वेस्ट बैङ्कको बस्ती नजिकै चार जनाको गोली हानी हत्या



एजेन्सी।

इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा रहेको एक बस्ती नजिकै मङ्गलबार बन्दुकधारीले चार जनाको हत्या गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।
‘म्यागेन डेभिड एडोम आपतकालीन सेवा (एमडीए)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रा आपतकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीको एक टालीले चार जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य चार जना घाइते भएका बताएको छ ।”

एमडीएका एक प्रवक्ताले एएफपीसँग सम्पर्क गर्दा मारिएकाहरूको राष्ट्रियता तत्काल पुष्टि भइनसकेको र आक्रमणकारीको पनि पहिचान तत्काल थाहा हुन नसकेको बताए ।

इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टको कार्यालयले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै सुरक्षा अधिकारीहरूको बैठक स्थानीय समयअनुसार साँझ ६ बजे बस्ने जनाएको छ ।

इजरायली सेनाले पश्चिमी किनाराको जेनिन शहरमा गरेको आक्रमणमा छ जना प्यालेस्टाइनीको मृत्यु भएको एक दिनपछि यो घटना भएको हो ।

वेस्ट बैङ्कको हुसान शहरमा सोमबार राति अर्का एक प्यालेस्टाइनीको मृत्यु भएको थियो । मृतकले पेट्रोल भरिएका बोतल (मोलोटोभ ककटेल) द्वारा इजरायली सैनिकहरूमाथि आक्रमण गरेको इजरायली सैन्य अधिकारीले आरोप लगाएका छन् ।

प्यालेस्टाइनी लडाकू समूह हमासका प्रवक्ता हाजेम कासिमले मंगलबारको गोलीकाण्डलाई जेनिन र अन्य स्थानमा ‘इजरायली कब्जाको अपराधको प्रतिक्रिया’ भनेका छन् ।

इजरायलले सन् १९६७ को छ दिने युद्धदेखि नै पश्चिम किनारा कब्जा गर्दै आएको छ र उसका सेनाले प्यालेस्टाइनी शहरहरूमा बारम्बार आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्