर महर्जन एकलौटी रूपमा अघि बढे नीति तथा कार्यक्रम पारित गर्न नदिने बताए ।

मेयर महर्जनले नेपाल प्रहरीबाट अवकास भएर पेन्सन खाइरहेका हाछेथुलाई प्रहरी प्रमुखको हैसियतमा सबै अधिकार दिएकोमा टिप्पणी गर्दै ती सदस्यले भने– ‘मेयर साब हामीलाई छाड्न तयार हुनुहुन्छ तर हाछेथुलाई एक मिनेट छाड्नु हुन्न ।’

वडा अध्यक्षसँग परामर्श गरे कुनै पनि काम गर्न नसकिने भन्दै मेयर महर्जनले प्रहरीलाई सीधै निर्देशन दिएर काम गराइरहनु भएको अध्यक्षहरूको आरोप छ । एक अध्यक्षले नेपाल समाचारपत्रसँग भने– ‘हाम्रो क्षेत्रमा हामीलाई नै कुनै जानकारी नदिई प्रहरीलाई काम गर्ने अधिकार छैन, त्यसो गरे फेरि मेयरका विरुद्धमा जानुपर्ने बाध्यता आउनेछ ।’