बालकको हत्या गरेको आरोपमा युवक पक्राउ



स्याङ्जा ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने ९ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले सुवेदीलाई पुतलीबजार नगरपालिका १ शहिदचोकबाट पक्राउ गरेको हो ।

अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारी बस्ने शोभाखर देवकोटाको छोरा हर्षित देवकोटालाई धारिलो हतियार (हँसिया) प्रहार गरी शुक्रबार बेलुका हत्या भएको थियो । बालक (देवकोटा) को शव घरदेखि दुई सय मिटर तल खरबारीमा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । सोही गाँउ बस्ने सुजन सुवेदीले पटक पटक हँसियाले हानेर हर्षितलाई मारेपछी भीरबाट फालेको जनाईएको छ।

हँसिया प्रहार गरी निकै निर्मम तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ । मृतक देवकोटाको शव रगताम्य अवस्थामा खरबारीमा भेटिएको थियो । ९ बर्षीय हर्षित देवकोटा बाबु शोभाखर र आमा मिना देवकोटाका एक्लो सन्तान हुन् । बिहे गरेको २६ बर्षपछी पहिलो सन्तानको रुपमा हर्षित जन्मिएका थिए । मृतक हर्षित कक्षा ५ मा अध्ययनरत थिए । बिहे गरेको २६ बर्षपछि पहिलो सन्तान जन्मिदा निकै हर्षित भएका देवकोटा दम्पत्तीले आफ्नो छाराको नाम नै हर्षित राखेका थिए । हर्षित आफ्नो नाम जस्तै हँसिलो स्वभावका थिए । हर्षित गाउँभरीका सरल र ज्ञानी स्वभावका भएको शिक्षकहरु बताउनुहुन्छ । सबैसँग मिठो बोल्ने र ठूलालाई आदार गर्ने हर्षित नहुँदा गाउँ शून्य भएको स्थानीय रेशम देवकोटाले बताउनुभयो ।

घटनाको प्रकृति हेर्दा निकै दर्दनाक किसीमले हत्या गरेको प्रहरीको भनाई छ । गाउँकै छिमेकी सुवेदीले शुक्रबार बेलुका फिरफिरे बनाउन भनी हर्षितलाई बोलाएका थिए । आमासँग दाईले बोलाउनुभएको छ भनेर हिडेका हर्षित कहिल्यै फर्किएनन् । ती अबोध बालकमाथि ४३ पटकसम्म हँसिया प्रहार गरेर मारेको सुवेदीको बयान छ । ४३ पटकसम्म प्रहार गरेर अबोध बालकलाई मार्ने त्यो दानवरुपी सुवेदीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने परिवारको माग छ । प्रहरीलाई बयान दिने क्रममा ४३ पटकसम्म हानेर मारेको हुँ भनेर सुवेदीले बयान दिएको प्रहरीले जनाएको छ । हँसियाले हानेर थिलोथिलो बनाएपछी सुवेदीले भीरबाट फालिदिएको बयान छ ।

प्रतिक्रिया दिनुहोस्