चार दलीय ‘समाजवादी मोर्चा नेपाल’ को घोषणा : संसदीय व्यवस्थाका समर्थक-विरोधीबीचको सहकार्य

0
Shares

काठमाडौं । संसदीय व्यवस्थालाई समर्थन र उपयोग गर्दै सत्ताको नेतृत्व गरेका राजनीतिक शक्तिहरू र उक्त व्यवस्थाको खरो विरोधीबीचको सहकार्यमा सोमबार समाजवादी मोर्चा निर्माण भएको छ । सत्ता सहयात्री दलहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र संसदीय व्यवस्थाका विरोधी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित ‘समाजवादी मोर्चा’ घोषणा भएको हो ।

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाको घोषणा गर्दै चार दलका शीर्ष नेताहरूले संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाँती रहेको काम पूरा गर्ने प्रतिवद्धता जनाए । घोषणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरूबीच एकता र दलको स्वतन्त्रताको रक्षा गर्दै समाजवादी मोर्चा बनाएको बताउनुभयो ।

उहाँले संसदीय राजनीति र बाहिरका शक्तिहरूबीचको सहकार्यले मोर्चामा विशेषता थपिएको बताउनुभयो । संसदीय व्यवस्थाको उपयोग गर्दै तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले विप्लव नेतृत्वको नेकपा समेतलाई समाजवादी मोर्चामा समेट्न सक्नु ठूलो उपलब्धि भएको दाबी गर्दै भन्नुभयो– ‘हामी संसदीय राजनीतिमा लागेका दलहरूमा अलिकति धुलोमैलो लागेकाले यस व्यवस्थाका विरोधी नेत्रविक्रम चन्द विप्लवको समेत सहकार्य हुँदा आफूहरूमाथि लागेको धुलो टकटक्याउन सहयोग पुग्ने छ । यो ठूलो उपलब्धि हो ।’ उहाँले मोर्चा सरकार, सदन र सडक तीनै तहबाट संविधान र संघीय लोकतान्त्रिक गणातान्त्रिक व्यवस्थाका विरोधी प्रतिगामी शक्तिहरूको विरुद्ध र जनताका पक्षमा खडा हुने बताउनुभयो ।

समाजवादी मोर्चाको घोषणासँगै एकता र स्वतन्त्रताको द्वन्द्वात्मक संश्लेषण गर्दै मुलुक र जनताका पक्षमा लागेका कम्युनिस्ट, वामपन्थी र समाजवादी दलहरू एक ठाउँमा उभिएर अघि बढ्ने प्रक्रियाको थालनी भएको दाहालको विश्वास छ । विगतमा एमालेसँगको पार्टी एकता हतारमा भएको भन्दै आत्मआलोचना गर्दै दाहालले भन्नुभयो– ‘नेकपा फुटको घटनाले आगामी दिनमा पार्टी एकताअघि मोर्चाको माध्यमबाट समाजवादउन्मुख हुँदै व्यापक छलफल र विचार विश्लेषणपछि मात्रै प्रक्रिया अघि बढाउनुपर्ने पाठ सिकाएको छ।’

चार दलले राजनीतिक शक्ति आर्जन गर्नका लागि बनाएको मोर्चाले मुलुकमा देखिएको पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिने लक्ष्य राखेको छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ जना सांसद छन् । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना रहेका छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न नेताहरूले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिगामी र पश्चगामीहरूलाई रोक्नका लागि समाजवादी मोर्चा आवश्यक भएको बताउनुभयो । नेपालको राजनीतिक इतिहासमा यो अभियान नयाँ मोड र नयाँ राजनीतिक सुरुआत भएको दाबी गर्दै विप्लवले भन्नुभयो– ‘सबैको शुभेच्छा र चाहनाअनुरूपको समाजवादी मोर्चा घोषणाको मोडमा चार दल आइपुगेका हौं । मुलुकलाई यो संकटबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ । कुनै पनि मूल्यमा प्रतिगामी र पश्चगामीहरूलाई फाइदा उठाउन दिनुहुँदैन । यो संकटबाट मुलुकलाई मुक्त गर्नुपर्छ भनेर हामीले इतिहासमा एउटा नयाँ प्रयोग गरेका छौँ । देशमा पश्चगामीहरूको, प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य छैन । देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । स्वाभिमानीहरूले गर्ने हो ।’

सबै सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्ने जिकिर गर्दै भन्नुभयो– ‘कुनै पार्टीलाई घुक्र्याउन, तर्साउन होइन । ढुक्क हुनुस्, जो समाज आमूल परिवर्तनको पक्षमा छैनन्, उनीहरू तर्सिन्छन्, अरू ढुक्कले सुते हुन्छ ।’ देशभक्त शक्तिलाई हातेमालो र एकताबद्ध गर्न चाहेको भन्दै उहाँले समयअघि नै मोर्चा निर्माण गर्ने सोच बनाए पनि निर्वाचनलगायतका कारणले ढिलो हुन पुगेको बताउनुभयो ।

चार दलबीच भएको सात बुँदे घोषणापत्र र सहमतिपत्रमा हस्ताक्षरसँगै नेताहरूले यो मोर्चालाई लामो समयसम्म टिकाइराख्ने समेत बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रगतिशील शक्तिहरू एकताबद्ध भएर परिवर्तनलाई अगाडि बढाउन समाजवादी मोर्चालाई निरन्तर अगाडि लैजान आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त परिणामको रक्षा गर्नका लागि परिवर्तनकारी राजनीतिक दलहरू एक ठाउँमा आएर समाजवादी मोर्चा गठन गरेको जिकिर गर्दै यादवले भन्नुभयो– ‘प्रगतिशील, क्रान्तिकारी शक्ति जसले परिवर्तनलाई अगाडि बढाउने प्रयासस्वरूप यो मोर्चा निर्माण गरिएको हो, राजनीतिक रूपले धेरै कार्य गर्न बाँकी छ । विगतमा गरिएका धेरै कमीकमजोरी र गल्तीहरू सच्याउँदै अगाडि बढ्नुपरेको छ । यसको निरन्तरताको लागि म प्रतिवद्ध छु, अरू दलका नेताहरूपनि प्रतिबद्ध हुनुहुन्छ भन्ने विश्वास छ ।’ संविधानलाई सबैले स्वीकार्न र स्वामित्व लिन सक्ने बनाउन समेत यो मोर्चाले काम गर्ने उहाँको भनाइ छ ।

चार दलीय समाजवादी मोर्चामा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समेट्ने बताइएको छ । मोर्चा निर्माण भइसकेपछि समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई समेत समावेश गर्न सकिने प्रतिबद्धतापत्रमा उल्लेख छ । मोर्चामा आबद्ध दलहरूले आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।