न्याम्सको उपकुलपतिमा प्रा.डा भुपेन्द्रकुमार बस्नेत नियुक्त



काठमाडौँ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्याम्सका निमित्त उपकुलपति समेत रहेका प्राडा बस्नेतलाई बुधबार (हिजो) उपकुलपतिमा नियुक्त गरेका हुन्।

प्राडा बस्नेतले उपकुलपति पदमा नियुक्त भएको चिठी बिहीबार (आज)बुझेका छन् । उनको पदावधि चार वर्षको रहेको छ ।

यसअघि प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए।

उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो। न्याम्सको उपकुलपतिका लागि गठित समितिले ११ जनाको आवेदन परेको थियो।

प्राडा बस्नेत यसअघि वीर अस्पतालको निमित्त निर्देशक तथा वीरमै रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त कार्यकारी अधिकारी भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्