नीलकण्ठ नगरपालिकाकाे बजेट १ अर्ब १८ करोड

0
Shares

धादिङ । 

धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १८ करोड बढीको बजेट विनियोजन गरेको छ ।

बिहीबार धादिङबेशीस्थित जिल्ला समन्वय समितिको हलमा भएको दोस्रो नगर सभाको तेस्रो अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १८ करोड ९७ लाख ७ हजार ४ सय ७७ बजेट विनियोजन गरेको हो ।

अधिवेशनमा उपप्रमुख दीपक विश्वकर्माले चालु खर्चतर्फ ८० करोड ४१ लाख ७ हजार ४७७ र पूँजिगततर्फ ३८ करोड ५६ लाखको बजेट प्रस्तुत गर्नुभयो । नगरपालिकाले अघिल्लो आर्थिक आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

नगर सभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ । जसअन्तरगत आर्थिक विकासमा ३ करोड ६० लाख, सामाजिक विकासमा ८ करोड २७ लाख,आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धनका लागि १ करोड ३० लाख,शिक्षामा ३ करोड ८५ लाख, पूर्वाधार विकासमा ४ करोड ६० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले माटो परिक्षणपश्चात हरेक वडामा माटो सुहाउँदो कृषिबाली प्रवर्द्धनका लागि ३५ लाख विनियोजन गरिएको छ । नीलकण्ठ नगरपालिकाको भाषा कला संस्कृति एवम् प्राज्ञिक क्षेत्रको प्रवर्द्धन विकासका लागि स्थापना गरिएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनका लागि १० लाख विनियोजन गरिएको छ ।

यस्तै हाम्रो स्वास्थ्य हाम्रै पालामा भन्ने नारालाई जनस्तरमा पुर्‍याउन योग शिक्षा शिविर सञ्चालन गरिने,नगरवासीको प्रेसर, सुगर, ब्लडगु्रप छुट्टाउने, होलबडी चेकअप जस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने तथा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वस्थ्य सेवा पुर्‍याउने लगायतको व्यवस्था गरिएको बजेट प्रस्तुतका क्रममा उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

पूर्वाधार विकासअन्तर्गत वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरी ६ करोड ६० लाख बजेट विनियोजन गरिएको बताइएको छ भने बर्षायाममा सडक तथा सार्वजनिक स्थल संरक्षको लागि ३ महिना नबढ्ने गरी हरेक वडामा ३ जना सडक हेरालु राखिने भएको छ ।जसको लागि २० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले सबै वडामा घुम्ती शिविर कार्यक्रम सञ्चालन गर्ने,व्यवसाय करबाट उठेको राजश्वको १० प्रतिशत रकम करदाताको क्षमता विकास तथा सामाजिक कार्यमा खर्च गरिने, सञ्चारकर्मीको क्षमता विकास अभिवृद्धि लगाएतका प्रवर्द्धनात्मक कार्य गरिने,विगतमा कर छुट दिँदै आएका अपाङ्गता, र विपद्को सिफारिस तथा सर्ने कडा रोगको स्वास्थ्य उपचार सिफारिसमा दिएको छुटलाई निरन्तरता दिने बताइएको छ ।

बजेट प्रस्तुत गर्नु पूर्व नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नगर सभाले नगरप्रमुख ढुङ्गानाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, उपप्रमुख विश्वकर्माले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक सर्वसम्मतले पास गरेको छ ।