कुरूप टुँडिखेल

0
Shares

–सफा हुन अझै ३ महिना लाग्ने
–६ हजार ट्रिपर धुलो
–कामपाद्वारा लगातार ताकेता
–निर्माण कम्पनी भन्छ : धरहरा पुनर्निर्माण सम्पन्न भएसँगै सबै सफा हुन्छ
–पुरातत्व विभाग भन्छ : पुरातात्विक सामग्री हटाइसकेका छौं

काठमाडौं । आठ वर्षअघिको भूकम्पबाट ध्वस्त भएको सम्पदाहरूको भग्नावशेषको पहाड हटाउने विषयमा कसैको चासो परेको छैन । पुरातात्विक महत्वका सम्पदा धरहरा, विश्व सम्पदासूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका ध्वस्त भएका सम्पदाको स्क्राइब राखिएको टुँडिखेल कुरूप देखिएको छ । पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, धरहरा निर्माण गर्ने रमण कन्सट्रक्सन र नेपाली सेनाको आपसी सहमति नभएका कारण कुरूप टुँडिखेल सफा हुन नसकेको हो ।

धरहरा पुनर्निर्माणको क्रममा नेपाली सेनाको स्वीकृतिमा रमण कन्ट्रक्सनले सो क्षेत्रमा केही समयका लागि फोहोर फ्याक्न स्वीकृति पाएको थियो । त्यसपछि ध्वत भएका सम्पदा, नेपाली सेनाको भवन निर्माण गर्दा फालिएका समान र धराहराको धुलो थुपारिएको थियो । सामान हटाउने विषयमा खासै चासो नदेखाएको कारण समस्या बढ्दै गएको छ ।

केही समय त पुरातत्व विभागले रोकेको थियो । ‘विभागका प्रवक्ता रामबहादुर कुँवरले पुरातात्विक सामग्री छान्नुपर्ने भएकाले केही वर्ष रोकेका हांै, सबै पुरातात्विक सामग्री संकलन गरिसकेका छौं हटाउँदा फरक पर्दैन’ –उहाँको भनाइ थियो । राजधानीकै सबैभन्दा ठूलो खुला क्षेत्रको दयनीय अवस्था देखेपछि काठमाडौं महानगरले चासो देखाएको थियो । कामपाका प्रमुख बालेन्द्र साहले तत्काल सामग्री हटाउन शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई पत्राचार गर्नुभएको थियो ।

मेयरले इकाइलाई मात्र होइन पुरातत्व विभाग र निर्माण कम्पनी रमण कन्ट्रक्सनलाई समेत आग्रह गर्नुभएको थियो– कामपा सम्पदा विभाग निर्देशक अर्चना शाक्यले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार सो विषयमा इकाइ धरहरा निर्माण कम्पनी र पुरातत्व विभागसँग पटकपटक कुराकानी गरेपछि समस्या समाधान हुन सकेको छैन ।

सो क्षेत्रमा रहेको फोहोरको डुंगुर हटाउन शाक्यको संयोजकत्वमा विभाग र इकाइको समिति बनेको थियो । तत्काल पुनर्निर्माण प्राधिकरण खारेज भएपछि सो क्षेत्रमा कसरी सफाइ गर्ने भन्ने चिन्ता भएको थियो । पछि शहरी विकास मन्त्रालयअन्तर्गत इकाइ स्थापना भएपछि सो विषयमा छलफल जारी छ । आयोजना निर्देशक कोषनाथ अधिकारीले फोहोर हटाउने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी निरन्तर छलफलमा छौं, निर्माण कम्पनीले हटाउने जनाएको छ । केही महिनापछि सबै सामान हटाएर टँुडिखेल सफा राख्ने योजनामा छौं ।’ उहाँका अनुसार टक्सार विभाग र केही सम्पदाको ऐतिहासिक सामग्री रहेका कारण समस्या भएको छ ।

‘निर्माण कम्पनीलाई २ महिनाअघि पत्राचार गरेर सामग्री हटाउन आग्रह गरिसकेका छौं, सायद केही महिनापछि टँुडिखेल पूर्ण रूपमा सफा हुने आशा गरेका छौ’ –आयोजना निर्देशक अधिकारीले भन्नुभयो । सम्पदा क्षेत्रबाट ल्याइएका फोहोर हटाउन नसक्दा टुँडिखेल दुर्गन्धित भएको छ । जताततै चुरोटको ठुटो, दुव्र्यसनीले प्रयोग गर्ने सिरिञ्ज, बिग्रिएका स्काभेटर, जोडर, लोडर, जताततै ढलको पानी र शौचालय बनेको छ ।

फोहोर हटाउने विषयमा रमण कन्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर पवन महतोले पुरातात्विक सामग्री साइड लगाएर अन्य सामग्री हटाउन थालेको जानकारी दिनुभयो । ‘धरहरा र सुन्धारा पुनर्निर्माणको काम पूर्ण रूपमा सम्पन्न नहुँदा सबै निर्माण सामग्री हटाउन केही समय लागे पनि बाँकी फोहोर केही महिनाभित्र हटिसक्ने छ’ –उहाँको भनाइ थियो ।

असोज महिनाभित्र पूर्ण रूपमा सफा गर्ने लक्ष्यअनुसार काम भइरहेको उहाँको भनाइ छ । ‘करिब १० हजार ट्रिपर माटो थुप्रिएको छ, बल्लबल्ल ४ हजार जति हटाएका छौं, बाँकी लैजाने क्रममा छांैै’ –उहाँको दाबी थियो । नेपाली सेनाको अनुमति लिएर निर्माण सामग्री र धराहराको भग्नावशेष राखेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘सबै निकायको सहयोगमा ती सामग्री हटाउँनेछौ, टुँडिखेललाई सुन्दर बनाउनेछौं ।’