ब्राजिल र जर्मनी स्तब्ध



लन्डन, (एजेन्सी)  । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँच पटकका फिफा विश्वकप विजेता ब्राजिल तथा चारपटकका विश्वविजेता जर्मनीले स्तब्धपूर्ण हार बेहोरेको छ ।

इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिलमाथि पूनरागमन जित निकालेको हो । सेनेगलले १–० ले पछि परेको स्थितिलाई उल्ट्याएर ब्राजिलमाथि ४–२ को पूनरागमन जित निकालेको हो । सेनेगलको जितमा मानेले दुई गोल गर्दा हबिब डियालोले एक गोल गरेका थिए । अर्को एक गोल भने उपहार पाएको थियो । ब्राजिलका लागि लुकास पाक्वेटा र मार्किन्हसले गोल गरे ।

पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए । खेलको ५२औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा २–१ ले पछि परेको थियो । ५५औं मिनेटमा साडियो मानेले गोल गरेपछि ब्राजिल खेलमा ३–१ ले पछि प¥यो । खेलको ५८औं मिनेटमा ब्राजिलका मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सेनेगलले ब्राजिलमाथि सानदार पूनरागमन जित निकाल्न सफल भयो । अफ्रिकी टोलीसँगको पछिल्लो चार खेलमा ब्राजिलको यो तेस्रो हार बेहोरेको हो । फिफा विश्वकप कतार २०२२ मा क्यामरुनसँग पराजित भएको ब्राजिलले त्यसपछि मैत्रीपूर्ण खेलमा मोरक्कोसँग पराजित हुँदा गिनियालाई पराजित गरेको थियो । त्यस्तै, सेनेगल ११ वर्षपछि ब्राजिलसँग खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकाल्ने पहिलो टोली बनेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले पनि बलियो जर्मनीलाई पराजित ग¥यो । कोलम्बियाले घरेलु टोली जर्मनीमाथि २–० को सहज जित हात पारेको हो । कोलम्बियाको जितमा लुइस डियाज र जुआन कोर्डाडोले गोल गरे । भेल्टिन्स एरिना जर्मनीमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । ५४औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाए । उनले जुआन कोर्डाडोको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८१औं मिनेटमा कोर्डाडोले पेनाल्टीमा गोल गर्दै कोलम्बियाको जित पक्का गरे । डेइभेर मचाडोको क्रसलाई क्लियर गर्ने क्रममा योसुवा किम्मिखले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा कोर्डाडो चुकेनन् । यस जितसँगै कोलम्बिया पछिल्लो ११ खेलसम्म अपराजित रहन सफल भएको छ ।

२०२२ को फेब्रुअरीमा विश्वकप छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता कोलम्बिया ११ खेलसम्म अपराजित रहन सफल भएको हो । जसमा नौ जित र दुई बराबरीको नतिजा छ । यता, जर्मनी भने पछिल्लो चार खेलसम्म जितविहीन बनेको छ । गत मार्चमा मैत्रीपूर्ण खेलमा पेरुलाई २–० ले पराजित गरेयता जर्मनीले चार म्याच खेल्दा जित निकाल्न सकेको छैन । जसमा तीन हार र एक बराबरीको नतिजा छ ।

प्रतिक्रिया दिनुहोस्